नेपालको बर्तमान अर्थतन्त्रको परिदृश्य पक्कै पनि अपेक्षा गरे अनुरुप छैन । आयात बढ्दो छ, विदेशी मुद्राको सञ्चितीमा दबाब श्रृजना भएको छ, उत्पादनशील जनशक्तिलाई श्रमिकको रुपमा निर्यात गरेर विदेशी मुद्राको आर्जन गरिरहेको अवस्था छ, आन्तरिक उत्पादनको अवस्था कमजोर रहेको छ, राजश्वले बल्लतल्ल चालु खर्च मात्र धानिरहेको छ, पुँजीगत खर्चको लागि बिदेशी ऋणमा निर्भर रहेको छ र आन्तरिक उत्पादनले राजश्वलाई अपेक्षित भरथेग गर्न सकिरहेको छैन । जिविकोपार्जनमुखी कृषक र सिमित उद्योगपतिहरुले मात्र देशको अर्थतन्त्रलाई भरथेग गर्न मुस्किल परेको छ । संचालनमा रहेका उद्योगहरुले समेत विदेशी वस्तुहरुसँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्था छ ।
यही बिचमा उद्योगी व्यवसायीहरु आफ्नो उत्पादन र कारोबार घट्दै गएको र बैंक व्याजदर बढ्दै गएकोले उद्योग व्यवसाय धरासायी हुने पिरले आन्दोलित छन् । उता उद्योग व्यवसाय नगर्ने तथा पर्याप्त धितो नभएकाहरु समेत आफ्नो लागि वित्तीय पहुँचको सहारा बनेको लघुवित्त संस्थाको थेग्न नसक्ने अत्याधिक ऋण भारको चपेटामा परेको गुनासो गर्दैछन् । व्यवसाय गर्ने कुनै योजना, ज्ञान र सीप नभए पनि तथा कर्जाको लागि धितो नभए पनि आफ्नै घरमा आएर कर्जा लिन उत्प्रेरित गर्न थाले पछि धेरै लघुवित्त संस्थाहरुमा आवद्ध हुदै कर्जा लिएका र कर्जा लिएपछि उनै लघुवित्त संस्थाहरुले कर्जा नतिरेको भन्दै घर घेर्न थालेपछि गाउँघरमा कठिन जिविकोपार्जन गर्दै आएका कतिपय परिवारहरु फोहर गरेपछि दैलो देखेजस्तो अवस्थामा रनभुल्ल छन् । त्यसै गरी आफू आवद्ध रहेका सहकारी संस्थाहरुले आफ्नो बचत फिर्ता नगरी भागेको भन्दै आन्दोलित हुनेहरुको जमात पनि बढ्दै गरेको देखिन्छ । यस्तो अवस्थाले उद्योग व्यवसाय गर्ने वा नगर्ने सबैको आर्थिक उपार्जन प्रभावित भएको देखिन्छ । नागरिकको आर्थिक उपार्जन कमजोर हुदा राज्यको राजश्व संकलन प्रभावित हुने र राजश्व संकलन कमजोर हुदा बाह्य ऋणमाथिको निर्भरता अझ बढ्दै जाने परिस्थिति देखिदैछ ।
बर्षौ भयो, अवस्था यस्तै छ । यतिखेर दलहरु चुनावमा मत माग्न गाउँ टोलमा छन् । चुनाव प्रचारमा भत्ता बढाइदिउला, फ्रिमा विदेश पठाइदिउँला, फ्रिमा पानी विजुली दिउँला, बाटाघाटा बनाइदिउँला आदि आदि आश्वासनहरु बाँडिदैछन् तर विदेशी ऋण खोजेर भत्ता बाँड्ने, पानी विजुली निशुल्क उपलब्ध गराउने, निशुल्क शिक्षा तथा स्वास्थ्य सुविधा दिने, बाटाघाटा बनाउने योजना बाहेक त्यस्ता खर्चको लागि राज्यको आफ्नै खर्चको श्रोत जुटाउने बारे न त ती दल तथा उम्मेदवारहरुले कुनै योजना प्रस्तुत गरेका छन् न त नागरिकले अपेक्षित चासो व्यक्त गरेका छन् । बरु समाधानको अपेक्षित बाटो खोजी गर्नु तथा देखाउनुको सट्टा आफूलाई मन नपरेका दल, नेता तथा उम्मेदवारहरुलाई गाली गरेर वा घृणा फैलाउने प्रतिस्पर्धा गरेर आफ्नो पक्षमा जनमत बटुल्ने कसरतमा छन् ।
यस्तै दुरावस्थाका दृष्टान्तहरु खोज्दै जाने हो भने पक्कै पनि अनगिन्ती पुस्तकहरु लेखिनेछन् तर दुरावस्था भागिने दिनहरु मेटिनेछैनन् । ढिलो चाडो समाधानको सही उपाय खोज्नै पर्नेछ, समाधान गर्नैपर्नेछ । यस्तै दुरावस्थाले समाधानको खोजी गर्ने हुटहुटी म भित्र जाग्न थाल्यो । ग्रामीण विकास विषयमा गरेको अध्ययन र यही क्षेत्रमा कार्य गर्दा हासिल गरेका अनुभवहरुको आधारमा मैले आत्मवोध गरेको समाधानको बाटो समेटिएको पुस्तक प्रस्तुत गर्ने एक जमर्को गरें । यही जमर्कोमा अभ्यास नामक पुस्तक लेखेर हालसालै प्रकाशित पनि गरेको छु ।
त्यसो त अभ्यास पुस्तकले देशको अर्थतन्त्र तथा आर्थिक दुरावस्थाको मात्र समाधानको खोजी गर्दैन । पुस्तकमा मानव जीवन, समाज, देश तथा विश्व जगतका बहुआयामिक पक्षहरु, मानव समाजको विगतदेखि बर्तमानसम्मको अवस्थाको चित्रण सँगै मानव अन्तरसम्बन्धको विविध स्वरुपहरुको चर्चा गरिएको छ । अभ्यास पुस्तक आफैमा समाजको बहुआयामिक दुरावस्थाको समाधान खोज्ने एक पुस्तक हो । बहुविधालाई समेटेको यस पुस्तकलाई विज्ञान, दर्शन, शिक्षा, विकास, अध्यात्म, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक अर्थशास्त्र जस्ता फरक फरक आयामबाट समेत हेर्न सकिनेछ । तथापि यस लेखमा वर्तमान आर्थिक परिदृश्यको समाधान दिन सक्ने गरी अभ्यास पुस्तकमा समेटिएका केही विषयवस्तुहरु औल्याउने जमर्को गर्दैछु ।
कुनै पनि समाज तथा देशको आर्थिक अवस्थाको सुधारको लागि उत्पादन वृद्धिको विकल्प हुदैन । त्यसै गरी उत्पादित वस्तु तथा सेवाको खपतको सुनिश्चितता हुनुको पनि विकल्प छैन । यस्को लागि नयाँ उद्यमीहरु उद्यममा आकर्षित हुन कसरी सम्भव छ र उत्पादन वृद्धि भई उत्पादित वस्तु तथा सेवाको खपतको सुनिश्चितता कसरी सम्भव छ भन्ने जिज्ञासा अवश्य हुन सक्छ । त्यसैले हरेक व्यक्तिमा उद्यमशीलता तथा जिविकोपार्जनका अवसरहरु सहज ढंगले सृजना गर्न सकिने आधारहरु यस पुस्तकमा प्रस्तुत गरिएको छ ।
विद्यमान अवस्थामा व्यक्तिहरुबिच एक आपसमा प्रतिस्पर्धी सम्बन्ध स्थापित हुदा केही सिमित उद्यमीहरुले प्रतिस्पर्धाबाट क्षणिक लाभ हासिल गर्न सकेको भए पनि आम व्यक्तिहरुले अपेक्षित लाभ हासिल गर्न नसकेको देखिन्छ । हरेक व्यक्तिबिच एक अर्कामा परिपुरक सम्बन्ध स्थापित गरी उद्यमहरु संचालन गर्दा हरेक व्यक्तिको लागि उद्यमको अवसर पनि सहज हुने र हरेक व्यक्तिका आवश्यकताहरुको सहज परिपूर्ति पनि सम्भव हुन सक्ने आधारहरु यस पुस्तकमा प्रकाश पारिएको छ । हरेक व्यक्तिबिच एक अर्कामा परिपुरक सम्बन्ध कायम हुने गरी उनीहरुविच सहकार्य र सहकारिता अभिव्यक्त हुने संस्थागत प्रवन्धको विषयमा यस पुस्तकमा जोड दिइएको छ ।
सहकार्य र सहकारिता अभिव्यक्त हुने संस्थागत प्रवन्धको कुरा गर्दा सोही मूल्य मान्यता अंगीकार गरी स्थापना गरिएका सहकारी संगठनहरुको विद्यमान संचालनको अवस्था र त्यसबाट उत्पन्न भइरहेका नतिजा बारे पनि जिज्ञासा हुनसक्छ । विद्यमान अवस्थामा सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुबिच परनिर्भर सम्बन्ध, व्यक्तिगत स्वार्थमा आधारित सम्बन्ध, सामूहिक भावनाको कमी, आपसी प्रतिस्पर्धा, जितहार अर्थात् आफ्नो बर्चश्वको लागि जस्तोसुकै क्रियाकलाप गर्ने प्रवृति तथा अवस्था देखिन्छ । यसको मतलव सहकार्य र सहकारिता व्यवहारतः सहकारी संगठन भित्रै अभिव्यक्त नभएको अवस्था हो भनेर बुझ्न सकिन्छ । कस्तो प्रकृतिको संगठनात्मक अभ्यास गर्दा यस्ता अवस्थाहरु स्वतः निस्तेज हुन्छन् भन्ने विषयमा अभ्यास पुस्तकमा चर्चा गरेको छु ।
केही सहकारी संस्थाहरुले कृषिजन्य, संचार, शिक्षा, स्वास्थ्य, पुर्वाधार तथा औद्योगिक लगायत क्रियाकलापहरु मध्ये कुनै आंशिक क्रियाकलापहरु मात्र संचालन गरेका छन् । धेरै जसो सहकारी संगठनहरु बचत तथा कर्जा कारोबारमा मात्र सिमित रहेका देखिन्छ । त्यस अर्थमा सहकारी संगठन भन्ने वित्तिकै विद्यमान अवस्थामा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरु जस्तो बुझिने गरेको पाइन्छ । वास्तवमा हरेक व्यक्ति व्यक्तिले आफूहरुविच अन्तरनिर्भर सम्बन्ध कायम गरी कुनै न कुनै उत्पादनमुखी जिविकोपार्जनका क्रियाकलापहरु गर्ने र आफ्ना सबै जसो आवश्यकताहरु परिपूर्ति गर्ने संगठनात्मक माध्यमको रुपमा संगठन संचालन गर्न सम्भव छ । त्यस्ता उपायहरु के हुन सक्छन् भन्ने बारे यस पुस्तकमा चर्चा गरिएको छ ।
विद्यमान अवस्थामा सहकारी संस्था संचालनको लागि अपनाइएका विधि र प्रक्रियाहरुले कतिपय सहकारी संस्थाहरुलाई संकटको डिल तर्फ धकेलिरहेको स्वयं सहकारी सरोकारवालाहरुले समेत अनुभूत गर्दै आएका छन् । सहकारी संस्थामा हुने गरेका गतिविधिहरु बारे सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरु नै बेखबर रहने गरेको र त्यस्ता सहकारी संस्थाहरुले दिने प्रतिफल सन्तोषजनक रहेमा शेयर सदस्यता कायम राख्ने अन्यथा शेयर आवद्धता त्याग्ने गरेको पाइन्छ । यसको मतलव विद्यमान सहकारी संचालन प्रक्रिया अनुसार सहकारी संस्थाको संचालन जिम्मेवारी उक्त सहकारी संस्थाका पदाधिकारी र कार्यरत कर्मचारीहरुको काँधमा मात्र रहेको जस्तो देखिन्छ । अर्थात् सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरु मध्ये कसैले सेवाप्रदायक जस्तो त कसैले सेवाग्राही मात्र भए जस्तो आफूलाई ठान्दै आएको पाइन्छ । सहकारी संस्थाहरुमा आवद्ध हरेक शेयर सदस्यहरु आफू आवद्ध भएको सहकारी संस्थामा निर्णायक, नियामक र जिम्मेवार भएमा त्यस्तो सहकारी संस्थाहरुमा कतिपय अप्ठ्याराहरु आउँदै नआउने वा आए पनि छिटो समाधान हुन सक्ने देखिन्छ । संगठनमा आवद्ध हरेक व्यक्ति व्यक्तिबाट संगठनले अपेक्षित नतिजा कसरी हासिल गर्न सक्छ भन्ने बारे अभ्यास पुस्तकमा मिहिन चर्चा गरेको छु ।
त्यसो त अर्थतन्त्रमा देखिएको दुरावस्थाको समाधान अर्थतन्त्र भित्र मात्र खोजेर भेटिदैन । यो कुरा राजनीतिक तथा सामाजिक हरेक क्षेत्रमा लागू हुन्छ । मानव समाजको कुनै पनि एक पक्षमा देखापरेको दुरावस्थाको समाधान गर्ने उपाय आफैमा बहुपक्षीय हुन्छ भन्ने मान्यता यस पुस्तकमा अघि सारेको छु । मानव प्राणीले भोगिरहेको जुनसुकै दुरावस्था ऊ स्वयंको जैविक यन्त्रमा रहेको अभ्यासको कमीको परिणाम हो भन्ने निष्कर्षमा टेकेर मैले अभ्यास पुस्तकमा ३३ वटा एक अर्कामा अन्तरसम्बन्धित अभ्यासका उपायहरु गर्नुपर्ने बारे मुख्य रुपमा जोड दिएको छु । मानव प्राणीले आफ्नो पदार्थीय पहिचान तथा पदार्थीय कार्यविशेषता अनुसार गर्नुपर्ने अपेक्षित कार्यलाई प्रभावित गर्ने अभ्यास नै मानव जगतका आजका सबै दुरावस्थाहरुबाट मुक्ति दिने उपाय हुन सक्छ भन्ने मेरो लेखकीय दाबीलाई यस पुस्तकमा प्रस्तुत गरेको छु । मानव जीवन र सिंगो मानव जगतको अपेक्षित परिवर्तनको विषयमा लेखिएको यस अभ्यास पुस्तकबाट नेपाली अर्थतन्त्रको गिर्दो अवस्थाको समाधान समेत खोज्न सकिने अन्तर्दृष्टि अवश्य प्राप्त हुनेछ ।
प्रतिक्रिया