बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ मा शनिबार चर्चित गायक पशुपति शर्मासँगै दर्शक झुमेका छन् । पशुपतिको प्रस्तुती पर्खेर बसेका हजारौं दर्शक उनी स्टेज चढेसँगै हुटिङले मेलास्थल गुञ्जिएको थियो ।
आफ्ना दर्जनौं लोक दोहोरीका टुक्का सुनाउँदै “मलाई अमेरिका यहीँ…” भन्ने भाकाबाट दर्शक नचाउन सुरु गरेका उनले आधा दर्जन लोक दोहोरी भाकाबाट करिब एक घण्टा दर्शक नचाएका थिए । प्रस्तुतीको बिच-बिचमा ठट्यौंली टुक्का भरेर माहोल तताएका उनले सामाजिक विषय मात्र होइन राजनीति र नेताहरुलाई समेत तीखो ब्याङ्ग्या गरे । आफूले गाएका गीत ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट…।’ भन्ने भाकाका केही टुक्का सुनाउँदै दर्शकको साथमा “देश लुट्न पाइँदैन”को नारा समेत लगाउन भ्याए ।
‘क्यार्न माया मारिछेउ सानीले…।’, ‘सारङ्गी र्याई, र्याई तिरी मीरी झ्याई…।’, स्याङ्जा जाने बाटैमा तनहु…।’ तथा बैमानी त पैसा रै’छ…’लगायतका आधा दर्जन गीत गाएका थिए । यस बीचमा गायिका तथा उद्घोषिका उमादेवी खनालसँग गाएका दोहोरी टुक्काले दर्शकलाई थप मनोरञ्जन दिए । पशुपतिको प्रस्तुती सकिएसँगै दर्शकबाट भने “वान्स मोर..” को गुञ्जायस लामै समय रोकिएको थिएन ।
मेलामा शनिबार साँस्कृतिक कार्यक्रम अन्तरगत लोक भजन चुटका प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा गरेको साँस्कृतिक उप समितिका संयोजक निर्मित कसजुले जानकारी दिए । यसैगरी स्थानीय कलाकार तथा ब्यान्डले साँस्कृतिक प्रस्तुती दिएका थिए ।
महोत्सवमा आइतबार हुने कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज र पशुपति शर्माको प्रस्तुती रहने सह-संयोजक दिपक कार्कीले जानकारी दिए । यसैगरी अन्तर विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, लोक भजन चुट्का प्रतियोगिता तथा भ्वाइस अफ बुटवलमा उत्कृष्ट १० प्रतियोगीहरुको प्रतिस्पर्धा सुरु हुने उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय बढी स्टलसँगै बाल उद्दान रहेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा शनिबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया