१७ कार्तिक २०८१, शनिबार | November 3, 2024

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना



बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु लुम्बिनी, गण्डकी, धौलागिरी, राप्ती तथा कर्णालीबासीहरु घ्यू, सुठो, जडिबुटी लगायत स्थानीय उपजहरु प्राय जसो गुल्मीको रिडी भई पाल्पा जिल्लामा पर्ने हार्थोक, ढाक्रेबास, भैसीकट्टा (घोर्लीघाट), मस्याम, मरेक, रानीबास दोभान हुँदै हालको बुटवल (पहिलेको बटौली बजार) मा १ देखि २५ दिन सम्मको पैदल बाटो भारी बोकी आउने र ती सामानहरु बिक्रि गरी बर्ष दिन पुग्ने नून, मट्टितेल, किराना बिसाता, लत्ताकपडा, कृषि तथा अन्य प्रयोजनको लागि आवश्यक धातुहरु र औषधि मुलोहरु खरीद गरि पुनः घरतिर फर्किन्थे ।

नवराज श्रेष्ठ

सिद्धार्थ राजमार्ग निर्माण भएपछि बुटवल देखि तानसेन ३९ किलोमिटर तथा तानसेन देखि भैरबस्थान सिलाङेको रुख सम्म १० किलोमिटर सहित ४९ किलोमिटर घुमाउरो पट्यार लाग्दो बाटोबाट आवतजावत गर्दा समय, इन्धन पनि धेरै लाग्ने र यातायात साधनहरु मर्मतसम्भार गरिरहनु पर्ने भएकोले बढी खर्च हुने हुन्छ । यसको विकल्पमा हाम्रोअनुरोधमा सडक पूर्वाधार विकास कार्यालय पाल्पाको आर्थिक वर्ष २०७८।०७९ मा तयार गरिएको डिपिआर अनुसार ट्रयाक खोल्नु पर्ने दोभानदेखि मरेक ५.२ किलोमिटर, कच्ची मोटरेवल बाटो मरेकदेखि मस्याम ४.९ किलोमिटर, मस्यामदेखि घोर्लीघाट ४.२६० किलोमिटर, ढाक्रेबासदेखि भैरवस्थान ५.३४० किलोमिटर गरी जम्मा १९.७ किलोमिटर बाटोको लम्बाई हुने उल्लेख छ । साथै बुटवलदेखि दोभान ५ किलोमिटर र डुम्रेबाट कुसुमखोला सडकमा पर्ने घोर्लीघाट देखि ढाक्रेबाससम्म ५ किलोमिटर समेत गरी बुटवलदेखि भैरवस्थान २९.७ किलोमिटर हुन आउँछ ।

साविक बुटवलदेखि तानसेन हुँदै भैरवस्थानको बाटोको दुरी ४९ किलोमिटर छ । यसप्रकार प्रस्तावित सडक निर्माण भएमा बुटवलदेखि भैरवस्थानको सडकको दुरी १९.३ किलोमिटर अर्थात ३९ प्रतिशत कमी भई आधा घण्टामा सहजै बुटवल देखि भैरवस्थान आवतजावत गर्न सकिन्छ ।

यस्तैप्रकारले भैरवस्थानबाट जोर्ते १४.५ किलोमिटर बाटो अत्याधिक जोखिमयुक्त र घुमाउरो रहेकोले भैरवस्थानको माझटोलदेखि बाझासम्म ट्रयाक खोल्नुपर्ने करिव १.५ किलोमिटर तथा ट्रयाक खोलीसकिएको बाँझादेखि भुल्के हुँदै जोर्तेसम्म करिव ४.५ किलोमिटर सहज बाटो निर्माण गरी ६ किलोमिटर बाटोकायम हुन सक्दछ । प्रस्तावित बुटवल देखि जोर्तेसम्म ३३.७ कि.मि.बाटो निर्माण भएमा साविकको बुटवलदेखि तानसेन हुदै जोर्तेसम्म ६३.५ कि.मि. बाटोको अनुपातमा २९.८ कि.मि. बाटोको लम्बाई अर्थात ४७ प्रतिशत कम हुन आउछ ।

भैरवस्थानदेखि जोर्ते ६ किलोमिटर र जोर्तेदेखि रिडी ११.२ किलोमिटर गरि १७.२ किलोमिटर सडक बन्न सक्छ । जबकी हाल बुटवलदेखि रिडी ७४.७ किलोमिटर छ भने प्रस्तावित सडकको दुरी ४६.९ किलोमिटर हुन्छ । बुटवलदेखि रिडीको दुरी पनि २७.८ किलोमिटर अर्थात ३७ प्रतिशत घटाउन सकिन्छ । बुटवलबाट रिडीसम्म १ घण्टामा सहजै आवतजावत गर्न सकिन्छ ।

उदाहरणको लागि बुटवलदेखि पोखरा हुँदै काठमाण्डौंको घुमाउरो बाटोको विकल्पमा नारायणगढ–मुग्लिनको बाटो निर्माण भएपछि जति सहज भएको छ प्रस्तावित यो बाटो निर्माण भएमा त्यत्तिकै सहज हुनेछ । प्रस्तावित बाटो निर्माण भए पश्चात पहाडको नजिकै रहेका तराईमा पर्ने बुटवलका साथै पश्चिम नवलपरासी, रुपन्देही तथा कपिलवस्तुलगायत राष्ट्रिय तथा भारतेली तथा अन्तराष्ट्रिय पर्यटकहरु समेत प्राकृतिक, धार्मिक एवं मनोरञ्जनात्मक पर्यटकिय सेवा लिनका लागि आगमन हुन सक्ने सम्भावना रहन्छ । यस क्षेत्रको पर्यटकिय विकाससंगै समग्र रुपमा आर्थिक गतिविधी चलायमान हुनेछ ।

पाल्पा, गुल्मी र स्याङ्जाको संगममा रहेको रिडी बजार भौगोलिक अवस्थाको कारण पहाडी, उच्च पहाडी तथा हिमाली जिल्लाहरुलाई मधेशसंग जोडने ट्रान्जिट पोईन्टको रुपमा रहेको छ । रिडीबाट पहाडी तथा हिमाली जिल्लालाई जोड्ने बाटोहरु धेरै भएपनि मुख्यरुपमा २ वटा निम्न बाटोहरु महत्वपूर्ण रहेका छन्जो प्रस्तावित बुटवलदेखि जोर्तेसम्मको बाटो निर्माण भएमा कम दुरी र कम समयमा सहजै बुटवल तथा तराई क्षेत्रमा आवतजावत हुन सक्दछ । सडक यातायातको विकास संगै तराई तथा पहाडी हिमाली जिल्लाको समानुपातिक विकास हुनेछ ।

१. कालिगण्डकी कोरिडोर :
कोरला नाका देखि पूर्वी नवलपरासीको गँडाकोटसम्म निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरमा पर्ने कोरला नाकादेखि रिडीसम्म २८० किलोमिटर र प्रस्तावित रिडीदेखि बुटवलको दुरी ४६.९ किलोमिटर गरी ३२६.९ किलोमिटर तथा बुटवलदेखि वेलहीया नाका २५ किलोमिटर समेत गरी छिमेकी भारत र चिनको प्रमुख नाकाहरु वेलहीया–कोरलाको दुरी ३५१.९ किलोमिटर एकदमै छोटो र सहज सडक निर्माणाधिन रहेको छ । यसले हिमाली तथा पहाडी जिल्लामा उत्पादन हुने स्थानीय उपजहरु सहजै बुटवल तथा आसपासको बजारमा पु¥याउनका साथै भारतेली बजारमा समेत निर्यात गर्न
सकिनेछ ।

यस्तै प्रकारले बुटवल तथा आसपासका क्षेत्रमा स्थानीय उत्पादन तथा आयातित सामाग्रिहरुको मात्रै व्यापार व्यवसाय भैईरहेकोमा यो बाटोको सुगमताले चाईना उत्तरीभेगको व्यापारमा अत्याधिक बढोत्तरी हुनेछ । वाग्लुङ्ग पर्वत र म्याग्दीको संगमस्थल वाग्लुङको मालढुंगादेखि बुटवलको दुरी १२१.९ किलोमिटर हुने र करिव ढाईघण्टामा आवतजावत गर्न सकिन्छ । विगतमा बुटवलको व्यापारिक प्रभाव क्षेत्र साविक धौलागिरी अञ्चलको चारजिल्ला (मुस्ताङ समेत) रहेकोमा विविध कारणले ती जिल्लाको व्यापारिक केन्द्र नारायणगढ तथा विरगञ्ज समेत हुन पुगेको र यो बाटोलाई चाँडो पुरा गर्न सकियो भने बुटवल तथा आसपास क्षेत्रको व्यापार अभिबृद्धि हुन सक्दछ । यो बाटोको सहजताले स्थलमार्ग भएर आउने भारतीय धार्मिक पर्यटकलाई मुक्तिनाथ तथा चिनिया बौद्धिष्ट पर्यटकलाई लुम्बिनीमा सहजै पुर्याउन सकिन्छ ।

२. रिडी–बुर्तिबाङ सडक :
बुटवलदेखि जोर्तेसम्मको प्रस्तावित बाटो निर्माण हुँदा बुटवलदेखि रिडीहुँदै बुर्तीबाङको दुरी ११९.४ किलोमिटर हुन आउँछ । यस्तै बुटवलदेखि पातीहान्ने १६०.४ किलोमिटर, बुटवलदेखि पूर्वीरुकुमकोट २०५.४ किलोमिटर, बुटवलदेखि पश्चिम रुकुमको मुसिकोट २४०.४ किलोमिटर, बुटवलदेखि जाँजरकोटको खलंगा २८२.४ किलोमिटर हुने भएकोले विगतको बुटवल तथा आसपासको व्यापारिक प्रभाव क्षेत्र बुर्तीबाङदेखि पश्चिममा पर्ने पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट तथा त्यस बाटोबाट सहायक मार्गले जोडिने रोल्पा, सल्यान, तथा डोल्पा जिल्लामा आवतजावतको सहजताले यी क्षेत्रका व्यवसायीहरुले समेत लाभ लिन सक्नेछन्। उच्च पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुने खानीजन्य तथा बन्यजन्य, कृषिजन्य बस्तुहरुलाई सहजै तराईका बजार क्षेत्रमा पुर्याउन सकिने छ । यसले बजार नपाएर खेर गईरहेको बस्तुहरुले सहजै बजार पाउने छन्र तराईका बजारबाट सहजै मालसामान पुर्याउन सकिने हुनाले त्यस भेगका नागरिकले यो सडकबाट पूर्ण रुपमा लाभ लिई जीवनस्तर उकास्न सक्नेछन् । उदाहरणको लागि पञ्चायतकालिन समयमा हिमाली क्षेत्रमा फलफुल तथा पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्नको लागि स्याउका बेर्नाहरु उपलब्ध गराई उत्पादन समेत भएता पनि खासै फाइदा लिन नसकिरहेको अवस्था र
हवाइमार्गबाट ढुवानी भई त्यस भेगमा पुग्ने अत्यावश्यक सामग्रीहरुको मुल्य अत्याधिक रहेकोमा यातायातको सुगमताले एकातिर स्थानीय उत्पादनको मुल्य धेरै गुणाले अबिवृद्धि भएको र अर्कोतिर खपत हुने वस्तुको मुल्यमा कमी आई दोहोरो रुपले फाइदा भई त्यस क्षेत्रका जनताको जीवनस्तरमा ह्वात्तै वृद्धि भएको थियो ।

नेपालको पूर्वपश्चिमको मध्येभागमा पर्ने रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्लाहरुमा क्रमिक रुपले पुर्वाधार विकास भईरहेको तथा वेलहीया सहित ठूला भन्सार नाकाहरु रहेको, विश्वकै शान्ति पर्यटनको केन्द्र लुम्बिनी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बैंक तथा वित्तिय र शिक्षा तथा स्वास्थ्यको हवको रुपमा विकास भएको, सञ्चालनमा आईसकेको र आउँदै गरेको दुईवटा केवलकार यसै क्षेत्रमा रहेकाले उद्योग, व्यापार, कृषि तथा सेवाजन्य व्यवसायमा अग्रणी रहेको र प्रस्तावित यो बाटो निर्माण भएमा यस क्षेत्रका व्यवसायीहरुको कारोवार उल्लेखनीय बढोत्तरी हुनेछ ।

यसको कारण आयात निर्यातको समेत प्रशस्त सम्भावना रहेको हुँदा रोजगारी सिर्जना तथा उद्यमशिलता विकासको समेत उत्तिकै सम्भावना रहेकोछ । यो नाकासंग जोडिएको भारतेली भूभाग पनि भारतको मध्येभागमा पर्ने भएकाले निकै तिव्र रुपले विकास विस्तार तथा विविधिकरण भईरहेकोले दुबै मुलुकको पकेट क्षेत्र भएकोले आयात निर्यात तथा पर्यटकीय चहलपहल पनि भविश्यमा अझै बढ्न सक्ने देखिन्छ ।

माथी उल्लेखित कालिगण्डकी कोरिडोर तथा मध्येपहाडी राजमार्ग अन्तरगत पर्ने गण्डिकी, लुम्बिनी तथा कर्णाली प्रदेशका जिल्लाहरुको भौगोलिक उचाई तथा जलवायु विविधतायुक्त कृषि, जडिबुटी, बन्यजन्य, खानीजन्य तराई मधेशमा नहुने बस्तुहरुको उत्पादन हुन्छ । हिमाली तथा पहाडी जिल्लामा रहेका ठूलाठूला नदिनालाहरुबाट प्रशस्त जलविद्युत उत्पादन गर्न सकिने सम्भावना छ । तराई र पहाडी हिमाली क्षेत्रको समग्र विकास गर्नको लागि एकअर्काको उपयोगी गराउने अवसरको लागि बुटवलदेखि जोर्तेसम्मको यो बाटो निर्माणले मूर्त रुप लिएमा कोरोना कालखण्ड, रुस युक्रेन युद्ध तथा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सरेपछि व्यापार व्यवसायमा आएको गिरावटलाई सुधार गरी निकै उचाईमा पुर्याउन सकिने छ । बुटवललाई आर्थिक राजधानी बनाउने तथा आसपासको क्षेत्रको समेत व्यवसायिक विकास गर्नको लागि यो सडक निर्माण अभियान एउटा कोशेढुंगा सावित हुनेछ । ऐतिहासिक पैदलबाटोलाई 3S -Short–Safe–Save_ शिद्धान्त अनुसार तीन लेनको द्रुत व्यवसायिक मार्ग निर्माण गर्न सकिन्छ ।

(लेखक बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा मोतिपुर औद्योगिक करिडोरका अभियन्ता हुन् ।)

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : ४६ बजे

नेपाल संवतको पहिलो दिन तिलोत्तमामा मोटरसाइकल र्याली

बुटवल । नेपाल सम्वत ११४५ को उपलक्ष्यमा रुपन्देहीको तिलोत्तमामा भिन्तुना

कार्तिक शुक्ल प्रतिपदा : गरियो गोवर्धन पूजा

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि,

देउसी भैलोमा मौलिकताको खोजी

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा

तिहार बिदा सकिए लगत्तै रवि लामिछानेलाई रुपन्देही झिकाइने

काठमाडौँ । तिहार सकिए लगत्तै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री

संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त