२८ आश्विन २०८१, सोमबार | October 14, 2024

जसलाई दशैँले छोएन



काठमाडौं । न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, “बिहानदेखि दशैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।”

अलिक परको टुँडिखेलमा दसैँको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए । दशैँ लागेका मानिसहरु गोजीभरी पैसा बोकेर न्यूरोडका पसल चहार्दा उनी भने गोजी तातो बनाउने खोजीमा थिए । हामीले उनलाई सोध्यौँ, “दशैँ लाग्या छैन दाजु रु”

“खोइ सर, लाग्न त लाग्यो तर मलाई त्यति स्वाद छैन, बिहान आइपुगेको दिन ढल्न लाग्दा पनि काम पाइएको छैन, गोजी रित्तो हुँदा दशैँ आयो कसरी भन्नु रु” उनी बिहीबार बिहानै घरबाट निस्किएका थिए, तर दिनभरी नयाँसडक, असन, भोटेबाहलका गल्ली र पसल चाहर्दा पनि काम पाइएको छैन । उनले आज रित्तो हात फर्कनुपर्छ कि भन्दै सुस्ताए । “हिजो अस्ती त काम जति पनि पाइएको थियो, आज पाइएन, रमाइलो भएन”, उनले सुनाए ।

धनबहादुरको मन दिनभरी राम्रो आम्दानी नभएपछि खिन्न छ । “विहान परिवारसँग मरमसला, कपडालगायतका सामग्री लिएर आउँछु है भन्दै बजार छिरेको थिएँ, तर आज रित्तो हात फर्कनुको विकल्प भएन”, उनले भने ।

हरेक दिन भारी बोकेर मजदुरी गर्दै आएका खत्रीले यही कमाईले घरखर्च र परिवारको रेखदेख गर्नुपर्ने दायित्व छ । खत्रीको घरपरिवार पनि दिउँसोको कमाइले दसैँका सामान किन्ने योजनामा बसेको छ ।

विगत २७ वर्षदेखि भारी बोक्ने काम गर्दै आएको खत्रीले केही समय रिक्सा पनि चलाए । त्यो पेसाबाट भने जस्तै आम्दानी नभएपछि भारी बोक्न फेरि नाम्लो समाएका रहेछन् । उमेरले ६५ वर्ष कटिसकेका खत्रीले अहिले पनि ५० देखि ६० लिलोसम्मको भारी बोक्दै हिँड्छन् ।

उनी मात्रै होइन, न्यूरोडमा ज्यामी काम गर्ने ओखलढुङ्गाका ढाकाराज सुनुवारलाई पनि दशैँ लागिसकेको छैन । बन्दै गरेको घरमा मार्बल घोट्दै गरेका उनले पनि खत्रीको जस्तै व्यथा सुनाए ।

फूलपातीको दिन न्यूरोड क्षेत्रमा नयाँ कपडा किन्ने ग्राहक र व्यापारीको होहल्ला चलिरहँदा सुनुवारलाई त्यसको कुनै आभाष छैन । “खोइ, दशैँ आयो भन्छन् हुने खानेलाई आयो होला । हामीजस्तालाई त आएको छैन । यसरी काम गर्नुपरेको छ, कसरी दशैँ मान्नु, तै पनि परम्परा धान्न भए पनि दशैँ त मान्नै परो”, उनले भने ।

नेपालीहरुको महान चाड बडा दशैँको फूलपातीका दिन गाउँ तथा सहरमा पर्वको उल्लास छाइरहँदा खत्री र सुनुवार जस्ता भरियालाई दशैँ आयोभन्दा पनि दशैँका लागि खर्च जोहोकै चिन्ता छ । उनीहरु नाम्लो काँधमा हालेर दुई छाकटार्ने हुटहुटीमा न्यूरोड, असन, इन्द्रचोक महाबौद्धलगायत गल्ली र पसलमा चहारिरहेका छन् ।

सीमित आम्दानीले परिवारको खर्च धान्नुपर्ने परिस्थितिकाकारण गाउँ जान नसकेका उनीहरुलाई सहरमा बसेर दशैँ मनाउन पनि सास्ती छ । भरियामध्ये कतिपयत गाउँ फर्किसके । परिस्थितिले परिबन्धनमा परेका केही भरियालाई भने दशैँले यसपाली घर बोलाएन ।

त्यसैले ओखलढुङगाका २५ वर्षीय सुनुवारले जेनतेत यसपाली सहरमै दशैँ मनाउने निधो गरेका रहेछन् । “कमाइ पनि राम्रो छैन, बाटोघाटो पनि त्यस्तै छ, स–साना बालबालिकालाई कच्चीबाटोमा कसरी लैजाने । बरु जे जसरी हुन्छ यो पटक आफ्नो जेथो अनुसारको दशैँ मनाउछौँ”, उनले भने ।

घर बनाउने काम गर्दै आएका अर्घाखाँचीका सुनील रानामगर पनि परिस्थितिले दशैँमा घर जान पाएनन् । “दशैँमा घर जान भने जस्तो पैसा भएन । फेरि दशैँमा अनावश्यक खर्च पनि हुने भएकाले यसपाली घर जान मनले मानेन”, उनले भने ।

रानामगर मात्रै होइन, दोलखाका माइला भुजेलले पनि यसपाली दशैँका लागि घर जाने बसको टिकट काटेनन् । उनले काम गरिरहेको घरमा भर्खरै ताला लागेको छ । श्रीमती र कान्छा छोरा भारतमा उपचारको क्रममा छन् । दशैँमा काठमाडौंमा मजदुरी गरिरहेका उनले भने, “परिवार पनि लाखापाखा छन्, आर्थिक अवस्था पनि त्यस्तै छ, कसरी गाउँ जाने, जे जसो भएपनि सहरमै दिउँसो मजदुरी गरेर साँझ पेट पाल्नुपरेको छ ।”

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ८ : २७ बजे

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन

नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर

बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै

खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य