८ पुस २०८१, सोमबार | December 24, 2024

पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु हो : प्रथम राष्ट्रपति डा यादव



काठमाडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा यहाँ आयोजित ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा उनले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।

“पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन । नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ”, प्रथम राष्ट्रपति डा यादवले भने, “आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाइँहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।”

पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी चरित्रको संविधान बनेको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने उल्लेख गरे ।

एक अर्को प्रसङ्गमा प्रथम राष्ट्रपति डा यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छभन्दा असाध्यै दुःख लाग्ने गरेको सुनाए । उनले संविधानको सफल कार्यान्वयनका लागि सानातिना गुनासालाई सम्बोधन गरेर सचेतनापूर्वक अगाडि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकास गर्नेतर्फ महासङ्घ क्रियाशील हुनुपर्नेमा जोड दिए ।

नेता रिजालले सातबुँदे सहमतिको भावनाअनुरूप सरकार सफल रूपमा अघि बढ्नुपर्ने बताए । उनले यथेष्ट सहमतिका साथ देखिएका निराशालाई चिर्दै सबै राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाइनुपर्ने खाँचो औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पत्रकारिता व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताको विस्तार मात्र नभई नागरिकमा सचेतना र सकारलाई खबरदारी गर्ने महत्त्वपूर्ण माध्यम रहेको भन्दै यसको महत्त्व र प्रतिष्ठालाई जोगाउन स्वयम् पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले लोकतन्त्रमा पत्रकारिता समाजनको निरन्तर आन्दोल भएको भन्दै लोकतन्त्रलाई गति दिन आत्माका रूपमा पत्रकारिताले काम गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको संरक्षणका साथै श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक मुद्दा प्राथमिकतासाथ उठाउने विश्वास व्यक्त गरे । पछिल्लो समय पत्रकारको समाचारसँगको पहुँच सङ्कुचन भइरहेको र त्यसमा सरकार, राजनीतिक दलले सूचना प्रणालीलाई चुस्त र दुरूस्त बनाउनुपर्ने अपरिहार्य भएको उनले उल्लेख गरे ।

महासङ्घका पूर्वअध्यक्ष बिपुल पोखरेलले महासङ्घलाई सशक्त बनाउन र लेख्ने पत्रकारको संस्थाका रूपमा विकास गर्न प्रतिष्ठान प्रदेश समितिको महत्वपूर्ण भूमिका हुने बताए । उनले श्रमजीवी पत्रकारका धेरै मुद्दा थाती रहेकाले तिनको पैरवी गर्न नयाँ नेतृत्वले सफल हुनुपर्ने बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले निर्वाचनपछि महासङ्घ साझा चरित्रको भएको भन्दै थाती रहेका पत्रकारको सदस्यता शुद्धीकरण र पत्रकारितामा देखिएका अविश्वास कम गर्न महासङ्घले पैरवी गर्नुपर्ने उल्लेख गरे ।

पत्रकार एवं लेखक मोहन मैनालीले पत्रकारिताको व्यावसायिक धर्म र आचरणलाई जोगाएर पत्रकारिताप्रति नागरिक र सरोकारवालाको भरोसा कायम राख्न पत्रकार क्रियाशिल हुनुपर्ने बताए ।

प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीले साढे तीन वर्षको कार्यकालमा पेसागत दक्षता र सङ्गठनलाई चुस्त बनाउनाका साथै पत्रकारलाई क्रियाशील बनाउन थोरै भए पनि प्रतिष्ठानले दायित्व निर्वाह गरेको बताए ।

सो अवसरमा महासङ्घका नवनिर्वाचित केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई प्रतिष्ठानका तर्फबाट प्रथम राष्ट्रपति डा यादवले सम्मानपत्र प्रदान गरे । साथै प्रतिष्ठानका निर्वाचित कार्यसमित र मतदान अधिकृतलाई प्रसंशापत्रद्वारा सम्मान गरियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ४ : ०२ बजे

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा

ललितपुर । फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरुको आह्वान

नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका

‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण

बुटवल । बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल