२३ पुस २०८१, मंगलबार | January 8, 2025

उपनिर्वाचनपछि नेताहरुको प्रतिक्रियाः कस्ले के भने ?



काठमाडौं । राजनीतिक दलका नेताहरुले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले फेरि पनि मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताले भरोसा गरेको प्रतिक्रिया दिएका छन् । आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया ब्यक्त गर्दै उनीहरुले मतपरिणालाई लिएर आत्तिने, मात्तिने र हौसिने अवस्था नरहेको र जनतातर्फ फर्कनुपर्ने सन्देश दिएको बताए ।

सहर र तराई मधेसमा माओवादीको प्रगतिः हितराज पाण्डे, प्रमुख सचेतक, नेकपा (माओवादी केन्द्र)

पार्टी नेतृत्वले बारम्बार जनतातर्फ फर्कनुपर्छ भनेर राख्दै आएको विचारलाई निर्वाचनको परिणामले पुष्टि गरेको छ । जति स्थानमा पार्टीका उम्मेदवार विजयी भएका छन्, त्यसले धेरै राम्रो सन्देश दिएको छ । जहाँ निकटतम प्रतिस्पर्धामा पुगेको अवस्था छ, यो खुसीको विषय हो ।

देश र जनतालाई गोलबन्द गरेर लैजान विचार र नेतृत्व नै मुख्य कुरा रहेछ भन्ने प्रमाणित भएको छ । निर्वाचनको परिणाम महत्वपूर्ण सङ्केतका रुपमा आएको छ । माओवादी पार्टी र नेतृत्वप्रति जनताको सकारात्मक भाव प्रकट भएको छ, यसलाई हामीले विगतमा भएका कमीकमजोरीलाई सच्याएर बढ्नुपर्छ भन्ने पनि देखिएको छ ।

उत्पीडित जनताको पक्षमा केन्द्रित हुनुपर्नेछ । सहरी र तराई मधेशका क्षेत्रमा पार्टीका विचार प्रवाह गर्न सकेका थिएनौँ, अहिलेको जनमतले त्यसतर्फ प्रगति भएको देखाएको छ । निर्वाचनले धेरै मात्तिनु र आत्तिनु पनि हुँदैन भन्ने सन्देश दिएको छ ।

मूलधारका दल र नेतृत्वप्रतिको भरोसा नवीकरणः महेश बर्तौला, मुख्य सचेतक, नेकपा (एमाले)

लोकतन्त्रमा जनताको अभिमतलाई सबैले स्वीकार गर्नुपर्छ । अहिलेको परिणामलाई एमालेले सहर्ष स्वीकार्दै ग्रहण गरेको छ । निर्वाचन परिणामबाट आत्तिन, निराश र हौसन पर्ने परिस्थिति छैन । जनताले उम्मेदवारलाई हेरेर दलहरुका सम्बन्धमा पनि अदलबदल गर्न सक्छन् भन्ने परिणामबाट देखिएको छ ।

एउटा निर्वाचनलाई हेरेर त्यो स्थानमा त्यही दलको वर्चस्व रहन्छ भन्ने विषय परिणामले देखाएन । मूलधारका प्रमुख राजनीतिक शक्तिप्रति नै नागरिकको भरोसा देखाएको छ । जनताले समयक्रममा निर्णय फेरबदल गर्न सक्छन् है भन्ने देखाएको छ ।

नतिजा तीन दलकै पोल्टामा गएकाले भरोसा पनि यिनै दलप्रति छ भन्ने सन्देश आएको छ । यो परिणामले कसैलाई हौसाउने, कसैलाई निराश बनाउने गरेको छैन, आमरुपले मूलधारका राजनीतिक दल र नेतृत्वप्रति भरोसा रहेको कुराको नवीकरण गरेको छ ।

मतदाताको समर्थनलाई विश्वासमा परिणत गर्नुपर्छः विश्वप्रकाश शर्मा, महामन्त्री, नेपाली कांग्रेस

उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विस्तृत रुपमा पछि विश्लेषण र समग्र समीक्षा गरिनेछ । प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवद्र्धक सङ्केतका रूपमा लिएका छौँ ।

उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ । मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ ।

लोकतन्त्रमा शत्प्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने निष्कर्ष छ ।

मतपरिणामले सङ्गठनको आवश्यकता खड्कियो : मनिष झा, कार्यवाहक प्रवक्ता, राष्ट्रिय स्वतन्त्र पार्टी

राजनीतिक दल, दलको विचार, कार्यक्रम, अवस्था र परिस्थिति, उम्मेदवारको व्यक्तित्व, उम्मेदवारको एजेण्डा र व्यक्तिगत नाफाघाटाको सूचकका आधारमा उम्मेदवारलाई मतदाताले मूल्याङ्कन गरेर निर्णय गरेको पाइन्छ ।

राजनीतिक दलको स्थापना र सङ्गठनका आधारमा रास्वपा सुरुआती चरणमा छ । सङ्गठनको आवश्यकता निकै खड्केको देखियो । सहरी क्षेत्रका मतदाताले पार्टीलाई उत्साहित बनाए पनि दूरदराज र गाउँगाउँमा सङ्गठन बनाउनुपर्ने देखियो । चुनावका नतिजाले मतदाताबीचमा राजनीतिको स्पष्ट मार्गको कमी देखियो ।

कामदार वर्ग एक हुनुपर्छः प्रेम सुवाल, नेता, नेपाल मजदुर किसान पार्टी
हाम्रो जस्तो मुलुकमा चुनाव एउटा वर्ग सङ्घर्ष जस्तै हो । स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले कामदार वर्ग कमजोर जस्तो देखियो । त्यसकारण यो वर्ग एकजुट हुनुपर्छ । रासस

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : ०८ बजे

प्रधानमन्त्रीद्वारा चीनमा गएको भूकम्पप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले

सशस्त्रका ४ डिआईजीको १ वर्ष पदावधि थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी)

भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, सामान्य भौतिक क्षति, चनाखो हुन अनुरोध

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज

१६ बुँदे प्रस्ताव पास गर्दै एकदिन अगावै सकियो माओवादी बैठक

काठमाडौं । पुस २१ देखि २४ गतेसम्मका लागि बोलाइएको नेकपा

सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष