बुटवल । कोही पनि व्यक्ति कि त यस धर्तीमा अद्भुत क्षमता लिएर जन्मेको हुन्छ र ऊ त्यही अलौकिक प्रतिभाका कारण महान बन्न सक्दछ कि त जीवनमा कैयौं हण्डर र ठक्कर खान्छ अनि त्यही अनुभवले उसलाई महान बनाउँछ । यी दुवैको संयोग कमैमा मात्र हुन्छ तर यी दुवै कुराको मेल खान गएको थियो रामबोला अर्थात् राम तुलसीदासजीमा ।
आजभन्दा पाँच सय वर्ष अगाडि वि. सं १५६८ सालमा भारतको उत्तर प्रदेशमा जन्मेका थिए तुलसीदास । उनको पिताको नाम आत्मराम दुबे र माताको नाम हुलसी दुबे थियो । सामान्यतया गर्भमा रहेको ९/१० महिनामा शिशुको जन्म हुन्छ तर अचम्म तुलसीदास १२ महिनामा जन्मेका थिए र जन्मदा सामान्य शिशुभन्दा निकै ठूलो शरीर थियो र कपाल पनि भुत्लुक्कै पलाएको अनि यसो हेर्दा त १२ वटा दाँत पनि उम्रेका थिए । उनी जन्मने बित्तिकै अरू बच्चा जस्तो रुँदा पनि रोएनन् बरू राम भन्ने शब्द उच्चारण गरेका थिए जसले गर्दा यिनको नाम नै रामबोला राखियो ।
जन्मदा घडी पला पनि अभुक्त मूल नक्षत्र थियो । जन्मदै दाँत र कपाल उम्रेका र फेरि अभुक्त मूल नक्षत्र समेत परेको देख्दा घरमा अनिष्ट हुन्छ भन्ने डरले उनलाई जन्मना साथ चुनिया नामकी दासीका साथ मावल पठाइयो । दुर्भाग्यवश केही दिनपछि आमाको मृत्यु भयो ,अनि केही वर्षपछी पिताको पनि मृत्यु भयो र हुँदाहुँदै उनी ५ वर्षका हुँदा स्याहार सुसार गर्ने दासी चुनियाको पनि मृत्यु भयो । उनको बाल्यकाल अत्यन्तै पीडामा बित्यो ।
पाँच छ वर्षको उमेरमा गाउँगाउँमा उनी माग्दै हिंड्न थाले र जसले जे दिन्छ त्यही खाँदै निर्वाह गर्न थाले । दैवसंयोग धर्मगुरू नरहरिदासले उनको त्यो अवस्था देखेर आश्रममा राखेर पढाउन थाले । उनी तीक्ष्ण बुद्धिका थिए । थोरै समयमा गहिरो अध्ययन गरे । उनको अध्ययन क्षमता देखेर गुरूहरू दङ्ग पर्नु हुन्थ्यो । वयस्क भएपछि रामबोला अर्थात् तुलसीदासले रत्नावली नामकी कन्यासँग विवाह गरे । जब विवाह गरेथे तब ती रामबोला यति स्त्रीलम्पट भएकी श्रीमती बिना बस्नै नसक्ने भए । एकछिन पनि छुट्टिन सक्दैनथे । यताउता , छरछिमेक ,इष्टमित्र ,माइत ससुराल जहाँ जाँदा पनि रामबोला सँगै हुन्थे । एकदिन सुटुक्क भागेर श्रीमती माइत गइन् । साँझसम्म श्रीमती नआइसकेपछि पक्कै माइत गइन् भन्ठानेर उनी ससुराल गए ,जाँदा ढोका लगाइसकेको थियो । उनीलाई श्रीमती माइत जाँदा सुत्ने ठाउँ थाहा थियो । घरको छेउपट्टिबाट माथिल्लो तला जहाँ श्रीमती सुत्दथिन् ,त्यही चढ्न थाले । अलि माथि जाँदा रसी जस्तो मानेर समाउन खोज्दा सर्प रहेछ ,एक्कासी उनी तल भुइँमा बजारिन पुगे । के हो भनेर घरकाले थाहा पाएर तल झर्दा रामबोला । सासुससुराले ज्वाइँको चाला देखेर निको मानेनन् अनि श्रीमती रत्नावलीलाई केही लाज पनि लाग्यो अनि श्रीमानको त्यो अवस्था देखेर रिस पनि उठ्यो अनि श्रीमतीबिना एकदिन पनि बस्न नसक्ने भनेर नराम्रोसँग हकारिन् । त्यतिबेला रत्नावलीले जुन तनमन सहित तपाईं मसँग मोहित हुनु भएको छ ,यस्तै मोह भगवानमा भए तपाइँको जीवन सार्थक हुनेथियो र मोक्ष प्राप्त हुनेथियो भनिन् ।
झण्डै झण्डै ज्यान नै खतरामा राखेर यसरी श्रीमती समक्ष आफू आउँदा ससुरालीले गरेको उपेक्षा र श्रीमतीले देखाएको कर्कश र घृणित व्यवहारबाट उनमा चेत पस्यो अनि साँच्चिकै उनी आफ्नो सम्पूर्ण शक्ति ध्यान र ज्ञानमा लगाए । रामनाममा लीन भए । भनिन्छ ,उनको भक्तिद्वारा प्रभावित भइ स्वयं हनुमान नै आएर दर्शन दिएको र पछि हनुमानको सहयोगमा साक्षात् रामचन्द्र भगवानले नै दर्शन दिनुभएको र सोही समयमा रामचरितमानस रचना गर्ने सत्प्रेरणा प्राप्त भएको प्रसंग स्वयं रामबोलाले लेखेका छन् । रामबोला गाईको रक्षक भएकाले गोस्वामीका नाममा परिचित भए पछि उनलाई तुलसीकृत रामायण रचना गरेका कारण तुलसीदास भनिन थालियो । उनका संस्कृतका काव्य निकै भाष्य भएकाले एकदिन भगवान शिवजीले नै अवधी र हिन्दी भाषामा सरल तरिकाले कृति रचना गर्न दीक्षा दिनु भएको र सोही अनुरूप रामचरितमानस र हनुमान चालिसा रचना गरेको प्रसङ्ग पनि उनकै भाषामा भेटिन्छ । वास्तवमा आज पनि उनले रचना गरेका जति पनि कृति छन् ती सबै हिन्दी र अवधीभाषीका मुखमुखमा झुण्डिएका छन् । हनुमान चालिसा नपढेको व्यक्ति शायद कमै होलान् , यिनका थुप्रै रचना अंग्रेजी लगायत अनेकौं भाषामा अनुवाद भएका छन् । दोहावली,विनय पत्रिका, कवितावली,वैराग्य संदीपनी,पार्वती मंगल,जानकी मंगल,साहित्य रत्न या रत्न रामायण , कृष्ण गीतावली या कृष्णावली,रामलिला नहछू,बरवै रामायण ,रामाज्ञ प्रश्न,शंकटमोचन हनुमानाष्टक,हनुमान बाहुक,तुलसी सतसई लगायत थुप्रै उनका कृति लोकप्रिय छन् । भारतमा उनलाई रामायण रचना गर्ने महर्षि वाल्मीकिको दोस्रो अवतारका रूपमा सम्मान गरेको पाइन्छ ।
तुलसीदास कुनै अर्को युगका नभइ यही कलि युगका र त्यसैमा पनि ५०० वर्ष अगाडिका कवि हुन् , उनी समाज सुधारक हुन् । जीवनमा थोरै हण्डर ठक्कर खाएपछिको चेतनालाई ठिक ठाउँमा सदुपयोग गरियो भने जस्तै मानिस पनि महान बन्न सक्छ भन्ने उदाहरण हुन् । आशक्ति त हुनुपर्छ तर के मा रु भन्ने कुरा मुख्य हो । उनी शुरूमा स्त्री आशक्त थिए , पछि भगवान आशक्त । पहिला पत्नी प्रेम पछि भगवत् प्रेम । पतिपत्नी बिचको प्रेमले क्षणिक समय शारीरिक आनन्द होला तर भक्त र भगवान बिचको प्रेमले अनन्त आत्मिक सुख प्राप्त हुने कुराको आजका दृष्टान्त हुन् तुलसीदास । विक्रम संवत् १५६८ साल श्रावण शुक्ल पक्षको सप्तमी अर्थात् आजैका दिन तुलसीदासको जन्म भएको थियो र वि.सं १६८० मा ब्रह्मलीन भएका थिए । तुलसीदासको जस्तो भगावानप्रतिको अगाध र अमर प्रेम सबैमा जागृत हुन सकोस् । जय तुलसीदास जयन्ती ।
प्रतिक्रिया