३ आश्विन २०८१, बिहिबार | September 19, 2024

हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड



काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा रहुन्जेल खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड देखिन्छ । बिहान केही समय वर्षाले दर्शनार्थी प्रभावित भए पनि अहिले सहज रूपमा दर्शन एवं पूजा आराधना गरिरहेको उनले बताए । पानी रोकिएसँगै पशुपति क्षेत्रमा हजारौँ भक्तजनको घुइँचो लागेको छ ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चारवटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउने गरी सबै व्यवस्था गरेको जनाएको छ । बर्तालुको भीडलाई ध्यान दिँदै कोषले आज विशेष पूजाका लागि रसिद काटेको छैन ।

कोटेश्वर-तीनकुने-सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले जानकारी दिए ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्नेगरी व्यवस्था मिलाइएको छ । बर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने गरेका छन् ।

तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चारवटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको छ ।

तेस्रो लाम गौशाला-पिङ्गलस्थान-पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिएको छ । चौथो लाम गुह्येश्वरी-उमाकुण्ड-कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ ।

दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मी सहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारी निषेध गरिएको छ । पशुपति क्षेत्रमा नेपाली सेनालगायतले स्वास्थ्य शिविरको सेवा दिएका छन् ।

हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा बर्तालु महिला, पुरुषको भीड लागेको छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १२ : ३८ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day