१९ असार २०८१, बुधबार | July 4, 2024

वर्षायाम प्रारम्भ भएसँगै गौरीगञ्जवासीमा बाढीको त्रास



झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका-१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ ।

गाउँ नजिकबाट बगेको कनकाईमा बाढी आउँदा वर्षौँदेखि गाउँ डुबानमा पर्दै आएको उनले सुनाइन । होक्लाबारीका अधिकांश बासिन्दा विपन्न छन् । वर्षा सुरु भएसँगै त्रसित उनीहरू कनकाईमा पानीको सतह बढेको नियालिरहन्छन् । राति निद्रामा रहेका बेला बस्तीमा बाढी पस्ने पीरले उनीहरू निश्चिन्त निदाउन सक्दैनन् । प्रत्येक वर्षको वर्षायाम यसरी नै बित्ने गरेको छ ।

बस्तीमा बाढी पस्न नदिन भरपर्दो बाँधको व्यवस्था नहुँदा बर्सेनि सास्ती झेल्नु परेको वडा नं १ का सदस्य राजभक्त सुनुवारले बताए । विसं २०७४ देखि नै जनप्रतिनिधि बनेका उनले नदीकटान र बाढी नियन्त्रण रोक्न प्रदेश र सङ्घीय सरकारको सहयोग नहुँदा समस्या भएको बताए । उनले जनताको तटबन्धन कार्यक्रममार्फत बाँध बाँध्न पटकपटक माग गर्दा सुनुवाइ नभएको गुनासो गरे । “हाम्रो पीडा कसले बुझ्ने ?, पालिकाको थोरै बजेटले बाँध बनाउन पुग्दैन”, उनले भने, “कुन बेला खोलामा बगेर मरिएला भन्ने त्रासमै बित्ने गरेको छ बर्खा ।”

होक्लाबारी बाढीजन्य विपद्को उच्च जोखिम भएको बस्ती हो । सो क्षेत्रका एक सय तीन परिवारलाई पूर्वमा कनकाई र पश्चिममा कमल बनियानी खोलाले घेरेको छ । यी दुईले एक सय ५० भन्दा बढी परिवार बसोबास गर्दै आएको गौरीगञ्जकै सिमलडाँगी, टप्पुबस्ती र कुञ्जीबारीमा हरेक वर्षायाममा आतङ्क सृजना गर्दै आएका छन् ।

बस्तीमा बाढी पस्नेबित्तिकै होक्लाबारीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इन्द्रेणी आधारभूत विद्यालयलाई आश्रयस्थल तोकिएको वडा सदस्य सुनुवारले बताए । उक्त विद्यालय नै कनकाई र कमल बनियानीको बाढीको चपेटामा पर्नसक्ने उनले बताए ।

बर्खाका बेला होक्लाबारी क्षेत्रमा आवागमनका लागि डुङ्गा नै चलाउनुपर्ने बाध्यता छ । पालिकाले सो क्षेत्रका बासिन्दाको सुविधाका लागि डुङ्गाको व्यवस्था गरिदिएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलमति राजवंशीले गौरीगञ्जको वडा नं १ र २ अन्य वडाको तुलनामा बढी विपद्को जोखिममा रहेको बताइन । उनले वर्षाका कारण हुने विपद्को पूर्वतयारी पूरा गरिसकेको जानकारी दिइन । “आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सबै सावधानीको तयारी गरेका छौँ”, उनले भनिन, “राहत कोष र आवश्यक विपद् सामग्रीको तयारीसँगै प्रभावित क्षेत्रको अवलोकनसहित तथ्याङ्क सङ्कलन गरिसकेका छौँ ।”

अध्यक्ष राजवंशीले स्थानीय सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग विपद् व्यवस्थापन संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिइन । वडा नं १ कै कुञ्जिबारी, टाप्पुबस्ती, बिर्खेबस्ती, माझीगाउँ पनि बाढीको उस्तै त्रासमा रहेको छ । जिल्लाका झापा, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा कनकाई नदीमा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी विस्थापित हुन थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका १५ स्थानीय तहका नौ हजार नौ सय १९ परिवार बाढीको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : १६ बजे

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सिआइबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई आठ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’

बर्दिया । लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको

एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई

चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता

काठमाडौ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे