१० मंसिर २०८१, सोमबार | November 25, 2024

राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै



राजापुर । बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित छिन् । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ । उपचारका लागि आर्थिक चाँजोपाँजो मिलाउने, अस्पताल पुर्‍याउनेदेखि रोगले थलिनुभएकी सासूआमाको जीवनमा प्राण भर्ने जिम्मेवारी बुहारी सुष्माकै काँधमा छ । अरू चाँजोपाँचो त जेनतेन भइहेकै हुन्छ तर महिनाको दुई पटकसम्म रगत चढाउनुपर्ने भए पनि नजिकै ‘ब्लड बैङ्क’ नभएको पीडा अझ बढी छ ।

“घर नजिकै ब्लड बैङ्क छैन । रगतकै लागि ७३ किलोमिटर टाढा रहेको बाँकेको नेपालगञ्जसम्म पुग्नुपर्दा निकै सास्ती खेप्नुपर्‍यो । बर्दियाबाट भेरी अस्पताल जानुको विकल्प नै थिएन । त्यति टाढा गएर पनि एकै दिनमा रगत चढाउन पाइँदैन थियो । त्यहाँ जानै समस्या, गए पनि अधिकांश दिनमा रक्त अभावले पालो कुरेर उतै चाररपाँच दिनसम्म बस्नुपर्दाको सास्ती भनिसाध्य छैन”, सुष्माले भनिन् ।

उनले घण्टौँ लगाएर अस्पताल पुगे पनि रगत अभावमा अस्पतालको शय्यामा कुर्नुपर्दाको सास्ती र बसाइँ लम्बिँदा हुने खर्चको तनावले थप पीडा दिने गरेको सुनाइन् । यसरी उपचारका क्रममा कैयौँ दिन अस्पतालमा भोकै बस्नुपरेका दिन अहिले पनि सुष्माको मानसपटलमा ताजै छ । “त्यति टाढा पुगेर पनि रगत पाइन्छ भन्ने निश्चित हुँदैनथ्यो । कति पटक चार दिनसम्म पालो कुर्दा भोकभोकै बस्नुपरेको थियो । अहिले त्यो पीडा सम्झिन पनि चाहन्न”, उनले भनिन् ।

राजापुर क्षेत्रमा रगत नपाइने र चाहिएको बेला रक्त समूह नमिल्ने भएकाले सुष्मालाई दुःख भोगेर भए पनि नेपालगञ्ज जानैपर्ने बाध्यता थियो । पछिल्लो चार महिनादेखि भने यो बाध्यता हट्दै गएको छ । राजापुर नगरपालिकाले राजापुर बजारमै रक्त सङ्कलन तथा भण्डारण केन्द्र (ब्लड बैङ्क) स्थापना गरेपछि सुष्मालाई ठूलो राहत भएको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा ब्लड बैङ्क स्थापना गरेको हो ।

सुष्मा र उनकी सासूआमा भागिरथी त प्रतिनिधिपात्र मात्रै हुन् । नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार राजापुरमा भागिरथी जस्तै दुई सय २४ जना सिकलसेल एनिमियाका बिरामी रहेको तथ्याङ्क छ । यी सबैजसो बिरामी र तिनका परिवारको समस्या उस्तै थियो । स्थानीयस्तरमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि यी सबैलाई ठूलो राहत भइरहेको छ । “मेरो छोरा दुई वर्षको हुँदादेखि उसमा सिकलसेल एनिमिया देखिएको थियो, जसकारण बेलाबेलामा रगत चढाउनु पर्छ । अहिले छोरो १० वर्षको भयो, आठ वर्षसम्म नेपालगञ्ज गएर रगत चढाइयो तर अहिले नगरमै ब्लड बैङ्क सञ्चालनमा आएपछि घर आँगनमै सेवा लिएको अनुभव गरेको छु । यसले वर्षौंदेखि पीडा भुलाएको छ”, बिरामी राजीव चौधरीका बुबाले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरै नागरिक लाभान्वित भएको बताए । “नजिकै रक्त सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा दीर्घरोगीले त समस्या भोग्नु परेकै थियो, आकस्मिक घटना हुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । नगरले यो समस्या समाधानका लागि केन्द्र स्थापना गरेको हो । त्यसले स्थानीयस्तरमा निकै राहत पुगेको छ”, उनले भने ।

राजापुर नगरपालिकाले एकजना ‘ल्याब असिस्टेन्ट’ को दरबन्दी राखेर रु आठ लाखको लागतमा ब्लड बैङ्क स्थापना गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको भवनबाट ब्लड बैङ्कको सञ्चालन भइरहेको छ । गत साउन १ गतेदेखि सञ्चालनमा आएको यस केन्द्रबाट हालसम्म ५५ जनाले सुविधा लगिसकेका छन् जसमा ९५ प्रतिशत सिकलसेलका बिरामीले सेवा लिएका छन्भने बाँकी पाँच प्रतिशत गर्भवती र अन्यले सेवा लिएका ल्याब असिस्टेन्ट महेश चौधरीले जानकारी दिए ।

सिकलसेल एनिमियाका प्रायः थारू समुदायका नागरिकमा देखिने रोग हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले भने, “सिकलसेल एनिमिया एक गम्भीर अनुवांशिक रक्तरोग हो । यस रोगमा रातो रक्त कोष हँसिया (सिकल) आकारमा बदलिने हुँदा शरीरमा अक्सिजनको आपूर्ति कम हुन्छ, जसले रक्तअल्पता, असह्य पीडा र शरीरका अङ्गहरूमा अक्सिजन नपुग्ने समस्या निम्त्याउँछ । थारू समुदायको विशिष्ट जैविक बनावट र परम्परागत वैवाहिक अभ्यासहरूले यो रोग पुस्तान्तर हुँदै आएको छ ।”

राजापुर नगरपालिकामा ६९ हजार आठ सय ७३ जनसङ्ख्या रहेको छ । कुल जनसङ्ख्यामध्ये करिब ८१ प्रतिशत थारू समुदायको रहेको छ । थारू बाहुल्य क्षेत्र भएकाले सिकलसेलको जोखिम पनि सोहीअनुसार रहेको अनुमान छ । अब गाउँमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरैलाई सहज भए पनि चाहिएको समयमा रक्त समूह मिल्ने रगत व्यवस्थापन भने चुनौतीपूर्ण रहेको ल्याब असिस्टेन्ट चौधरीले बताए । यस्तो अवस्थामा टीकापुर, मधुवन र भेरी अस्पतालबाट रगतको जोहो गर्नुपरिरहेको उनले जानकारी दिए । “नगरपालिका आफैँले वर्षमा तीनपटक, गैरसरकारी संस्था युनिक नेपालले तीनपटक र विभिन्न सङ्घसंस्थाले आयोजनाले गर्ने रक्तदान शिविरबाट रगत सङ्कलन भइरहेको छ तर भण्डारण क्षमता कम भएकाले कहिलेकाहीँ छिमेकी अस्पतालहरूबाट रगतको जोहो गर्नुपर्छ”, ल्याब असिस्टेन्ट चौधरीले भने, “थारू समुदायको ठूलो बस्ती रहेकाले सिकलसेलको जोखिम र आकस्मिक रूपमा चाहिने रगतका लागि यस केन्द्रको स्तरोन्नति आश्वयक छ । भर्खरै सञ्चालनमा आएकाले नगरपालिकाले समस्या र आवश्यकता हेरेर त्यो काम गर्ने नै छ ।”

नगरप्रमुख दीपेश थारूले ब्लड बैङ्कको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा आफूहरू सचेत रहेको बताए । उनले स्थानीय नागरिकको माग र आवश्यकताअनुसार सेवा विस्तार गरिने बताए । “नगरपालिकामा १५ शय्या अस्पताल सञ्चालन हुँदैछ, काम अगाडि बढिरहेको छ । त्यहाँ पनि ब्लड बैङ्क रहनेछ । ब्लड बैङ्क सेवालाई अझ प्रभावकारी बनाउने र रगतको भण्डारण बढाउन नियमित रूपमा रक्तदान कार्यक्रम गरेर सेवा विस्तार गर्ने योजनामै छौँ”, नगरप्रमख थारूले भने । यस सेवाबाट नगर क्षेत्रका मात्रै होइन छिमेकी गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका क्षेत्रका नागरिक पनि लाभान्वित हुन थालेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ०३ बजे

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण

सिंचाई अभिवृद्धिकालागि एसियाली विकास बैंकसँग ऋण लिँदै लुम्बिनी प्रदेश सरकार

दाङ । । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु : बलिउड निर्देशक कबिर खान

काठमाडौं । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ कबिर

‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायो : सिबिफिन

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ–नेपाल (सिबिफिन)ले नेपालको सार्वभौम

प्रचण्ड सरकारको समयमा देश आर्थिक संकटमा पर्‍यो : एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई