नेपालगन्ज । यमपञ्चकको अन्तिम दिन आज भाइटीका । हिन्दु परम्परा अनुसार दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाएर भाइटीका मनाउने गर्दछन् । नेवार समुदायले भाइटीकालाई ‘किजापूजा’ भन्ने गर्दछन्। नेवार भाषामा ‘किजा’को अर्थ ‘भाइ’ हो। यो समुदायमा किजापूजा गर्नका लागि मन्दः (मण्डप) नभई हुन्न। आकर्षक स्वस्तिक चिन्ह सहितको मण्डप बनिसकेपछि यो समुदायमा किजापूजा सुरु हुन्छ।
किजापुजाका लागि बनाइने मण्डपमा पहिलो घेरा पानीबाट सुरु हुन्छ । प्रत्येक भाइहरुको एक एक मण्डप हुने भएपनि देवताका नाममा छुट्टै २ वटा मण्डप तयार गरिन्छ । आजभोलि सजिलोको लागि मण्डपको आकारमा प्वाल पारिएको कागज किन्न पाइन्छ। त्यही कागज भूँइमा राखेर माथिबाट सामाग्री छर्केर सजिलै मण्डप बनाउन पनि सकिन्छ।
गोलो पानीको घेरालाई आकार मानेर तेलबाट कोण बनाउनु पर्दछ । मण्डप यस्तै हुनुपर्छ भन्ने जरुरी छैन, फरक फरक आकारको हुनसक्छ तर त्यसमा राख्नुपर्ने सामानहरु भने छुटाउन नहुने प्रचलन छ । मण्डपमा पहेँलो र रातो रङको बढी प्रयोग हुन्छ । आकर्षक बनाउन अन्य रङ पनि प्रयोग गर्ने गरिन्छ । मण्डपको आकार अनुसार गोलाकारमा कोणहरु कोरेपछि बीचभागमा स्वस्तिक चिन्ह बनाई त्यसमा रङ भरिन्छ । मण्डपमा नराखी नहुने सामानहरु नेवार प्रचलनमा उल्लेख छ। म्हपूजामा बनाइने मण्डप र पूजाविधि लगभग मिल्छ । मण्डपमा अक्षता, लावा, कालो भटमास, मास र बिभिन्न फूलहरु राखिन्छ ।
तयार भएको मण्डपमाभित्र जजंका (डोरी), इताः (बत्ती) पनि राखिन्छ। देवताका लागि बनाएको मण्डपमा अमला, ओखर, धूप दिप नैवेध राखिन्छ । नेवार समुदायमा दिदीबहिनीले दाजुभाइको परिक्रमा गर्नु पर्दैन ।
मण्डपको अगाडि दाजुभाइहरु लहरै बसेपछि पूजा सुरु हुन्छ । पहिले सुकुन्दामा रहेको गणेशलाई पहेँलो टीका अनि रातो टीका, फूल चढाइन्छ। त्यसपछि मण्डपहरुमा। संयुक्त परिवारमा रहँदा थकालीले यसरी पूजा गर्छन्। थकाली अर्थात घरको मुलीले देवताको मण्डपमा पुजा गरेपछि दिदीबहिनीले पूजा गर्न सुरु गर्नु पर्दछ ।
किजापूजामा बत्तीलाई महत्त्वपूर्ण मानिन्छ। खेलु इताः (कपडा वा धागोबाट बनेको दियो) दिदीबहिनीले जलाएर दाजुभाइलाई दिएपछि यसलाई अक्षता र फूलले पूजा गरेर लिनुपर्छ। यसको सम्बन्ध जीवनसँग रहेको भनिन्छ। पूजा सकिएको संकेत स्वरुप दही र केरा मिसिएको सगुन नखाउन्जेल यसलाई निभ्न दिनु हुन्न भनिन्छ।
बत्ती जलाएर दिएपछि त्यसलाई मण्डपमा राखेर लामो समयसम्म बल्ने गरि फैलाइन्छ । त्यो संगै दिदीबहिनीले दाजुभाइलाई कपालमा पानी लगाइदिने, कानमा तेल लगाइदिने र बिभिन्न फूल, प्रसाद, ओखर, फलहरुको मिश्रण गरिएको फूलहरुले अभिषेक गरिन्छ, जस्लाई समुदायमा घ्वाल्ल गर्ने पनि भनिन्छ । यसरी घ्वाल्ल गर्दा सुरुमा कुम, दुबै खुट्टाको घुँडामा छुवाएर त्यसलाई ढोगेपछि घ्वाल्ल गर्नु पर्दछ । घ्वाल्ल गर्न घरको परम्परा देखि चल्दै आएको माना, पाथीको प्रयोग गरिन्छ । घ्वाल्ल गरेपछि दिदीबहिनीले तयार गरेको बिमिरो, सयपत्री फूलको माला, सुपारी फूलको माला, जजंका सहितको सगुन दाजुभाइलाई अर्पण गरिन्छ ।
त्यसपछि अक्षेताको टीका लगाइदिएर अण्डा, रक्सी, माछा र बारासहितको सगुन दिने चलन रहेको छ । पछिल्लो समय भने अन्य जातको सिको गर्दै नेवारहरु पनि सप्तरङ्गी टीका लगाइदिने चलन सुरु भएको छ । साथमा दिदीबहिनीहरुले मिठाइलगायत विभिन्न प्रसाद र फल दाजुभाइलाई दिन्छन् । दाजुभाइले पनि गच्छे अनुसारको उपहार र नगद दिन्छन्।
सगुन खाएलगत्तै सगुनमा पाएको बिमिरोले बलिरहेको बत्तीलाई निभाउँदै तीनपटक मण्डपमा गुडाइन्छ । तीनपटक बिमिरो र तीन पटक कुचोले बढारेपछि सोही स्थानमा बसेर तिहारको भोज (भोय) खानु पर्दछ ।
प्रतिक्रिया