बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा. चन्द्र भण्डारीले गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बैतर्नी तर्न मतदाताहरुलाई आह्वान गरेका छन् । गुल्मी रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुकलाई निकास दिन र पुन्य कमाउन गठबन्धनलाई मतदान गर्न आह्वान गरेका हुन् ।
उनले नेपालको मुख्य समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै नेपालमा पार्टीको सदस्यता भ्रष्टाचार गर्ने साधन बन्ने गरेको टिप्पणी गरे । मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउँदै समृद्धिको बाटोमा लैजान जनताले दिएको दुईतिहाईको मतको सरकार ढलाउने तत्वलाई चुनावमा सजाय दिनुपर्ने उनले बताए । ‘सरकार ढलाउने र पार्टी फुटाउनेहरुलाई सजाय दिनु पर्छ,’ उनले भने, -‘एमालेलाई मत नदिएर यसपटकको चुनावमा सजाय दिनु पर्छ ।’
डा. भण्डारीले बृद्धभत्ताको परिकल्पना आफुले गरेको दाबी गर्दै अबका दिनमा बृद्धभत्ता बढाउने भन्दा पनि बैकल्पिकरुपमा जेष्ठ नागरिकलाई स्वतः अधिकारको व्यवस्था गरिनु पर्ने बताए । उनले गठबन्धनले जितेमा हरेक पालिकामा उत्पादनमा आधारित उत्पादन र हरेक पालिकामा कोल्डस्टोरकामे स्थापना गरि बिदेशीन बाध्य भएका युवाहरुलाई देशमा रोजगारी दिने व्यवस्था मिलाईने बताए ।
उनले प्रतिद्वन्द्वी एमाले उम्मेदवार प्रदीप ज्ञवाली तर्फ लक्षित गर्दै सरकारमा रहेको अवस्थाको रातो कितावमा त्यस कालमा एउटा पनि पुल, सडक र विकासको योजना गुल्मीले नपरेको दाबी पनि गरे । आफुले सिद्धबाबाको विकल्पमा तयार गरेको सडक योजनामा एमाले सरकारले बजेट रोकेर सुरक्षित गुल्मी पुग्ने काममा बाधा हालेको उनले आरोप लगाए ।
कार्यक्रममा बोल्दै गुल्मी प्रदेश १(क)का उम्मेदवार तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले निरंकुश प्रबृत्तिलाई साईजमा ल्याउने दिनकारुपमा मंसिर ४ गतेलाई सदुपयोग गर्न मतदाताहरुलाई आग्रह गरे । उनले जनतामा राजनीतिक नेताहरु प्रति अविश्वास फैलाउने प्रयत्न गरिएको चर्चा गर्दै त्यसलाई रोक्न गठबन्धनले जित्न आवश्यक रहेको बताए । नाटक गर्ने र झुठको खेतीगर्ने र गलत प्रबृत्ति भएका व्यक्तिहरुका विरुद्ध एकता प्रदर्शन गर्ने बेला आएको उनले बताए ।
कार्यक्रममा अर्का प्रदेश उम्मेदवार धनेन्द्र बस्नेत र समानुपातिक उम्मेदवार त्रैलोक्यप्रताप सेन पनि बोलेका थिए ।
प्रतिक्रिया