१३ आश्विन २०८१, आइतबार | September 29, 2024

मुस्ताङको यातायात सम्पर्कविच्छेद



म्याग्दी । मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौं जोड्ने सडक सम्बन्ध टुटेको हो ।

प्रतिकूल मौसमका कारण जोमसोम-पोखरा हवाई उडान पनि बन्द भएको छ । मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी-जोमसोम सडक म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बन्दछ ।

जोमसोमदेखि थासाङ गाउँपालिकालाई जोड्ने सडक मार्फाखोलामा आउने बाढीका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ । घरपझोङ गाउँपालिका-४ जोमसोममा कालीगण्डकीले कटान गरेर सडक भत्काएपछि जोमसोम-कागबेनी-मुक्तिनाथ सडक मङ्गलबार बिहानदेखि बन्द भएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको मोटरेबल र झोलुङ्गे पुल आइतबार राति कागखोलामा आएको बाढीले बगाएको थियो । मोटरेबल र झोलुङ्गे पुल बाढीले बगाएपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको साथै बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, ताङ्वे गाउँसँग सडक सम्पर्कविच्छेद भएको हो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले चैलेमा कालीगण्डकी नदीको मोटरेबल पुलको पहुँचमार्ग बगाएको र चराङखोलाको काठको अस्थायी पुल बाढीले भत्काउँदा यातायात सम्पर्कविच्छेद भएको बताए ।

“कागबेनी, छुसाङ र चराङखोलामा बाढीले सडक, पुल बगाएको र भत्काएको हुँदा उपल्लो मुस्ताङ आउने-जाने बाटो बन्द भएको छ”, उनले भने, “वर्षा रोकिएर बाढी आउन छाडेपछि सडक मर्मत र पुल बगाएको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालनको पहल गरेका छौँ ।”

सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक प्रभावित भएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य सामान र निर्माण सामग्रीको ढुवानी हुन सकेको छैन । बाढी प्रभावित कागबेनीमा खानेपानी अभाव र विद्युत् आपूर्ति बन्द भएको छ । बाढीले विद्युत्का पोल र खानेपानीको पाइप बगाएको थियो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष रिनजिन गुरुङले खानेपानी र विद्युत् आपूर्ति सञ्चालन गराउन पहल भइरहेको बताए ।

“क्षतिको मुचुल्का तयार पार्ने कार्यलाई पूर्णता दिएर आजदेखि बस्तीभित्र पसेको बाढी पन्छाउने, खानेपानी र विद्युत् मर्मत गर्ने केन्द्रित भएका छौँ”, उनले भने, “बाढी प्रभावितको राहत, व्यवस्थापन र पुनःनिर्माणको काम एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाएका छौँ ।”

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ११ बजे

एमालेको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ

उपमहानगरको अनुगमनलाई टेर्दैनन् बुटवलका मासु व्यवसायी, अझै पनि खुलेयाम बेच्छन खसीको भन्दै बाख्रीको मासु

बुटवल । चाडपर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरले बजार अनुगमनलाई तिब्र

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन

काभ्रेपलाञ्चोक । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष प्रच्ण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी

मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

काठमाडौँ । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ