३ माघ २०८१, बिहिबार | January 16, 2025

गुञ्जिन थाले तिहारका गीत


२२ कार्तिक २०८०, बुधबार  

208
Shares

काठमाडौं । उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।

चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्् । यादव खरेलले रचना गर्नुभएको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन् ।

‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन् । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिनुभएको छ । निर्देशक तुलसी घिमिरेले चलचित्रमा तिहारको गीत र प्रसङ्गलाई कथावस्तु अनुसार नै प्रस्तुत गरेका छन् ।

मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’ मा समावेश गरिएको ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको यस गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन् । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायत कलाकार प्रस्तुत भएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्ने गरेको छ ।

चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’ लगायतका गीतहरू तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् ।

नेपाली संस्कृतिलाई समेटेर बनाइएका यी गीतहरू अझैँसम्म लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार अर्जुन पोखरेलले बताए । “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो”, उनले भने, “गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीत बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहार मात्र नभइ दसैँ, होली लगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।”

पोखरेलले विषय र प्रसङ्ग मिलाउनुपर्ने, चाडपर्वमा मात्र गुञ्जिने, लागत खर्च बढी हुनेलगायत कारणले यस्ता गीत नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए । “पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर, सङ्ख्या निकै न्यून छ । पछिल्लो समय बनेका गीतसङ्गीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेका छैनन्”, उनले भने ।

पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको गायक तथा सङ्गीतकार कर्णराज गिरीले बताए । “नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन्छ । मेरो रोजाइमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन् । नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्”, उनले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ०१ बजे

कांग्रेस संसदीयदल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक

सुनको मुल्य तोलामा १२ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मुल्य बढेर कारोबार भएको

सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो

वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको

पुसमै पाक्यो ‘चैते काफल’

तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ ।

मुस्ताङको सीडीओको आवासगृहमा आगलागी हुँदा एक जना घाइते

म्याग्दी । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी