२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड



गैंडाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् ।

नवलपरासीको गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।

उनले भने, “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिनसक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।” आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताए । उनले भने, “त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो ।”

सङ्घीय सरकारका तर्फबाट निजी क्षेत्रमा परेको अफ्ठ्यारोलाई सहज गर्न धेरै मेहनत गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिणाम न निस्किँदासम्म आफूले धेरै कुरा भन्न नमिल्ने बताए । “मलाई विश्वास छ परिणाम निस्कन्छ, हामीले जनतामा निरासा बाँड्ने काम रोक्नु पर्छ ”, उनले भने ।

विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उनले बताए । पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उनले अझ बढाउने तयारीमा सरकार रहेको बताए । उनले भने, “राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रदक छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ ।”

बैंक ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उनले यही महिनाको अन्त्यसम्म अझै घट्ने विश्वास व्यक्त गरे । “गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौती पूर्णहुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईहरुको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ”, प्रधानमन्त्रीले भने ।

नेपाल अहिले पनि आर्थिक दबाबमा रहेको जनाउँदै उनले क्रमिक सुधार आउने र लय समात्ने विश्वास आफूले लिएको बताए । अप्ठ्यारो परिस्थितिमा नै जोखिम उठाएर विकास परियोजनालाई अघि बढाउने आँट केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकालले गरेको भन्दै उनले सातै प्रदेशमा एउटा–एउटा पर्यटकीय क्षेत्रमा केबलकार पु-याउने उनको योजनाको प्रशंसा गरे । मौलाकालिका मन्दिर एउटा धार्मिक सांस्कृतिक र ऐतिहासिकस्थल भएको भन्दै प्रधानमन्त्री दाहालले तीन जिल्लाको सङ्गमका रुपमा रहेकाले देवघाट, नारायणी नदी यसको प्रभाव र योगदान सबैतिर फैलने बताए ।

उनले धार्मिक, संस्कृति पर्यटन प्रवद्र्धनका दृष्टिकोणले र ऐतिहासिक सांस्कृतिक सम्पदालाई जनताको आवश्यकतासँग जनताको जीवन र सम्बृद्धिको आकक्षासँग जोड्ने परियोजनाका रुपमा यसलाई आफूले लिएको बताए। यी परियोजना निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको राम्रो उदाहारण भएको उनले बताए ।

मौलाकालीकाको ऐतिहासिक र धार्मिक महत्वको चर्चा गर्दै उनले भने“आज केबलकारको उद्घाटन गर्दैगर्दा यो क्षेत्र देशभरिका लागि एक पटक जाउँ जाउँ भन्ने क्षेत्र हुनपुग्यो, यो कार्यक्रम सुनिराख्नुभएका र हेरी राख्नुभएका दाजुभाइ दिदीबहिनी एक चोटी मौलाकालिका जानै पर्छ ।” यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । चितवनतर्फ मात्र नभएर नवलपरासीतर्फ पनि नारायणी नदीको तटीय क्षेत्रमा तटबन्धनको गृहकार्य अघि बढेको उहाँले जानकारी दिए ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बताए । “यो अत्यन्तै पुरानो धार्मिकस्थल हो”, उनले भन, “यहाँका जनताले यस मन्दिरको उत्खनन गरेर भव्य मन्दिर बनाएपछि यहाँको धार्मिक महत्व बढेर अहिले देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।” मौलाकालिका मन्दिरमा शक्तिप्रति आस्था राख्ने बढ्दै गएको अवस्थामा यहाँ निर्माण गरिएको केबलकारले पर्यटकको थप वृद्धिमा टेवा पु¥याउने उनले बताए ।

नेपाली कांग्रेसका नेता एवं नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रतिनिधिसभा सदस्य प्रा डा शशाङ्क कोइरालाले यस जिल्लाको नाम नवलपुर नामकरण हुनुपर्ने बताए । “देश सङ्घीयतामा गएको छ वर्ष भइसकेको छ, यस जिल्लाको नाम अझै नामकरण हुनसकेको छैन”, प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै कोइरालाले भने, “यस जिल्लाको नामकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामाकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू ।” भारतसँग नाका जोडिएको गण्डकी प्रदेशकै एकमात्रै भन्सार त्रिवणी भन्सार पनि यहीँ पर्ने जनाउँदै उनले यसको समेत स्तरोन्नति गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलमैदानका लागि जग्गा प्राप्ति भइसकेको र त्यसका लागि बजेट पार्नुपर्ने उनले बताए । त्यसैगरी बुटवलदेखि नारायणगढसम्मको दूरीमा तीव्र गतिमा सवारीसाधन गुड्ने र यस क्षेत्रमा ट्रमा सेन्टर नभएकाले चाँडो ट्रमा सेन्टर निर्माण गर्नुपर्नेमा कोइरालाले जोड दिए ।

स्थानीयको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा सञ्चालनमा आएको केबलकारको लागत करिब रु दुई अर्ब रहेको केबलकारका अध्यक्ष ढकालले बताए।

यही वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आइसकेको जनाउँदै उनले केबलकारको अपर स्टेशनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताए । उनले आगामी छ महिनाभित्र ६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने जनाउँदै केबलकार र होटलमा गरी करिब दुई सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका समेत अध्यक्ष रहेका ढकालले नवलपुरमा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्पदालाई सबै नेपाली समक्ष पु-याउन सघाउने गरी केबलकार सञ्चालनमा ल्याएको दाबी गरे ।

उनले नेपालका सातवटै प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालनका लागि आइएमइ समूहले प्रक्रिया अगाडि बढाइसकेको बताए। “बुटवलमा केबलकार निर्माण अन्तिम चरणमा छ, हामीले पाथीभरादेखि सुदूरपश्चिमसम्म केबलकार सञ्चालन गर्ने प्रक्रिया अघि बढाएका छौँ”, उनले भने, “पर्यटकीय गतिविधि सञ्चालन गर्दै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने हाम्रो योजना हो ।”

मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालीका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण गरिएको छ । केबलकारको एकतर्फी लम्बाइ एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ४६ बजे

रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि

नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम

आईसीसी यू–१९ महिला टी–२० : कुवेतमाथि नेपालको विजयी

नेपालगन्ज । युएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका : इरान

तेहरान । इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति

व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै

रामेछाप । वर्षमा दुई पटक फल दिने र खेती गर्न