१० पुस २०८१, बुधबार | December 25, 2024

अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै



बुटवल । सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि सञ्चालित यहाँस्थित बालविद्या मन्दिरमा यसक्षेत्रका सुस्तमनस्थिति रहेका बालबालिकाले सेवा लिइरहेका छन् । सो विद्यालयका अध्यक्ष समेत रहेका लोकनाथ भुसालले विद्यालयमा अध्ययनरत बालबालिकालाई जीवन उपयोगी सीप सिकाउने गरेका छन् । उनका अनुसार यो विद्यालय सुस्तमनस्थिति भएका बालबालिकाकै अभिभावक मिलेर स्थापना गरिएको हो ।

उनले सुस्तमनस्थिति भएका बालबालिकालाई सेवा दिन समस्या भए पनि उनीहरुको भविष्यलाई ध्यानमा राखी काम गरिरहेको बताए । उनले भने, “विद्यालयमा सक्नेलाई सीप सिकाइन्छ, नसक्नेलाई जीवन उपयोगी व्यवहार सिकाइन्छ ।”

कमजोर बालबालिकाकालाई खाद्यान्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने गरेको अध्यक्ष भुसालले जानकारी दिए । विसं २०५१ मा स्थापना भएको यस विद्यालय सञ्चालनमा लाग्ने खर्चका लागि अभिभावकहरुले पनि सहयोग गरेका छन् ।

बुटवल उपमहानगरपालिकाले हाल वार्षिक रु चार लाख अनुदान दिएको छ । यस विद्यालयमा भर्ना गरेपछि अपाङ्गता भएको १६ वर्षीय छोरामा धेरै सुधार भएको बुटवल उपमहानगरपालिका¬–७ की गङ्गा कुँवरले बताइन् । छोरालाई बालविद्या मन्दिरमा ल्याएपछि आएको परिवर्तनले धेरै खुसी लागेको उनी बताउँछिन् ।

यस विद्यालयमा भर्ना गरेपछि तिलोत्तमा–२ शङ्करनगरकी खिमा रेग्मी पनि १२ वर्षकी छोरी आकृष्टामा सुधार देखिएको बताउँछिन् । दुई वर्षअघि विद्यालय भर्ना गरिएकी आकृष्टा हाल अरुको साहारामा हिँड्नसक्ने भएको खिमाले बताइन् ।

गङ्गा र खिमामात्र होइनन् । उनीहरु जस्ता धेरै अभिभावकहरु यस विद्यालयले प्रदान गरेको सेवा र अध्यापनबाट सन्तुष्ट छन् । हाल यस विद्यालयमा ८० जना बालबालिका अध्ययनरत छन् । दिवा समयमा ५० जना बालबालिका विद्यालयमा आउँछन् भने ३० जना विद्यालय आउन नसक्नेलाई गृहभेटमार्फत सेवा दिइरहेको छ । बालविद्या मन्दिर विद्यालयका प्रधानाध्यापक मीना भुसालले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई नियमित फिजियोथेरापी गराउने गरेको बताइन् ।

राष्ट्रिय अपाङ्गता महासङ्घका केन्द्रिय सदस्य एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका सदस्य सावित्रा घिमिरे दिनप्रतिदिन बौद्धिक अपाङ्गता बढ्दो क्रममा रहेकाले सुस्तमनिस्थितिका बालबालिकालाई अभिभावकले पहिचान गर्न जरुरी रहेको बताउँछिन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : ०७ बजे

भीम रावल एमालेबाट निस्काशित; वृन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसियो

काठमाडौं । मिनबहादुर गुरुङबाट पार्टीले ‘दान’मा जग्गा लिएको विषयमा आलोचना

कर्णाली विकास बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

नेपालगन्ज । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

नेपालगन्ज । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका

पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री सारु

बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा