९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

आमा सम्झाउने ‘मातृचक्र’



म्याग्दी । सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् ।

मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा आमाको सम्मान र स्मृतिमा शब्द खर्चन, भावना व्यक्त गर्न पाइन्छ । त्यो स्थान हो, मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित ‘मातृचक्र’ पर्खाल । “म कसरी हार मानौँ, मेरो अगाडि दुःखको पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन्, मेरी प्यारी आमा”, आमाको सम्मानमा मातृचक्र पर्खालको एउटा ढुङ्गामा म्याग्दीकी स्मृति मगरले लेखेकी छिन ।

सेतो रङ्ग लगाइएको गोलो चक्र आकारको पर्खालका ढुङ्गामा रातो अक्षरमा आमाप्रति सर्मपित भएर लेखिएका यी र यस्तै भावका शब्दावली देखिन्छन् । यस स्थललाई घरपझोङ गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न काम थालेको छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ‘मातृचक्र’को अवधारणा नेपालमै नयाँ र अनौँठो भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने बताए । “जीवनका विभिन्न कालखण्ड र आमाका सङ्घर्षको कल्पना गर्दै पर्खालभित्र फन्को लगाइने भएकाले यसलाई मातृचक्र नामाकरण गरिएको हो”, उनले भने, “आमाको गर्भभित्र हुँदाको कल्पना गरेर पर्खाल वरपर फन्को लगाउन सकिन्छ ।”

यस्तो छ मातृचक्र

कोशी प्रदेशको धरानमा बाँसको रूखमा प्रेमका शब्द लेख्ने चलन छ । आमाको सम्मान र सम्झना गर्ने ठाउँ जोमसोमबाहेक कतै नभएको अध्यक्ष लालचनले बताए । आठ वटा ढुङ्गे पर्खालको चक्र भएको यस ठाउँमा फन्को लगाउन करिब २० मिनेट लाग्छ । टाढाबाट हेर्दा मातृचक्रको पर्खाल विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम जस्तो पनि देखिन्छ ।

बीच भागमा हिड्न मिल्ने बाटो छाडेर बनाइएको मातृचक्र गोलो आकारको छ । नकुदेका ढुङ्गा चिनेर पर्खाल बनाइएको छ । पर्खालभित्र छिर्ने र निस्कने एउटै प्रवेशद्वार छ । एकठाउँबाट छिरेपछि सबै भाग घुमेर सोही ठाउँमा आई बाहिर निस्कन सकिन्छ । फन्को लगाउने क्रममा आमालाई दिएका दुःखको क्षमा माग्न, आमालाई धन्यवाद दिन र पुकार गर्न पाइन्छ । फन्को लगाएपछि फर्कने बेलामा ढुङ्गामा शब्द लेख्न पाईन्छ ।

“आमाप्रति सधैँ कृतज्ञ छु”, सचिन नाम गरेका झापाका व्यक्तिले ढुङ्गामा लेखेका छन । म्याग्दीका बिष्णु शर्माले अनौठो र आश्चार्य लागेर आमाको सम्मान र सम्झनाका लागि मातृचक्रमा पुगेको बताए ।

करिब २० वर्षअघि एक जर्मन नागरिकले बनाएको गोलो आकारको पर्खाल यसअघि उपयोग र संरक्षण भएको थिएन । गाउँपालिकाले हालै पर्खालको भित्री भागमा रातो र बाहिरी भागमा सेतो रङ लगाएको छ । रङ्गरोगन गरेपछि मातृचक्र आकर्षक देखिएको छ । घरपझोङ गाउँपालिकाको कार्यालयदेखि पाँच मिनेट पैदलयात्रापछि जोमसोम बजारको छेउमा रहेको मातृचत्र पुगिन्छ । बेनी-जोमसोम-कोरला सडकबाट पनि मातृचक्र देखिन्छ ।

कृषि पर्यटनका लागि उद्यान

घरपझोङ गाउँपालिकाको नाममा रहेको जग्गामा अवस्थित मातृचक्र र वरपरको क्षेत्रमा पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनको कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ । मातृचक्र नजिकै मुस्ताङमा पाइने सबै प्रजातिका स्याउको बगैँचा स्थापनाको तयारी भइरहेको अध्यक्ष लालचनले बताए ।

कृषि पर्यटनको अवधारणाअनुसार घरपझोङले स्याउ खेतीलाई पर्यटनसँग जोड्ने प्रयासमा विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘मिनी मुस्ताङ’को अवधारणाअनुसार उद्यान बनाउने उद्देश्यले अघिल्लो कार्यकालमा सो ठाउँमा पर्खाल लगाएर घेराबार गरिएको थियो । पछिल्लो कार्यकालका जनप्रतिनिधिले मिनि मुस्ताङको योजना सफल नभएकाले त्यस ठाउँमा स्याउ उद्यान बनाउने तयारी गरिएको जनाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : २५ बजे

कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ

बुटवल उपमहानगरपालिकामा प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध

बुटवल । बुटवल उपमहानगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ

बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३, सिस्नेरीस्थित

रवि लामिछाने पक्राउविरुद्ध रास्वपाको काठमाडौंकेन्द्रीत प्रदर्शन माइतीघरमा सुरु

काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन सुरु

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले