२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै



काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।

आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताए । उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो ।

बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताए । उनका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले बताए ।

पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । “हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ”, उनले भने । उनले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताए ।

संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताए ।

गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्यामध्ये ३१ दशमलव ५६ प्रतिशत हो । तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ४९ बजे

भारत सरकारले पठायो बाढीपीडितका लागि आवश्यक सामग्री

नेपालगन्ज । भारत सरकारले बाढीपीडितलाई आवश्यक सामग्री पठाएको छ ।

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज

मेलम्ची सङ्घर्ष समितिसँग खानेपानी मन्त्रीको वार्ता : काठमाडौँमा पानी पथान्तरण गर्ने सहमति

सिन्धुपाल्चोक । भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन

तमु सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बिमोचन

बुटवल । गुरुङहरुको (तमु) सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ क्येर्लो क्येप