कोहलपुर । देशका बिभिन्न जिल्लामा समलिङ्गी विवाहले सरकारी मान्यता नपाएर तेस्रो लिंगी समुदायले समस्या भोगिरहेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिकामा भने पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । तेस्रो लिंगी समुदायले राज्यको विभिन्न निकायबाट आफ्नो पहिचान समेत नपाएर बस्न विवश हुनु परिरहेको अवस्थामा कोहलपुर नगरपालिकाको एउटा वार्डमा समलिङ्गी विवाह दर्ता भएको हो ।
कोहलपुर नगरपालिका–१४ को वडा कार्यालयमा जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले समलिङ्गी विवाह दर्ता गराएका छन् । कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेमगरले वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको जानकारी दिए । बिवाहित जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुसीमा विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराइएको उनले बताए । विवाह दर्तापछि विवाहित जोडी दुबैले खुसी व्यक्त गरेका थिए ।
समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र दिइएको बताए ।
कोहलपुरमा समलिङ्गी विवाह दर्ता पहिलो पटक भएको वडा सचिव चौधरील जनाए । उनले अन्य कुनै जोडी आए उनीहरुको पनि प्रक्रिया पूराएर विवाद दर्ता हुने बताए ।
प्रतिक्रिया