११ पुस २०८१, बिहिबार | December 26, 2024

शिलान्यास गरिएको छ वर्षमा पनि नमुना सदरमुकाम निर्माण अगाडि बढ्न सकेन



त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । जिल्लाको कावासोती नगरपालिका-३, मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रूख कटान नहुँदा सो काम अगाडि बढ्न नसकेको हो । आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुपूर्व रूख कटानको आदेश पर्खिरहेको कार्यालयका इञ्जिनियर द्रोण कट्वालले बताए ।

नवलपुरको सदरमुकाम निर्माणका लागि यहाँ एक सय ८४ बिघा जग्गा सरकारको नाममा ल्याइएको छ । उक्त जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ विसं २०७६ वैशाख ७ गते नमुना सदरमुकामको शिलान्यास गरिएको थियो । शिलान्यासको भएको छ वर्षको अन्तरालमा अहिले भवन निर्माणको काम अघि बढ्न थालेको छ । पहिलो चरणमा हाल विनियोजन गरिएको रु ८० करोडको लागतमा जिल्ला प्रशासन कार्यालयसहित अन्य दुई वटा भवन निर्माणको काम अघि बढाउन थालिएको छ । यस कामका लागि चौधरी कन्स्ट्रक्सन रौतहट छनोट भएको छ ।

सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले असोजदेखि स्थलगत रुपमा नमुना सदरमुकाम निर्माणको काम अघि बढाउने तयारी गरेको छ । तर निर्माणको प्रक्रिया अघि बढाउन थाल्दा यहाँ रहेका रूख कटानको आदेश भने अझै आई नसकेको इञ्जिनियर कटवालले बताए । “हाल निर्माण गर्न थालिएको भवनको ठाउँमा रूख पर्दैनन् कि भन्ने हो, तर उक्त आदेश आए काम गर्न सहज हुने थियो”, इञ्जिनियर कटवालले भने । रुख कटानको आदेश नआए निर्माणको काम प्रभावित हुनसक्ने उनले बताए ।

नमुना सदरमुकाम निर्माणस्थलमा ठूला पाँच सय ५२ र साना ९० गरी छ सय ४२ रूख रहेका छन् । नमुना सदरमुकाम निर्माणस्थलमा रूख हटाउने मापदण्डअनुसार प्रक्रिया अघि बढेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बताए । आवश्यक निर्णयका लागि सबै कागजातसहित वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको उनले बताए । मन्त्रालयको निर्णय पछि रूख कटान अघि बढ्ने उनले बताए ।

वन तथा वातावरण मन्त्रालयले जतिसक्दो चाँडो निर्णय गरिदिन्छ उति चाँडो काम अघि बढाउन सहज हुने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका इञ्जिनियर कट्वालले बताए । हाल तीन वटा कार्यालय भवन निर्माण सुरु हुने साथै यस वर्ष थप अन्य भवन निर्माणको प्रक्रिया अघि बढ्ने उनले बताए ।

नमुना सदरमुकाम निर्माणको थालनी गर्न ढिलो भइसकेको र जतिसक्दो चाँडो स्थलगत रुपमा काम सुरु गर्नुपर्ने यसै क्षेत्रका पूर्व सांसद तिलक महतले बताए । जिल्लाकै गौरवको आयोजनाका रुपमा रहेको नमुना सदरमुकाम निर्माण गर्ने कामलाई चाँडो सुरु गराउन सम्बन्धित सरोकारवालाले आवश्यक पहल गरिदिनुपर्ने उनले बताए ।

“जिल्लाका सबै कार्यालय अहिले पनि भाडामा रहेका छन्, साँघुरा ठाउँबाट सेवा दिइरहेका छन्, यसले सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ, यी सबै समस्याको समाधान भनेकोजति सक्दो चाँडो भवन निर्माण गर्नु हो”, उनले भने ।

नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिमेट स्टेडियम, कर्मचारीका लागि आवसगृह, अतिथिगृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।

एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भूभागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भूभाग कङ्क्रिटविहीन राखिनेछ । आयोजना निर्माणस्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ७ : ५१ बजे

औद्योगिक व्यापार मेला : देशकै मध्येभागमा रहेको लुम्बिनीमा लगानीका थुप्रै सम्भावना छन्

बुटवल । देशकै मध्येभागमा रहेको लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

लुम्बिनी । सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ

ज्येष्ठ नागरिकलाई सम्मान गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेष्ठ नागरिकको सीप, अनुभवलाई युवा