खजुरा । आसन्न निर्वाचनमा प्रतिद्वन्द्वी उम्मेदवारले टुरिष्ट उम्मेदवारको उपमा पाईरहेका बेला स्थानीयको बलसहित बाँके ३ मा एमालेबाट चुनाव लड्दै गरेका व्यक्ति हुन् किस्मत कुमार कक्षपति । बाँकेको राजनीतिमा २०४६ सालपछिको खुल्ला परिवेशपछि मात्र राजनीतिमा देखिएपनि कक्षपति गुल्मीबाटै पञ्चायती व्यवस्थाका विरुद्ध कम्युनिष्ट संगठन गर्दै आएका रानीतिक कार्यकर्ता हुन् । २०५३ सालमा कक्षपति बाँकेको खजुरा बसाई सरकेका हुन् ।
कक्षपति आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार छन् । कक्षपति राष्ट्रिय जनमोर्चाका पूर्वकार्यकर्ता हुन् । विद्यार्थी राजनीतिमा अखिल छैठौबाट राजनीति गरेका उनले गुल्मी र बागलुङका गाँउहरुमा तत्कालिन मसालको तर्फबाट संगठन गरेका थिए । ४६ सालको परिवर्तन पछि भने एमालेमा उर्लिएको जनउभारसँगै कक्षपति पनि एमाले बन्न पुगे ।
बुवा जनकलाल कक्षपति र आमा मानकुमारी कक्षपतिको कोखबाट विक्रम सम्वत् २०१८ सालमा जन्मिएका कक्षपति यस्ता नेताकारुपमा परिचित छन् जसलाई कुनै जिम्मेवारी दिने हो भनेर जसरी पनि त्यसलाई फत्ते गरेरै छाड्छन् ।
सानैदेखि सामाजिक कार्यमा सक्रिय कक्षपतिले १६ बर्षको उमेरमा आफ्नो जन्मथलो मुसिकोटका सर्वसाधारणलाई शुद्ध पिउने पानीका लागि प्रयास गरेका थिए । मुसिकोटको माथि रहेको मुहानबाट पिउने पानी ल्याउने क्रममा पंचायत विरोधी भएको भन्दै तत्कालिन सरकारले उक्त कार्यमा प्रतिवन्ध लगाएको थियो । त्यतिबेला उनी एउटा क्लवको सचिव थिए ।
किस्मतकुमार कक्षपतिको नाम बाँकेमा प्रचलित नाम हो । ब्यापार गर्न २०५३ सालमा खजुरा आएका उनले सोही बर्ष खजुरामा कक्षपति राइस एण्ड आयल मिल स्थापना गरे । खजुरा आउनु अघि जर्मनको फ्रयांकफर्टमा ६ बर्ष बिताएका उनी विदेशमा कमाएको रुपैयाँले खजुरामा ५० लाख रुपैयाँमा उद्योग संचालन गरेका थिए ।
कक्षपतिले २०३३ सालदेखि ९ बर्ष महेन्द्र आदर्श मावि मुसिकोट, गुल्मीमा स्थायी शिक्षकको जागिरी खाए । शिक्षक पेशाबाट जिविका चल्न नसक्ने लागेपछि उनी काम गर्न जर्मन गए । जर्मनमा बसेर देशका लागि योगदान दिन नसकिने लागेपछि उनी नेपाल फर्किए र त्यहाँ कमाएको पैसाले उद्योग संचालन गरे । ‘देशका लागि केहि गर्नुपर्छ भनेर म जर्मनमा नबसेर नेपाल फर्किए, विदेशमा कमाएको पैसा उत्पादनमुलक कार्यमा लगाउनु पर्छ भन्ने लागेर उनले खजुरामा नै उद्योग खोले ।
एमालेमा प्रवेश गरेर राजनीति सुरु गरेपनि खासै चर्चा कमाउन नसकेका कक्षपतिको नेतृत्वमा जव बाँकेको खजुरामा क्यान्सर अस्पताल संचालनमा आयो, तव देखि नै आम नागरिकमा किस्मतको राजनीतिले उँचाई लिन पुग्यो । बाँके र बर्दियाका स्थानीयको मुट्ठीदानबाट ठडिएको अस्पताल निर्माण र संचालनमा कक्षपतिले देखाएको नेतृत्व क्षमता नै कक्षपतिका लागि राजनीतिको प्रमुख पुंजी बन्न पुग्यो । सोही पुँजीबाट उनी २०७४ सालको स्थानीय चुनावमा खजुरा गाँउपालिकामा अध्यक्ष पदमा निर्वाचित पनि बनेका थिए । भिन्न धार्मिक उद्देश्यका साथ सुरु गरिएको अस्पतालको धार्मिक पहिचान हटाएको र भूमिका नै नभएका सुशिल कोईरालाको नामबाट अस्पताल संचालन गर्न राजी भएको आलोचना कक्षपतिको टाउकोमा रहेपनि अस्पताल निर्माण र संचालन सम्म कक्षपतिले खेलेको भूमिका सबैले स्मरण गर्ने लायकको रहेको खजुराबासीले बताउने गर्छन् ।
अस्पतालको संकल्प धार्मिक गुरु दिनदयाल र खजुराका अग्रजहरु लक्ष्मीनारायण मन्दिरमा बसेर गरिएको थियो । तदर्थ समितिमा खजुराकै कांग्रेस नेता उत्तम घिमिरेलाई अध्यक्ष बनाइएपनि उनको निश्क्रियता पछि खजुराबासीले अस्पताल निर्माणको जिम्मा किस्मतलाई दिएका थिए । आज खजुरामा क्यान्सर अस्पताल शुरु भएको छ र अस्पतालले नारायणी वारीका नेपाली सहित भारतका क्यान्सर पीडितहरुलाई सेवा दिन थालेको छ ।
अस्पताल निर्माणसँगै गाँउपालिका अध्यक्ष बनेका किस्मतले ५ वर्षमा उनले आफ्नो पहिचान खजुराको समग्र विकासको लागि एउटा किस्मत बनेर देखाए । संघीयताको पहिलो प्रयोग अनुरुप पालिका अध्यक्ष बनेका किस्मतले खजुरालाई स्वायत्त पालिका बनाउन महत्वपूर्ण भुमिका खेले ।
खजुरालाई विश्व समुदायका सामु जोड्दै किस्मतकै अगुवाईमा खजुरामा ग्रीन सिटीको प्रोजेक्ट भित्र्याउन सफल भए । उजवेगस्तानको राजधानी तास्केन्टमा खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले युनाइटेड नेशनसंग सम्झौतामा हस्ताक्षर गरेका थिए । लगत्तै विश्वव्यापी कोरोना फैलिंदा प्रोजेक्ट केही प्रभावित भएको थियो । अध्ययन अनुसन्धान हुँदै पाइलट प्रोजेक्ट शुरु भएको छ । जुन पूर्ण रूपमा लागू हुँदा खजुरा व्यवस्थित शहर बन्न सक्ने बताइएको छ ।
किस्मतकै अगुवाईमा खजुरालाई कृषिमा दीगोपन दिएर आयआर्जनको माध्यम बनाउन उनले खजुराका किसानलाई चीन पठाएर त्यहाँको प्रविधि अध्ययन गर्न लगाए, पशुपालन र प्याज, टमाटर खेतीको लागि तालिम दिएर किसानलाई उत्पादनमा जोड्ने अभियानको थालनी गरे ।
प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका कक्षपतिको ग्रीन सिटीको प्रोजेक्टलाई खजुरा, जानकी, बैजनाथ हुँदै जिल्लाभर लागू गर्ने चाहना छ । उनी जुन काममा लाग्छन् त्यो सफल बनाएर छोड्ने किस्मतको बानी रहेको उनलाई नजिकबाट चिन्नेहरुले भन्ने गर्दछन् । खजुरा गाउँपालिकामा हुँदा ग्रीन सिटी, प्रदेश विश्वविद्यालय, १५ वेडको अस्पताल, शीत भण्डार, औद्योगिक ग्रामलगायतको ठूला आयोजना भित्र्याउन उनको प्रमुख भूमिका छ ।
घरबारविहीनलाई घर बनाएर हस्तान्तरण, शिक्षामा ३१ बुंदे प्रतिबद्धतासहित सुधार, सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कृषियन्त्र वितरण, खेलकुदमा मिनीरंगशाला, खेलकुद ग्रामको स्तरोन्नति, हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता, शैक्षिक महोत्सव, गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु, १५ वर्षे योजना निर्माण, सभाहल निर्माण ३ हजार महिलालाई सहकारीमा आवद्ध, सिलाइ कटाईमार्फत ४० महिलालाई नियमित रोजगारी, युवाका लागि स्वरोजगार कार्यक्रम र ८० जना युवाहरूलाई ४० हजार टोकन मनि हस्तान्तरण सीपमूलक तालिम लगायतका धेरै कुरा छोटो अवधिमा गर्नु उनको खुवी हो ।
यद्देपी उनले थालेका अधिकाँस योजना उनकै पालामा पुरा नहुँदा नागरिकले देख्ने गरि किस्मत नेतृत्वको पालिकाले गरेको विकासको अनुभूति गर्न पाएका छैनन् । उनीमाथि सभाहल निर्माणको गुणस्तरियतामा लापरवाही, नेपालगन्ज गुलरिया सडक अलपत्र पार्ने ठेकेदार माथि नरम व्यवहार र जग्गाको सुनिश्चितता बिना औद्योगिक ग्रामको थालनी गरेको आरोप पनि लाग्ने गरेको छ ।
बृहद खजुरा सम्मेलनमार्फत खजुराको खाका कोर्नु, पूर्ण खोप घोषणा, साक्षर घोषणा र वालविवाह मुक्त खजुरा पनि उनकै कार्यकालमा भयो । खरो स्वभाव भएका कक्षपतिले काम गरेपनि जस लिन नजान्ने नेतामा गनिन्छन् । सामुहिकता नहुनु, साझा अपनत्व प्रदान गर्न नसक्नु, मैलेमात्र गरेको हो भन्ने अहमता प्रकट हुनु उनको मानवीय कमजोरी रहेको उनी निकटका कार्यकर्ताको टिप्पणी रहने गरेको छ । चुनावमा होमिएका कक्षपतिले काम गर्नकै लागि आफ्नो उम्मेदवारी भएको र जनताको शीर कहिले निहुरिन नदिने प्रण गर्दै हिँडेका छन् । दिएको जिम्मा जसरीपनि पुरा गरेरै छाड्ने उनको विषेशषता भएको पनि उनको पहिचान बनेको छ । आफ्नो कार्यकालामा सबै कार्मचारीसंग समान व्यवहार राख्नुले पनि उनको व्यवहार प्रष्ट हुन्छ ।
क्यान्सर अस्पतालमा नेतृत्व गर्नु अघि उनी खजुरा खानेपानी उपभोक्ता समितिमा पनि अध्यक्ष बनेका थिए । बाँकेकै नमुना स्कुल ज्ञानोदय माबीको व्यवस्थापन समितिको अध्यक्ष बन्दा उनी र विद्यालयका तत्कालिन प्रधानाध्यापक घमानसिंह बस्नेतले ज्ञानोदय माबीको नाम जिल्लामै चर्चाको शिखरमा पु¥याएका थिए ।
नेकपा एमाले बाँकेका अध्यक्ष समेत रहेका कक्षपतिले विकासका एजेन्डामा राजनीतिभन्दा माथि उठेर साझा एजेण्डाको रूपमा काम गर्नु पर्ने बताउँदै आएका छन् । जनतामाझ जाँदा उत्साहित रहेको बताउँदै कक्षपतिले मंसिर ४ मा जनमतबाट अनुमोदन हुनेमा विश्वस्त रहेकोे बताए ।
कांग्रेसले क्षेत्र नम्बर ३ बासीलाई उम्मेदवार बनाउन नसक्नु, माओवादी भित्र ठुलो विवाद कायम रहनु र पालिकामा रहँदा आफुले गरेका कामको प्रभावकारी प्रचार गर्न सकेमा किस्मतको किस्मत चम्कने निश्चित छ ।
प्रतिक्रिया