नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचनबाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नवीन गिरी बहुमत कार्यसमितिको सदस्यहरु सहित विजयी भएका छन् । शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनका उम्मेदवार प्रदीप वाग्लेलाई ४८ मतले पराजित गर्दै गिरी अध्यक्ष निर्वाचित भएका हुन् ।
नव निर्वाचित गिरी प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने वाग्ले प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन, प्रगतिशिल पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ लगायतको संगठनका उम्मेदवार हुन् ।
मतगणनाको अन्तिम परिणममा गिरीले कुल ११८ मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी वाग्लेले ७० मत प्राप्त गरे । प्रेस चौतारीबाट विद्रोह गरेर अध्यक्ष पदका अर्का उम्मेदवार विश्वराज पछल्डङ्याले १९ मत प्राप्त गरे । सोही प्रकारले उक्त निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा तिलक गाउँले र रेजिना मल्लले बराबर १०२–१०२ मत प्राप्त गरेर आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेकाछन् । यसैगरी, महिला उपाध्यक्षमा करुणा शाह विजयी भइन् । शाहले १०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सावित्री गिरीले १०१ मत प्राप्त गरिन् ।
त्यसैगरि सचिवमा प्रेस सेन्टरका कृष्ण ओलीले १०७ मत प्राप्त गरि सत्ता गठबन्धनबाट सचिव पदका उम्मेदवार शकील अहमद कादरीलाई पराजित गरे । ओलीले कादरीलाई १० मतको मान्तरले पराजित गर्दा कादरी ९७ मतमा समेटिए । कोषाध्यक्षमा चौतारी र युनियन गठबन्धनका उम्मेदवार सुनिल रेग्मी विजयी भए । रेग्मीले १२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्व युनियनकै विद्रोही उम्मेदवार विजय मल्लले ८३ मत ल्याए । उक्त निर्वाचनमा सहसचिव (खुला) पदमा सत्ता गठबन्धनका रबिन्द्र सिंह ठकुरी ११४ मत प्राप्त गर्दै विजयी भए । सोही गठबन्धनबाट सहसचिव (समावेशी)तर्फका उम्मेदवार भगतराम थारू १३६ मत प्राप्त गर्दै विजयी भए । यस्तै कार्यसमिति सदस्यतर्फ १३६ मतसहित रजनी योगी(महिला सदस्य), १२८ मतसहित दलित सदस्यतर्फ आशा परियार, १२२ मतसहित आदिवासी जनजाति सदस्यतर्फ निर्मला चौधरी तथा ११७ मतसहित अन्य समावेशी सदस्यतर्फ सलामत अली शेष विजयी भए ।
त्यसैगरी खुला सदस्यतर्फ विपक्षी गठबन्धनबाट ८७ मतसहित पहलबहादुर केसी र १०३ मतसहित सम्भुप्रसाद थारु विजयी भए । सदस्य (खुल्ला) मा सत्ता गठबन्धनबाट १२३ मतसहित कृष्णराज अधिकारी, १०६ मतसहित रविन्द्र घिमिरे, १३१ मतसहित समीरमान श्रेष्ठ, ११७ मतसहित सावित्री विश्वकर्मा, ९१ मतसहित सजन कुमार आरसी र ११८ मतसहित धना विष्ट केसी विजयी भएको महासंघ बाँके शाखा निर्वाचन समितिका प्रमुख शरण कर्माचार्यले जानकारी दिए । उनका अनुसार महासंघको बाँके शाखामा जम्मा मतदाता सङ्ख्या २४२ रहेकोमा २१८ मत खसेको थियो । जसमा जिल्ला शाखाको तीन मतबदर भएको थियो । भने शुक्रबार विहान भएको निर्वाचनको मतगणना सोही राती ९ बजेबाट गणना शुरु भइ शनिबार विहान ८ बजे सम्पन्न भएको थियो ।
प्रतिक्रिया