दशैं आँगनको डिलमा छ । हुनेखाने सबै बजारमा छन् । बजारमा किनमेल गर्नेको भीड छ । पुगिसरी आउनेहरू लत्ताकपडा, गरगहना र महंगा सरसामान र मुस्ताङे च्याङग्रा किन्ने होड छन् । नहुनेले पनि गच्छे अनुसार मरमसला केटाकेटीहरूलाई सडकका सस्ता कपडा किनेर कति गाँउ फर्कदै छन् कतिले सामान भित्राउदै छन् । हुनेखानेका लागि नौदशैं नहुनेका लागि शनिको दशा भनिन्छ । दशैं आउनुभन्दा एक दुई महिना पहिलेदेखि यो दशा गरीबको घरमा पसेर पिरलेको हुन्छ । बुढालाई साहुको उधारोले सताउछ, बुढीलाई भाञ्जाभाञ्जी ज्वाईँ चेला कसरी उम्काउने भन्ने चिन्ताले मन चुटुचुटु चिमोटेको हुन्छ । बुढीको इज्जत र बिहा गर्ने बेलाकी छोरीको वैश ढाक्न वावुलाई कटिन छ । राम्रो लाउन मीठो खान वर्षदिन कुरी बसेका भुराभुरीको रहर पुरा गर्न यो परिवारलाई फत्तेसार परेको छ ।
सिंहदरबारतिर दशैको चहलपहल सुरुभैसक्दा कर्मचारीका अनुहार उज्यालिन सुरु गर्छ । मन्त्री, सांसद र तिनका आसेपासेको फुर्ति पनि कम हुँदैन । तर, साँझ बिहान तिनीहरूकै वरिपरी माइक तेर्साएर प्रतिक्रिया माग्ने पत्रकारका अनुहार भने मलिन देखिन्छ ।
भुसाफेदाका जीतवीर तामाङले रक्सी पार्ने आरी र ताउलो बन्दकी राखेर पोहोरको दशैं मनाएको सम्झिन्छन् । पुरनधाराको सन्तवीरले लैनोभैंसी वेचेर परारको दशैं मनाएका हुन् । भल्कोटको सन्ते घर्तीले नौली बुहारीका नाक कानका गहना अडना राखेको तीन वर्ष नपुग्दै सहुले पचाइ दियो । ललीत लिम्बुले च्वाँचेको पाठा वेचेर गतवर्षको दशैं मनाएका थिए । डकर्मीको काम गरेर २,४ पैसा कामएर दशैं मनाउदै आएको हरिस चौधरीको छोरा विदेशीएको एक वर्ष पुग्न थाल्यो । चिठीपत्र केही छैन । मरे ज्युदाको अत्तोपत्तो छैन । दशैं मनाउने उपाए छैन ।
नेपाली समाजका यी र यस्तै दुःखीयाहरूको मनमा हाम्रो परम्परादेखि चल्दै आएका र मनाउनै पर्ने चाङहरूले कति सताएको होला ? “कान्छाको घरमा २० किलोको खसी आयो । त्यो भन्दा सानो त हुनुहुदैन है मैले भन्दिएकी छु ।” देउरानी जेठानी र छरछिमेकमा खसीको प्रतिस्पर्धा छ । दशैंमा खसी नढाल्नेको वेइजती र अपमान आजभोलि गाँउघरतिर पनि छिरेछ । छिमेकीको साह्रोगाह्रोमा रमाउने नेपाली समाजको मनोदशा गणतन्त्र आइसकेपछि पनि गएको छैन ।
कतिका भागमा आँशु छ, कतिका भागमा मासु छ । आँशु र मासुको संयोग दशैंको दशा भन्दा धेरैलाई चित्त दुख्ला तर नेपाली समाजको एक कटु सत्य यही हो । विपन्न नेपालीको घरमा दशैं सधैं दशाको प्रतीक बनिरहेको छ ।
सिंहदरबारतिर दशैको चहलपहल सुरुभैसक्दा कर्मचारीका अनुहार उज्यालिन सुरु गर्छ । मन्त्री, सांसद र तिनका आसेपासेको फुर्ति पनि कम हुँदैन । तर, साँझ बिहान तिनीहरूकै वरिपरी माइक तेर्साएर प्रतिक्रिया माग्ने पत्रकारका अनुहार भने मलिन देखिन्छ । भविष्यको खोजीमा शहर छिरेका विद्यार्थीहरू घर फर्किने खर्च र टिकटको चक्करमा भौंतारिन्छन् बागबजार र पुतली सडक, नयाँ बसपार्कतिर ।
एउटा युवक, भविष्यको आशा र भरोसा, युगको निर्माताको अनुहारमा पलायन, विचलन र अव्यक्त पीडाका सयौं रेखाचित्रहरू कोरिएको देखेर मन खिन्न हुन्छ । केही पत्रकार ठोकिन आए अगाडि । “दशैंमा घर जानेहोला नी” भनेर सोधेंँ । “खोइ दाई आठ महिना भयो तलव नपाएको एक दुई महिनाको तलब दशैं भनेर हालिलिए भने पनि उधारो खाएको तिर्न पुग्दैन । बाटो खर्च के बनाउनु । घरमा छोरोले ल्याँउला र काम चलाउला भनेर बा आमा बाटो हरेरेका होलान के गर्ने के नगर्ने भयौ हामी त” भन्दै आफ्नै प्रकारको दुख प्रकट गरे । जमजम चाड आउदै छन् । मानिसलाई आआफ्ना समस्याले लखेटी रहेको छ । दशैंले लखेटिरहेको छ ।
घर पुगें । चिया पिएर बाहिर बसें । आडैमा घर बनाउँदै गरेका मजदुर भेटिए । ‘दशैंमा घर जाने होलानी, कहिले हो ?’ भन्दै सोधें । उदयपुरतिरका मजदुरले ६ महिनादेखि व्यवसायिक उद्देश्यको लागि बनाउँदै गरेको घरमा काम गर्दै आएकोले मेरा हिमचिम बढेकै छ । उदासिन अनुहास बनाउँदै ‘ठेकेदारले पैसा दिएन हजुर, हाम्रो त बिल्लिबाँठ हुनेभयो, आज भोलि भनेर झुलाएको छ । बिहान ६ बजेदेखि बालुवा र इटा बोक्ने यी बहिनीलाई हामीले बोलाएको, यिनलाई मात्रै बिदा दिन पाए पनि हुनेथियो’ भन्दै दुःख पोखे । वरपर सबैको दिल छाम्छु । सबैको मनमा सधैं लोडसेडिङ छ । हुने खानेले घरमा झिलिमिलि बनाएका छन् । मजदुर किसानको दिलमा दशैंको दियो बल्न सकेको छैन । उतिबेलाको शासकले थोपरेको दशैं, परम्परा बन्दै प्रत्येक नेपालीको आँगनमा नाचेको छ । कतिका भागमा आँशु छ, कतिका भागमा मासु छ । आँशु र मासुको संयोग दशैंको दशा भन्दा धेरैलाई चित्त दुख्ला तर नेपाली समाजको एक कटु सत्य यही हो । विपन्न नेपालीको घरमा दशैं सधैं दशाको प्रतीक बनिरहेको छ ।
दशैंमा देवीको पूजा गरिन्छ । महिलालाई शक्तिको रूपमा स्वीकार गरेर पूजा आराधना गर्ने चाडमध्य दशैं एक महत्वपूर्ण चाड हो । महिसासुर राक्षस धेरै शक्तिशाली भयो । उसले धेरै अन्याय अत्याचार ग¥यो । दावन र देवताहरूका बीचको लडाईंमा दानव बलशाली भए । अन्याय र अत्याचारको विगविग भयो । न्यायाको रक्षाका लागि पुरुषजातिको नेतृत्वमा भएका लडाईंमा सधैं पराजय भोग्दै आएका देवताले तपस्या गरे । महिलाको नेतृत्व स्वीकार गर्न बाध्य भए । देवीको पूजा अर्चना गरे । खुशी पारे । नारीलाई नेतृत्व दिन तयार भए । आखिर नारीको नेतृत्वमा भएको लडाईंले विजय प्राप्त ग¥यो । पौराणिककालदेखि दशैंलाई विजयको प्रतीक नारी नेतृत्वको इज्जत सम्मा र धर्मयुद्धमा प्रयोग भएका हतियारको पूजा अर्चना गर्दै दशैंलाई मनाने चलन चल्यो भनिन्छ ।
दशैं युद्धको प्रतीको हो । अन्यायका विरुद्ध हतियार उठाउनु पर्छ भन्ने सन्देश दशैंले दिन्छ । ‘नस्त्री स्वातन्त्र मर्हती’ महिला स्वतन्त्र छैनन् भन्ने हिन्दु नीति वाक्यलाई दशैंले खण्डन गर्छ । ‘नदिनाम् शस्त्र पाणिनाम्, नखिनाम् श्रृङ्गिणाम्’ तथा ‘विश्वासो नैवकर्तव्यम् स्त्रीसुराज कुलेसुच’ भन्ने नीति वाक्य अर्थात, नदी, हतियारधारी, दाह्रानङ्ग्रा र सिंग हुने राजकुल र महिलाको विश्वास गर्नु हुँदैन भनेर पितृसत्तालाई बलियो बनाउँदै र एलौटी शासनसत्ता कायम गर्दै आएको हिन्दु वर्णाश्रम व्यवस्थालाई दशैले खण्डन गर्दछ । सत्य र न्यायको रक्षा गर्ने एकमात्र शक्ति नारी जातिमा छ । नारीका नौं अवतार छन् । नौ दिनसम्म सबै अवतारको एकएक गरेर रक्षा गर्नुपर्छ भन्ने सन्देश दशैलेदिन्छ ।
महाभारतको युद्ध द्रौपदीको इज्जत रक्षाका लागि भएको थियो । रामायणको युद्ध सीताको वापसी र जीवन रक्षाका लागि भएको थियो । पौराणिककालका जनुसुकै युद्धमा यो वा त्यो रूपमा नारीको उपस्थिति अनिवार्य भएको छ । दशैं नारीको सम्मानको प्रतीक हो । नारी सम्मानको पौराणिक र ऐतिहासिक बिम्बलाई विकृत पारिएको छ ।
दशैं दशा मात्रै होइन । गच्छेअनुसार मनाएर शक्ति आर्जन गर्ने चाड पनि हो । नारी जातिलाई सम्मान गर्ने चाड हो । महिला हिंसा विरुद्ध विद्रोहमा उत्रन शक्ति सञ्चय गर्ने चाड हो ।
कोटकोटका मौलाहरूमा, हतियारका भण्डारहरूमा फूल जमरा अक्षताले नौ दिन सम्म पूजा गरिन्छ, वली चढाइन्छ । दशौ दिन प्रसादको रूपमा टीका र प्रसाद ग्रहण गर्ने चलन छ । न्याय र सत्यका लागि नारीलाई सम्मान र अन्याय अत्याचारका विरुद्ध लडाईं गर्न हतियारको सरसफाई भण्डार र रक्षा गर्नुपर्छ भन्ने सन्देश पनि हो ।
सबै नारी आमा हुन् पूजनीय छन् । समाजको सबभन्दा उत्पीडित वर्ग पनि आमा नै हुन् । त्यसको मुक्ति अनिवार्य छ । विश्वका शोषित उत्पीडित जनता देवता हुन् । विश्वभरी नै देवता माथि दानवले राज गरेका छन् । सबै जात, जाति, वर्ग क्षेत्रमा नारीको नेतृत्व आगडि आउनुपर्ने आवश्यकता छ । नारी नेतृत्वलाई स्वीकार गर्न र स्थापित गर्न विजया दशमीले निर्देशित गर्दछ । त्यसैले दशैंलाई तडकभडक खानपिन र मोजमजा गर्ने चाड मत्र नभै नारी मुक्ति र विजयको प्रतीकको रूपमा स्थापित गर्दै लानु पर्छ । त्यसको मूल मर्म तोडमोड गर्ने हिन्दु संस्कार र सभ्यताको अन्त गर्दै आगामी धर्मयुद्धको नेतृत्व नारी जातिलाई दिने प्रण गर्न के दशैंले प्रेरित गर्दैन ?
दशैं दशा मात्रै होइन । गच्छेअनुसार मनाएर शक्ति आर्जन गर्ने चाड पनि हो । नारी जातिलाई सम्मान गर्ने चाड हो । महिला हिंसा विरुद्ध विद्रोहमा उत्रन शक्ति सञ्चय गर्ने चाड हो । अन्यायका विरुद्ध संघर्ष गर्ने, उत्पीडनका विरुद्ध विद्रोह गर्ने उत्प्रेरित गर्ने चाडका रूपमा दशैंलाई लिनुपर्छ । महिला नेतृत्वको स्थापना परिवर्तनका लागि अनिवार्य छ भन्ने शुभ सन्देश दशैंले दिएको बिर्सन हुँदैन ।
आफूसित जे जति छ त्यसमा रमाउन सिकौं । अस्वस्थ्य प्रतिस्पर्धा ढोंग र पाखण्डलाई छाडौं र सबै मिलिजुली दशैं मनाउँ । दशैंलाई विकृत नपारौं । ऋण काढेर दशैं मनाउने संस्कार संस्कृतिको अन्त गरौं । आमाको सम्मान गरौं । दशैको यही शुभकामना ।
प्रतिक्रिया