बुटवल । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा रुपन्देही–२ (२) मा एमालेबाट उम्मेदवार हुन् भोजप्रसाद श्रेष्ठ । उनलाई आधुनिक बुटवलको योजवनाकार पनि भनिन्छ । २०१३ सालमा पाल्पाको रामपुरमा जन्मिएका श्रेष्ठ २०४४ मा बुटवल झरेका हुन् । बटौलीबाट बुटवल बनेपछिको आधुनिक बसाईको कथा लेख्नु पर्दा बस्ती बिस्तार गर्ने सरस्वती प्रसाद शेरचन, दिर्घकालिन योजना बनाउने सुर्य प्रसाद प्रधान र बुटवललाई सबैले चिन्ने आधुनिक शहरकारुपमा देख्न सकिने बनाउने नगर प्रमुखको नाममा भोजप्रसाद श्रेष्ठको नाम अग्रभागमा आउने गर्दछ ।
विकासका विषयमा असल योजनाकार र कार्यान्वयनमा अडान लिन सक्ने नेतृत्वक्षमता भएको नेतामा पनि श्रेष्ठको नाम आउने गर्दछ । विकाससँगै अविरल राजनीतिक आन्दोलनसँगै सामाजिक विकास अभियानमा समेत उम्मेदवार श्रेष्ठले महत्वपूर्ण योगदान पु¥याउदै आएका छन् ।
बुटवलको योजनाबद्ध विकास प्रारुप जुन आज पनि झण्डै २ दशकअघि तत्कालीन बुटवल नगरपालिका प्रमुख भोजप्रसाद श्रेष्ठले स्थापित गरेको मान्यताका आधारमा सञ्चालनमा छभन्दा अनुपयुक्त हुँदैन । बुटवलको योजनाबद्ध विकास र सुन्दर शहरको परिकल्पना गरेर कार्यान्वनमा पु¥याउन सफल वास्तविकताको रुपमा अहिले बुटवलबासीले श्रेष्ठलाई सम्झिने गर्छन् । सामुहिक निर्णय गराउन सक्ने र समुदायलाई सँगसँगै विकासको बाटोमा हिँडाउन सक्ने खुबि भएकै कारण बुटवल नगरबाट उपमहानगर हुँदै नेपालकै उत्कृष्ठ कार्यसम्पादन मुल्याँकनमा पर्ने उपमहानगर घोषित हुँदै आएको छ ।
जीवनमा कुनै पनि एउटा कामले पछि पनि सफलताको ढोका खोल्छ भन्ने मान्यता भोजप्रसादको जीवनमा पनि लागू हुन्छ । पञ्चारयती व्यवस्था विरुद्धको भुमिगत राजनीतिबाट राजनीतिक जीवन शुरु गरेका श्रेष्ठले पार्टीले दिएको हरेक जिम्मेवारी यमान्दारी पूर्वक पुरा गर्ने गरेका छन् । पार्टीको जिम्मेवारीमा रहँदा २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारद्वारा गठित सुकुम्बासी समस्या समाधान आयोग जिम्मेवारी प्राप्त गरेर काम गरे । आयोगको अध्यक्षको हैसियतले ५ हजारभन्दा बढी बुटवलका सुकुम्बासीलाई जग्गाधनी लालपूर्जा प्रदान गर्न सक्ने व्यक्तिकारुपमा भोजप्रसादलाई बुटवलबासीले चिन्ने गरेका छन् । हजारौँ सुकुम्बासीलाई लालपूर्जा वितरणको लागि पहेंलो कार्ड वितरण गरेर लालपुर्जाको लाईनमा राखेका उनले तत्कालिन एमाले सरकार लामो समय टिक्न नसके पछि श्रेष्ठको सबैलाई जग्गाधनी बनाउने योजना बिचमै रोकिएको थियो । उनैले वितरण गर्दागर्दै बाँकी रहेका सुकुम्बासीहरु अहिले सबै दलका राजनीति गर्ने माध्यम बनिरहेका छन् ।
त्यसो त बुटवलमा सबै सार्वजनिक सम्पत्ति वितरण गरेर आवश्यक जमिन नबचाउने व्यक्तिकारुपमा पनि भोजप्रसादको आलोचना हुने गरेको छ । बुटवलमा रहेका सार्वजनिक जग्गा वितरण गरेर सकेपनि बुटवलको आन्तरिक शोन्र्यकरण, सरसफाईमा समुदायको सहभागिता, बुटवल आसपासमा अहिले नाम चलेका पार्क र उद्यानहरु श्रेष्ठकै पालामा थालिएका थिए र अहिले संचालनमा रहेका छन् ।
यतिबेला भोजप्रसाद प्रदेशसभा सदस्यका लागि जनताको घरदैलोमा हिँडिरहेका छन् । मेयर भएका बेलामा पुरा हुन बाँकी योजना र नयाँ सम्भावनाहरुको खोजि गर्दै उनको घरदैलो विकासकै एजेण्डामा जनतासँग छलफल गरेर हुने गरेको छ । ‘पहिले मेयरमा जिताएर काम गर्दा बाँकी रहेका योजनाहरु पुरा गर्न नयाँ जिम्मेवारीका साथ प्रदेशमा जान चाहन्छु,’ उनी भन्छन्, ‘अब पनि जितेर यहाँका जनताको मुहारमा खुसी ल्याउने मेरो एकमात्र लक्ष्य छ । यहाँ भौतिकसँगै दीर्घकालीन विकास गर्न म जुट्नेछु । जनताले दिएको मतलाई कहिले खेर जान दिन्नँ ।’
सुकुम्बासी समस्या समाधान आयोगमा अध्यक्षको रुपमा क्रियाशील रहँदा गरेको कामको मूल्याङ्कनका आधारमा भोजप्रसादलाई २०५४ मा एमालेले बुटवलको मेयरको उम्मेदवार बनाएको थियो । त्यो बेला पनि श्रेष्ठले सानदार रुपमा चुनाव जिते । नगरप्रमुख भएको बेला बुटवललाई उनले गरेका काम र परिकल्पना र अगाडि बढाएका कामहरुले आजपनि बुटवल उपमहानगरपालिका मुलुककै समुन्नत र उत्कृष्ट नगरपालिका बनेको छ ।
उनको कार्यकालमा बुटवलका साघुरा र मोटर ग्यारेज जस्ता देखिने गल्लीहरु फराकिला भए । सफा र सुन्दर बुटवललाई आकर्षित बनाए । आफूले अगाडि सारेका योजना समयमै सम्पन्न गराए । २०७४ को पहिलो प्रदेशसभा निर्वाचनमा उनी लोकप्रिय मतका साथ विजयी भए । प्रदेश सरकारमा उनी ९९ दिन मन्त्री हुँदा स्वास्थ्य क्षेत्र मा निकै राम्रा जनपक्षीय काम गरे । रगत निःशुल्कदेखि अस्पतालमा अक्जिन प्लान्ट निर्माणमा उनको योजना हुन् । ती योजना लागू भइसकेका छन् ।
प्रदेशसभा विषयगत समितिमा बसेर पनि उनले कुशल भूमिका खेले । कोरोना पीडित परिवारलाई राहत उपलबध गराउने निर्णय सहितप्रदेशका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माण गर्ने काममा संघ सरकारसँग समन्वय गरी बजेट व्यवस्थापन गरेर र उक्त स्थापनाका कामहरु क्रमशः अगाडि वढिरहेका छन् ।
समस्याको उपायको पर्याय बनेका एमाले लुम्बिनी प्रदेश उपाध्यक्षसमेत रहेका श्रेष्ठ रुपन्देहीमा प्रभावशाली नेताको रुपमा परिचित छन् । राजनीतिक रुपमाविभेद नगर्ने समान रुपमा व्यवहार गर्ने नेताको रुपमा उनी सबैका साझा नेताका रुपमा बुटवलमा स्थापित छन् । आगामी निर्वाचनमा विजयी हुने आधार नै जनताको उनीप्रतिको विश्वास र अपेक्षा रहेको उनको भनाई छ ।
विपक्षिहरुले एमालेलाई बुटवलबाट राजधानी सार्न मुख्य भूमिका खेलेको आरोप लगाइरहेका बेला भोजप्रसाद तिनै नेता हुन् जस्ले अन्तिम अवस्था सम्म पार्टी भित्र र प्रदेशसभामा राजधानी बुटवलमा कायम रहनु पर्ने अडान लिइरहे । पार्टीले ह्वीप लगाएपछि मात्र उनी मौन भएका थिए ।
बुटवलको मैनाबगर अटो भिलेज, मणिमुकुन्द सेन उद्यान (फूलबारी) जीतगढी किल्लाको उत्खनन, सिद्धबाबा धामको विकास, बोलबम धामको स्तरोन्नती,कोरियन टेक्निकल इन्स्टिच्यूटको स्थापना, बुटवल बस टर्मिनल, लुम्बिनी बौद्ध विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा बुटवल सिटी क्याम्पस जस्ता महत्वपूर्ण र दूरगामी योजनाहरु पनि श्रेष्ठकै पालामा भएका काम हुन् ।
प्रतिक्रिया