३ मंसिर २०८१, सोमबार | November 18, 2024

तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा



धादिङ । धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षौैंदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् ।

धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यस वर्ष बुधबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन् ।

तेह्र सय वर्ष अगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गङ्गा र जमुनाको सम्झनामा हरेक वर्ष गङ्गाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ ।

गङ्गाजमुना गाउँपालिका–५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शिवाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ ।

एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनले गङ्गाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताए ।

गङ्गाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहेको छ ।

मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् । स्थानीय सिंहबहादुर तामाङ भन्छन्, “एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो वेशभूषा र पहिरनअनुसारको कला देखाउँछन् । बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् ।”

यो जात्रा धादिङको गङ्गाजमुना गाउँपालिकास्थित फूलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृष्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन साङ्गितिक कार्यक्रम आयोजना गर्दै आएको छ । लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।

हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गङ्गाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक भए पनि त्यस ठाउँसम्म पुग्न सडकको असुविधा छ । सडकको सुविधा हुन सके विकट स्थानमा रहेको गङ्गाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : १४ बजे

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

काठमाडौं । “हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन

रुपन्देहीमा हुने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका तय

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

नाम लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुरा, काम कारवाही सबै नेपालगन्जबाट

नेपालगन्ज । बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रदेश

सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ