१९ पुस २०८१, शुक्रबार | January 3, 2025

सुधार मार्गमा अर्थतन्त्र : महँगी ७ प्रतिशतले बढ्यो



काठमाडौं । सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार विदेशी मुद्राको सञ्चितिमा साउनदेखि पुससम्ममा आर्थिक स्थिति सबल देखिएको हो । यद्यपि, यो अवधिमा ७ दशमलव २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुससम्ममा विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष विदेशी मुद्राको सञ्चिति लगातार घटेपछि देश श्रीलंकाको जस्तै जोखिममा पर्न सक्ने चिन्ता प्रकट गर्न थालिएकोमा अहिले भने सरकारसँग ९ महिनालाई आयात धान्न पुग्नेगरी विदेशी मुद्रा सञ्चय भएको छ । केन्द्रीय बैंकले ७ महिनालाई पुग्नेगरी विदेशी मुद्रा सञ्चय गर्ने मौद्रिक नीति बनाएको थियो ।

विदेशी मुद्रा सञ्चिती १० अर्ब ३० करोड अमेरिकी डलर पुग्यो

विदेशबाट आयात हुने वस्तुको परिमाण घटेको तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रेमिटेन्सको आप्रवाहमा सुधार भएकाले विदेशी मुद्राको सञ्चिति बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतले घटेको छ । यसले गर्दा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा आयात ५१.१ प्रतिशतले बढेको थियो । पुससम्म नेपालले ७ खर्ब ९२ अर्ब ६७ करोड मूल्यको वस्तु आयात गरेको छ । यो अवधिमा नेपालले ८० अर्ब ८१ करोडको निर्यात गरेको छ । निर्यात गत वर्षको तुलनामा एकतिहाइले खुम्चिएको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब ८६ करोड छ । यो गत वर्षको तुलनामा १९.२ प्रतिशत कम हो ।

आयातमा संकुचन र रेमिट्यान्स आप्रवाह बढेपछि शोधानान्तर स्थिति ९७ अर्ब १० करोड बचतमा आएको छ । गत वर्षको यही अवधिमा २ खर्ब ४१ अर्बले घाटामा थियो । मुलुकबाट विदेशी मुद्रा बाहिरिनेभन्दा भित्रिने बढेपछि शोधनान्तर स्थिति बचतमा आउने गर्छ ।

पुससम्म रेमिटेन्सको आप्रवाह १३.९ प्रतिशतले (डलरमा) बढेर ४ अर्ब ५० करोड पुगेको छ । गत वर्षको यही अवधिमा रेमिटेन्स ५.७ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड र अमेरिकी डलरमा १० अर्ब ३० करोड रहेको छ । विदेशी विनिमय सञ्चितिको आधारमा १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । ६ महिनामा संघीय सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३५ करोड र राजस्व परिचालन ४ खर्ब ५८ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।

सोमबार सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीयस्थितिको तथ्यांकमा केन्द्रीय बैंकले मुद्रास्फिति ७.२६ प्रतिशतले बढेको जानकारी दिएको हो ।

गतवर्षको यही अवधिमा बजार महँगी ५.६५ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फिति ५.६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति ८.५७ प्रतिशत रहेको छ ।

त्यस्तै, खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत पुगेको छ ।

दुग्धपदार्थ तथा अन्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकांक १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत रहेको छ । विविध वस्तु तथा सेवाको महँगी ८.६८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.३३ प्रतिशतले बढेको छ ।

काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फिति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फिति रहेको थियो । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ५१ बजे

गाउँभरि केराखेती, बजारको अभाव

म्याग्दी । एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

बझाङ । मष्टा गाउँपालिका-१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना

भारत । भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा