नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जले आफ्नो स्थापनाको १३४ औं वार्षिकोत्सव मनाएको छ । देशकै जेठो अस्पताल मध्यको पहिचान बनाएको भेरी अस्पतालले विशेष कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो।
भेरीमा हाल जनरल सेवासंगै क्याथ ल्याब, न्यूरो सर्जरी सेवा, स्पाइनल इन्जुरी सेवा, अर्थरोस्कोपी, तथा जोर्नी प्रत्यारोपण सेवा, ग्यास्ट्रो सर्जरी, यूरो सर्जरी, सिकलसेल एनिमिया, थालसेमियालगायतको उपचार सेवा उपलब्ध रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाशबहादुर थापाले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको वार्षिकोत्सवमा संघीय सांसद किशोरसिंह राठौर, प्रदेशमन्त्री बादसाह कुर्मी, पूर्वमन्त्री रत्न खत्री, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललगायतको उपस्थिति थियो । त्यस अवसरमा सांगीतिक प्रस्तुतीसँगै उत्कृष्ट कर्मचरी, कर्मचारीका बीचमा खेलाइएका विभिन्न खेलका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
यस्तो छ अस्पतालको इतिहास :
जंगबहादुर राणा युरोपबाट फर्केपछि नेपालमा केही आधुनिक कामहरू गर्न खोजेको र त्यसैको परिणाम मध्य एक हो नेपालगन्जको भेरी अस्पताल । युरोपबाट फर्केको केही समयमा १९३३ मा जङ्गबहादुरको मृत्यु भयो । उनको मृत्यु पछि राज्यको बागडोर उनको भाइखलकको हातमा प¥यो । जङ्गबहादुरका भाई बीर शम्सेरले नेपालका केही स्थानमा अस्पताल खोल्ने निर्णय गरे । तत्काल गद्दीमा बसेका पृथ्वी बिरबिक्रमलाई समेत खुसी पार्ने उद्देश्यले बि.सं.१९४७ मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नामबाट नेपालगन्जमा अस्पताल खोलियो । त्यसैको विकसित स्वरुप आजको भेरी अस्पताल हो ।
काठमाडौको बीर अस्पताल र नेपालगन्जको पृथ्वी विर अस्पताल डिस्पेन्सरी एकै दिन खुलेको इतिहासमा भेट्न सकिन्छ । त्यसै ताका इलाममा पृथ्वीचन्द्र अस्पताल खेलियो भने पाल्पा र डोटीमा पनि अस्पताल खोलिएका थिए । राणाहरुलाई खुसी पार्न त्यतिबेलाका जमिन्दार सरकारबक्स चौधरीले अस्पताल बनाउन जग्गा दिएको र २०३० ताका तत्कालिन अञ्चलाधिस रामकुमार श्रेष्ठको पहलमा औतारदेशी चैधराईनको नाममा रहेको जग्गा दान गराई अस्पतालको जग्गा थपिएको थियो ।
१९४७ देखि पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा चलेको अस्पताललाई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी सेवा प्रसुती केन्द्र नामाकरण गरियो । २०२१ सम्म रत्नराज्य लक्ष्मी देवी सेवा प्रसुती केन्द्र कै नाममा चलेको अस्पताललाई २०२२ सालमा भने भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको हो । प्रसुति सदनको २०२० सालमा महेन्द्रले उदघाटन गरेका थिए । त्यसैबेला अस्पतालको स्तरउन्नती गर्दै २० शैयाको बनाइएको थियो । तर साहित्यकार तथा इतिहासकार सनत रेग्मीले भने रत्नराज्य भन्दा पहिला इन्द्रराज्य लक्ष्मी प्रतिष्ठानको नाममा प्रसुती सदन चलाइएको दाबी गर्छन् । उनले आफ् सानोमा खेल्न जाँदा इन्द्र राज्य लक्ष्मीको नाम देखेको स्मरण गरे ।
नेपालमा पर्याप्त अंग्रेजी दबाई नआइसकेको त्यस बखत औषधी गर्नु कम चुनौतीको विषय थिएन । त्यसमा पनि औलो रोगको खानीकारुपमा चिनिने नेपालगन्जमा औलोसँग प्रतिरोध गर्ने थारु समुदाय बाहेक अन्यको जिवन निकै कस्तकर मानिन्थ्यो ।
नेपालगन्जमा आधुनिक चिकित्सा भित्राउनमा डा. रघुवीर दयाल, डा फनिन्द्र गुप्ता, डा जगदिश सिंह, डा तारापद शाह लगायतलाई श्रय जान्छ । साथै श्रीवास्तर ड्रेसर र चटर्जी दाजुभाइले चलाएको फार्मेसी पनि नेपालगन्जको आधुनिक चिकित्साका स्मरणहरु हुन् । त्यतिबेला सम्म अस्पताल १५ शैयाको मात्र रहेको थियो ।
२०१४ मा नेपालगन्जमा ठुलो हैजाको महामारी फैलंदा एकजना अघोरी बाबाले गरेको ब्यवस्थापनमा सल्यानी बङ्गलामा राखेर बिरामीको उपचार गरिएको नेपालगन्जका पाका स्थानीबासी स्मरण गर्दछन् । अस्पतालमा रहेको १५ शैयाले नधानेपछि सल्यानी बङ्गलामा राखेर बिरामीको उपचार गरिएको बताइन्छ । २०२२ सालमा भेरी अञ्चल अस्पताल बनाइएसँगै अस्पताललाई ५० शैयाको बनाइएको थियो ।
त्यतीबेला मेडिकल सुपरिन्टेन्ड भन्ने पद थिएन । अस्पतालको प्रमुखलाई ‘सिभिल सर्जन’ भनिन्थ्यो । २०३०–३२ साल तिर डा योगेन्द्र मान सिंह प्रधान सिभिल सर्जन बनेर आए । त्यसपछि बिस्तारै बिशेषज्ञ चिकित्सकहरूको पनि आगमन हुन थाल्यो ।
डा सन्तोषमान श्रेष्ठ, डा कपिला श्रेष्ठ, डा शोभना श्रेष्ठ, डा धर्मशरण मानन्धर, डा एन्डी जोशी, डा सुधाकर अनिल थपलिया, डा रमानन्द सिन्हा जस्ता चिकित्सक सिभिल सर्जनहरूको अस्पताललाई आधुनिकरण गर्न ठुलो योगदान रहेको छ ।
२०३७ साल सुरुहुँदा सम्म भेरी अञ्चल अस्पताल रिफरल सेन्टरका रूपमा विकास भइसकेको पाइन्छ । २०३७ पछि नै आकस्मिक कक्ष, अन्तरंग विभाग, बहिरंग विभाग, एक्सरे, ल्याब गरि विविधिकरण भएको हो । त्यसै ताका ओ।पी।डी, सर्जिकल, मेडिकल, गाइनो, पेडियाट्रिक्स वार्डहरुको स्थापना भएका थिए ।
स्वर्गीय डा दुर्गा प्रधान, डा उषा शाह, डा एम किदवाइ, डा गोपाल श्रेष्ठ, डा माधव खनाल र डा एन अग्रवालको आगमनले अस्पताललाई तत्कालिन मध्य र सुदुर पश्चिम सहित भारतको बहाराईच सम्मका बिरामीलाई सेवा दिन सक्ने अस्पतालका रुपमा स्थापित हुन पुग्यो ।
२०४३ सालमा १०० बेड र पछि बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचालन भईरहेको अवस्थामा मिति २०६१ भाद्रबाट १०० शैयाबाट बृद्धि गरि २०० शैया क्षमतामा संचालन गर्न अनुमती प्राप्त भएको छ । देश संघिय संरचनामा गए पछि केही समय भेरी प्रादेशीक अस्पताल नामाकरण भई प्रदेश नं–५ अन्तर्गत राखिएको यस अस्पताललाई हाल नेपाल सरकारको निर्णय अनुसार संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल राखिएको छ ।
इतिहासका बिभिन्न कालखण्डमा आरोह अवरोह पार गर्दै भेरी अस्पताल अहिले कर्णाली र सुदुर पश्चिम सहित लुम्बिनी प्रदेशको आधाभन्दा बढी जनतालाई सेवा दिने अस्पतालकारुपमा रहेको छ भने अस्पतालमा भारतबाट समेत उपचार गर्न आउने बिरामीको संख्या ठुलो रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा बताउँछन् ।
सरकारले यस अस्पताललाई एमडी र एमएस अध्ययन अध्यापनका लागिसमेत अनुमति दिएको छ । आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा भेरीलाई विशिष्टकृत सेवा प्रदान गर्ने गरी ५ सय शैयाको विशेषज्ञ अस्पतालको रुपमा अगाडि बढाउने घोषणा भयो । त्यसपछि २४० शैयाको अन्तरंगविभाग, ३० शैयाको आपतकालिन कक्ष, अत्याधुनिक शल्य कक्ष, प्रशासनिक कक्षसहितको भवन निर्माण भयो । चालु आर्थिक वर्षमा अत्याधुनिक पोष्टमार्टम भवन, चिकित्सक र नर्सिङ स्टाफका लागि आवासीय भवन र थप २६० शैयाको अन्तरंग विभाग र १८ वटा ओपीडीसहितको भवन निर्माण सम्पन्न गर्नका लागि स्रोत सुनिश्चितताका लागि काम अगाडि बढिरहेको छ ।
अस्पतालमा अहिलेसम्म वर्षमा एक लाख ८० हजार चार सय ३२ ले सेवा लिएका छन् । एक सय ६५ बेड रहेको सो अस्पतालमा इमर्जेन्सी सेवामा २५ बेड रहेको छ ।
सन्दर्भ सामाग्री : अस्पतालको स्मारिका अक्सिजन
साहित्यकार सनत रेग्मी
सचितानन्द चौबे
प्रतिक्रिया