२४ कार्तिक २०८१, शनिबार | November 9, 2024

मुहानको विवादले सङ्कटमा सिदिन-याङनाम खानेपानी योजना



पाँचथर । मुहान क्षेत्रका बासिन्दाले संरचना निर्माण गर्न र पानी लैजान नदिएपछि पाँचथरको सिदिन-याङनाम खानेपानी योजना सङ्कटमा परेको छ । फालेलुङ गाउँपालिका-६ र ७ को सीमामा अवस्थित प्युरेखोलामा मुहान थापेर सञ्चालन गर्न लागिएको योजनाको मुहानको विवादले समस्यामा परेको हो ।

मुहान प्रयोग गर्ने विषयमा लामो समयदेखि संवाद हुँदै आए पनि स्थानीयवासी अझैसम्म मुहान प्रयोग हुन दिने पक्षमा छैनन् । यही खोलामा मुहान थापेर खानेपानी र सिँचाइका योजना सञ्चालनमा रहेको, पानीका मुहान क्रमशः सुकिरहेको अवस्थामा यहाँ मुहान दिए निकट भविष्यमै आफूहरूको जीविकोपार्जन सङ्कटमा पर्ने स्थानीयवासीको भनाइ छ । जसकारण करिब ९१ प्रतिशत भौतिक प्रगति गरेको योजना अघि बढ्न सकेको छैन ।

जिल्लाको फिदिम नगरपालिका वडा नं १० र फालेलुङ गाउँपालिका वडा नं ८ का सुक्खा प्रभावित क्षेत्रका एक हजार दुई सय ११ परिवारका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामबाट योजना निर्माण भइरहेको छ । विसं २०७९ असार २३ गते ठेक्का सम्झौता भई निर्माण थालिएपछि नै फालेलुङ गाउँपालिका–७ ले अनुमति र जानकारी नलिई योजना निर्माण सुरु भएको भन्दै निर्माणकार्य रोक्न पत्राचार गरेको थियो । जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलपछि निर्माण सुरु भएको थियो ।

विसं २०८० असोज १३ गते फालेलुङ वडा नं ६ को कार्यालयले समेत निर्माणकार्य रोक्न भनेपछि मुहान क्षेत्रमा काम ठप्प भएको थियो । यद्यपि उपभोक्ता समिति र निर्माण कम्पनीले वितरण क्षेत्रमा निर्माणकार्य धमाधम सम्पन्न गरेका थिए । मुहानको विवाद समाधान गर्न गत वैशाख १३ र जेठ २० गते सर्वपक्षीय बैठक बसे पनि समाधान निस्कन नसकेको फालेलुङ-८ का वडाध्यक्ष श्रीहाङ केरुङले बताए । सर्वपक्षीय बैठकले समाधान निकाल्न नसकेपछि गत जेठ २६ गतेबाट मुहान क्षेत्रमा संरचना निर्माण थालिएकामा जेठ ३१ गते स्थानीयवासीले अवरोध गरेपछि निर्माण रोकिएको वडाध्यक्ष केरुङले बताए ।

चालु आवमा योजनाका लागि छुट्टिएको बजेट निकासा गराउनुपर्ने, समयमा निर्माणकार्य रोकिएपछि प्राप्त भएको बजेट फिर्ता हुने र भविष्यमा बजेट प्राप्त गर्ने सम्भवना कम भएको फिदिम नगरपालिका–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङको भनाइ छ । “बजेट फ्रिज भएपछि यो योजनाको भविष्य अन्योलमा पर्छ”, थाम्सुहाङले भने, “दुई वडाको खानेपानीको समस्या समाधानका लागि उक्त योजनाको मुहानभन्दा अर्को उपयुक्त विकल्प पनि छैन ।”

मुहान क्षेत्रका बासिन्दाले खानेपानी नदिए आफ्नो क्षेत्रबाट सञ्चालन भएको सडक, विद्युत्, इन्टरनेटलगायत सेवासमेत अवरुद्ध पार्ने योजनाको लाभान्वित क्षेत्रका बासिन्दाले चेतावनी दिएका छन् । उपभोक्ताको भेलाले समस्या समाधान नभए यही असार ९ गतेबाट मुहान क्षेत्र फालेलुङ गाउँपालिका वडा नं ७, ६ लगायतमा प्रवाह हुने विद्युत्सहित सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको उपभोक्ता समितिका सचिव भुवन जबेगूले बताए ।

तर मुहान क्षेत्रका बासिन्दाले भने आफूहरूसँग समन्वय नै नगरी योजना निर्माण थालिएकाले खानेपानी दिन नसकिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय पाँचथरमा केही समयअघि भएको सर्वपक्षीय छलफलमा मुहान क्षेत्रका बासिन्दा प्रकाश केरुङले भने, “त्यही मुहानबाट सिँचाइको व्यवस्था गर्नुका साथै जीविकोपार्जनको माध्यम अलैँची बनाएका छौँ । योजनाले अर्को उपयुक्त मुहान खोज्नु ठिक हुन्छ ।”

पटक–पटक भएका छलफल स्थानीयवासी मुहान दिन तयार देखिएका छैनन् । यता उपभोक्ताले भने सुक्खायाममा मुहानमा हुने पानीको एकतिहाइ पानी दिन आग्रह गरिरहेका छन् । वर्षायाममा भने पानी प्रशस्तै हुने हुनाले मुहान क्षेत्रमा कुनै प्रभाव नपर्ने उपभोक्ताको तर्क छ ।

यस योजनामा अहिलेसम्म ९१ प्रतिशत भौतिक प्रगति र ८३ प्रतिशत वित्तीय प्रगति भएको छ । विसं २०७९ असार २३ मा अञ्जना–पराजुली–पाथीभरा जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी रु १३ करोड ६० लाख ९१ हजार छ सय ८६ लागतमा योजनाको ठेक्का लिएको थियो । मुहानको विवाद र निर्माणकार्यमा अवरोध हुँदा आयोजनाको भविष्य नै सङ्कटमा पर्ने निर्माण कम्पनीका प्रतिनिधि लोकेन्द्र राजभण्डारीले बताए ।

योजनाले एक हजार दुई सय ११ घरका पाँच हजार आठ सय तीन जनसङ्ख्या लाभाविन्वत हुनेछन् । योजनामा ७२ दशमलव २३ किलोमिटर पाइपलाइन, ११ वटा मुख्य पानी भण्डारण ट्याङ्की, २३ वटा बिपीटी, ४५ वटा भल्भ च्याम्बर, ८० वटा ब्लक तथा पाइप सपोर्ट पोस्ट, फिल्टर ट्याङ्कीलगायत संरचना छन् । योजनाको निर्माणकार्य गरेवापत हालसम्म रु ११ करोड ३६ लाख १४ हजार आठ सय ५३ रकम आफूलाई भुक्तानीसमेत भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

योजनाको सबै पानी भण्डारण ट्याङ्की, उपभोक्ता समितिको भवन, पानी प्रशोधनशाला निर्माण भइसकेको छ । पाइपलाइन तथा वितरण लाइनको अधिकांश निर्माणकार्य सकिएको छ भने एक हजार दुई सय ११ घरमध्ये एक हजार ३२ घरमा धारा जडान सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १ : ५२ बजे

माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र

उपनिर्वाचन र समसामयिक विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक

यु-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

काठमाडौं । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले

आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च

‘मिसिङ : केटी हराएको सूचना’ को प्रदर्शन स्थगित

काठमाडौं । आउँदो कात्तिक ३० गतेलाई प्रदर्शनको समय घोषणा गरिएको