१० पुस २०८१, बुधबार | December 25, 2024

झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण



झापा । उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कट्ठादेखि दुई सय ५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै आइरहेको उनको भनाइ छ ।

उनले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताए । जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यावसायिक खेती भइरहेको छ ।

यहाँका किसानले सुरुमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा किसानले जी-नाइन जातका केरा लगाउन थालेका छन् ।

गणपति एग्रीकल्चर कृषि फार्मले भद्रपुर नगरपालिका-४ र गौरीगञ्ज गाउँपालिका-५ मा गरी ४१ बिघा जमिनमा जी-नाइन जातको व्यावसायिक केरा खेती सुरु गरेको छ । भद्रपुरमा भद्रपुर गौशालाको १६ र गौरीगञ्जमा स्थानीय किसानको ५७ बिघा जमिन भाडामा लिएर फार्मले रु दुई करोडको लागतमा केरा खेती सुरु गरेको जनाएको छ ।

फार्मका अध्यक्ष वासुदेव उप्रेतीले सुरुमा वीरगञ्ज र अहिले बुद्धशान्ति गाउँपालिकाको खुदुनाबारी, गौरादह नगरपालिकाको नर्सरीबाट टिष्यु कल्चरद्वारा उत्पादित केराको बिरुवा ल्याएर रोपण गरिएको बताए ।

उनले प्रतिगोटा रु ३० का दरले खरिद गरी भद्रपुरमा ३० हजार र गौरीगञ्जमा ४० हजार जी-नाइन जातका केराको बिरुवा लगाएको बताए । नौ महिनाअघि भद्रपुरमा १६ बिघा जमिनमा लगाएको बिरुवाको प्रत्येक बोटमा केरा पसाएको छ । उहाँले सो केरा दसैँ तिहारमा निकाल्ने तयारी रहेको बताए ।

स्थानीय गौशालाबाट गोबर मल खरिद गरेर केरामा हाल्दै आएको बताए । उनले भने, “हामीले ८० प्रतिशत प्राङ्गारिक मलको प्रयोग गरेका छौँ । बीस प्रतिशत मात्र युरिया, डिएपी र पोटास मलको प्रयोग गर्छौं ।” पाँच जना युवा मिलेर केराको व्यावसायिक खेती गर्दै आएको उनले बताए । उनले गौरीगञ्जमा दुई महिना अघि मात्र २५ बिघा जमिनमा ४० हजार विरुवा रोपण गरेको बताउनुभयो । उहाँले बाँकी रहेको ३२ बिघा जमिनमै केराको व्यवासायिक खेती गरिने बताए ।

“केरा खेतीमा व्यावसायिक ज्ञान र दक्ष प्राविधिक नहुँदा समस्या हुँदोरहेछ”, उनले भने, “विज्ञलाई सोध्दै र अन्य किसानसँगको अनुभवको आधारमा खेती गरिरहेका छौँ ।” उन्नत प्रजातिको केरा भएका कारण बजारीकरणमा समस्या नहोला भन्ने आशा रहेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवाकोटीले झन्झटिलो र खर्चिलो धान खेतीको विकल्पको रुपमा किसानले केराको खेती लगाउन थालेको बताए । उनले ज्ञान केन्द्रले हाल जिल्लामा दुईवटा केराको ब्लक सञ्चालन गरिरहेको बताए ।

यसैगरी, जिल्लामै पहिलोपटक रातो केराको खेती गर्दै आएका झापा गाउँपालिका चन्द्रप्रसाद बस्नेतलाई रु एक लाख राशिको पुरस्कारबाट हालै सम्मान गरिएको छ । बस्नेतलाई नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी पुस्कृत गरेको हो ।

बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानित भएका हुन । इजरायलबाट फर्केर विगत चार वर्ष अघिदेखि उनले २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी-नाइन र रातो केराको खेती गर्दै आएका छन ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ४४ बजे

कर्णाली विकास बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

नेपालगन्ज । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

नेपालगन्ज । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका

पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री सारु

बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको