बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन आउन २ दिन बाँकी छँदा सभामुख तुलाराम घर्तीले निर्वाचन स्थगित गराएका छन् । विशेष कारण देखाउँदै सभामुख घर्तीको निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको छ ।
सभामुखको निर्देशन अनुसार निर्वाचन स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । यहि १७ पुसका लागि तोकिएको समितिका सभापतिको निर्वाचन निर्वाचनको मिति आउन २ दिन बाँकी छँदा स्थगित गरिएको हो ।
प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् ।
६ समितिमा लेखासहित सहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी भएको स्रोतको दाबी छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुंगो नलागेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया