२१ पुस २०८१, आइतबार | January 5, 2025

म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनको भनाइ छ ।

दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् ।

समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए ।

दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् ।

सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ ।

बेनी नगरपालिका-३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताए ।

उनका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले सात लाख ५० हजार, जीतबहादुर आलेले सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसकेका छन् ।

जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।

बेनी-४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान रहेका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेका कारण किसानको आम्दानी बढेको बताए ।

जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै संघीय राजधानी काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुन थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण सङ्कलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । म्याग्दीमा आठ सय १० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकोमा चार सय २० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ८ : ०१ बजे

सूर्यदर्शन सहकारी प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’

सुर्खेत “सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल” अर्जुन

यु-१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु-१९ महिला विश्वकप

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड

म्याग्दी । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित