१० पुस २०८१, बुधबार | December 25, 2024

‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’



पाटन । सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित ‘वर्तमान अवस्थामा सङ्क्रमणकालीन न्याय ः अबको बाटो’ विषयक छलफलमा सहभागी मानव अधिकारकर्मी, द्वन्दपीडित, नागरिक समाजका अगुवालगायतले सङ्क्रमणकालीन न्यायको विषयलाई काठमाडौँ केन्द्रित भएर मात्रै हेर्न नहुने भन्दै द्वन्द्वकालका घटना र न्यायिक निरुपणलाई द्वन्द्वपीडितमैत्री भएर हेर्न आग्रह गरेका हुन्।

आयोगका सदस्य सूर्यप्रसाद ढुङ्गेलले द्वन्द्वपीडितले छिटो न्याय पाउन भनेर आयोगबाट इमान्दारीपूर्वक काम भइरहेको बताए। “पीडितकै हितमा आयोगले काम गर्छ, यो विश्वव्यापी मान्यता हो । राज्य जहिले पनि मानव अधिकारका कुरामा पन्छिन खोज्छ, हामी मानवअधिकार र पीडितप्रति हामी जिम्मेवार र जवाफदेही छौँ”, उनले भने।

आयोगका सदस्य एवं बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य मनोज दुवाडीले राजनीतिक स्वार्थ प्रेरित भएर जानेहरूका कारण समिति तथा आयोगहरू योग्य मानिस पुग्न समस्या भएको बताए। “राजनीतिक दल र नेता विशेषका स्वार्थमा केन्द्रित भएर समिति वा आयोगमा जाने कारणले गर्दा समग्र प्रणालीमा समस्या आयो । ऐनको दफा ४ को उपदफा (च)ले दायरा खुम्च्याएकाले सामाजिक क्षेत्रमा काम गरेका विज्ञ मानिसहरू आयोगको अध्यक्ष हुनबाट बञ्चित भए, हामी जहिले पनि पीडितका पक्षमा हुन्छौँ, हामी त्यसका लागि अडिग छौँ”, उनले भने ।

उनले दुईवटै आयोगका अध्यक्ष तथा पदाधिकारी सिफारिसका लागि दिइएको दुई महिनाको समय अपुग भएको भन्दै द्वन्द्वपीडितलाई जतिसक्दो छिटो न्याय दिलाउनका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए ।

मानव अधिकारकर्मी चरण प्रसाईंले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा भागबन्डाको राजनीति हावी हुँदा विगतका समिति असफल भएको बताए। “दुवै आयोगमा अब पदाधिकारी सिफारिस गर्दा समितिले स्वविवेक प्रयोग गर्न सक्नुपर्छ । दुई महिनाको समय दिइएको समिति राजनीतिक प्रभावले सफल हुन सकेन, अब बन्ने सिफारिस समितिमा द्वन्द्वपीडितको पनि प्रतिनिधित्व हुनुपर्छ, मानवअधिकार आयोगले अनुगमन गर्नुपर्छ”, उनले भने ।

द्वन्द्वपीडित देवी सापकोटाले सङ्क्रमणकालीन न्याय निरुपणका लागि समय लम्बिने क्रमले पीडितले न्याय नपाउने र राज्यले बहानाबाजी गर्ने क्रममात्रै बढेको धारणा राखे। उनले सङ्क्रमणकालीन न्याय निरुपणका लागि दुवै आयेगका अध्यक्ष तथा सदस्य नियुक्त गर्दा विधिलाई पालना गर्ने योग्य मानिस नियुक्त गर्न आग्रह गरे ।

अपाङ्गता भएका द्वन्द्वपीडितका प्रतिनिधि सुरेन्द्र खत्रीले आयोगमा पदाधिकारी सिफारिस समितिले गरेको ढिलाइले न्याय पाउन कठिनाइ भएको भन्दै पीडितका सवाल ओझेलमा परेकामा ध्यानाकर्षण गराए ।

छलफलमा सहभागी अन्य व्यक्तिहरूले सङ्क्रमणकालीन न्याय र द्वन्द्वकालीन मुद्दाका सन्दर्भमा मानवअधिकार आयोगलाई अपनत्व र अभिभावकत्व ग्रहण गर्ने गरी काम गर्न आग्रह गरेका छन् । उनीहरूले द्वन्द्वकालीन घटनाका सन्दर्भमा पीडितसँग अर्थपूर्ण संवाद गरेर टुङ्गोमा पु¥याउने गरी भूमिका खेल्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ८ : ०९ बजे

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

एमाले सचिवालय : संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच

गणतन्त्रमा देशको मालिक जनता : उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई

काठमाडौँ । वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्युएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर