८ मंसिर २०८१, शनिबार | November 23, 2024

फूलको अन्तरआत्माभित्रको पीडा



फूल हाँसेको देख्छन् सबैले रुप चारेको देख्दैनन कसैले । फूलको आफ्नै पीडा छ । भित्री मर्म बुझिदिने कोही छैन । मौन पत्रहरु सधैं मुस्कुराई रहेछन् मेरो अगाडि । हाँसोको मर्म छाम्न सकेको छैन तिम्रो मनभित्र छिरेर । मनमा अथाह पीडा साँचेर पनि बाहिर हाँसिदिन्छन् प्रकृतिका उपहारहरु । कतै तिम्रो व्यथित मुटु छामेर रचिएको त होइन, ‘मुटुमाथि ढुंगा राखि हाँस्नु पर्या छ’ । ‘फूलको व्यथा’ फूललाई मात्र थाहा होला अरुले भन्न सक्दैनन् ।

हेर्दा हेर्दै आँखा अगाडि आएर भँवराले सौन्दर्य चोरेर लैजान्छ । बहुरंगी चञ्चले पुतलीले पखेटा फटफटाउँदै तिम्रो रस पिइछाड्छ । रस चाख्दै हिँडेकाहरुलाई देखेर मलाई इष्र्या लाग्छ जवानी बिटुल्याएको देखेर । म निरिह लाचार छायाँ बनेर टोलाइरहन्छु । यौवनको मिठो बासनाले तान्यो होला पापी भँवरालाई । रसैरसको तरेलीमा उन्मत्त बनेको छ मुस्कानको मोहनीले ।

पुतली रस चोर्न सक्रिय बन्छ बसन्तको आगामनसँगै । शरदको सौम्यताको पिछा छाड्दैन कहिले पनि । पुष्परज चोर्न सिपालु छन् उन्मत्त पुतलीहरु । कति सक्रिय छन् यी प्रकृतिका बरदानहरु । पुष्पबाटिकामा मन्द पवनको स्पर्सले शिर हल्लाएर मानिसको स्वागत गर्छ पुष्पकले । यो केवल सौन्दर्यानुभूतिको उपहार हो प्रकृतिको ।

लेखक

कतिले इश्वर छ भनेर पुकार्छन् । कतिले छैन भन्दै दुत्कार्छन् । मैले इशवर खोज्न थालेको निकै भयो । बुद्धले इश्वरको खोजीमा हजार हण्डर खाएर पनि भेउ पाउन सकेनन् । मैले पनि अझै भेट्न सकेको छैन । इश्वर भ्रम मात्रै हो भन्छ आधुनिक भौतिक विज्ञानले । तर आजभोलि मैले इशवर देख्न थालेको छ फूलको हाँसोमा र अबोध शिशुको अनहारमा । देवकोटाले इश्वर साक्षात देखेका थिए आर्तहरुको चहराइरहेको घाउमा । कुसुमकारको आँचलभित्र मुस्कुराईरहेको पुष्पित पुष्पमञ्जरी सजीव बिम्ब र सजीव इश्वर हुन् ।

बहुरंगी फूल, भँवरा र पुतलीबीचको संसर्ग शास्वत छ । यो अनिवार्य छ जीवनचक्रका लागि । पराग सार्न खारिएका छन् भँवरा र पुतलीहरु । मन्द पवनको हल्का स्पर्सले पनि रंगिन बनाएको छ फूलको जीवन । मुस्कान खुलेपछि बैंश फूले पछि आकर्षण अनिवार्य नियती बनेको छ, बासना चलेको छ ।

हाँसो र आँशुको संगम हो फूल । फूल प्रेमको प्रतिक हो । प्रेम सधैं काँढाको बीचबाट फक्रेको हुन्छ । मानव आत्मासित जोडिएको छ हाँसो र आँशु । हुरी, बादल र असिना पानीको कुटाई सहेर बचाउनुपर्छ यौवन र सजाउनुपर्छ धरतीलाई । आँशु पिएर हाँसिदिएको छ अरुको खुशीका लागि ।

मलाई लोभीपापी भ्रष्टाचारीको गलामा झुण्डिने पटक्कै रहर थिएन । मेरो विवशता र बाध्यता कसैले बुझिदिएन । हाकिमको टेबुलको फूलदानीमा बसेर टेबुलमुनिबाट गरेको कारोबारको साक्षी हुनुपर्दाको आत्मा जलेर आउँछ । मन्त्रीहरुको टेबुलको फूलदानीमा बसेर उचित अनुचित कर्म नियकाल्ने नियती बनेको छ मेरो । अर्को बिहान रक्षानमा फालिँदाको पीडा बुझिदिने कोही छैन ।

फूलको आत्मकहानी भन्ने हैसियत मसँग छैन । फूल टोलाएको देख्दा टिठ लाग्छ । के भयो र भनेर आत्मा सुम्सुम्याउन मन लाग्छ । फूलको व्यथित मनमा मलम लगाउन जानिन मैले । फाटेको मन टालिदिने सियोधागो पनि छैन मसित । किनारतिर फ्याँकिएको वा फूलदानीमा ओइल्याएको फूलको आत्मकहानी बुझ्न मन लाग्छ । मानिस बैगुनी छ । स्वार्थी र मतलबी छ । उसको मतलब पुरा भयो भने उपेक्षा गर्छ लातले पर हुत्याई दिन्छ ।

गुलाब प्रेमको प्रतिक बनेको छ । गुलाबको फूललाई साटासाट गरेर प्रेम प्रस्ताव राख्छन् नवयुगलहरु । दुई आत्माको रसायन बन्छ गुलाबको सौन्दर्य । गुलाबको उपस्थितिमा भएको प्रेमसम्बन्ध युगयुगसम्म बाँचिरहन्छ । प्रेमको धागोले दुई आत्मालाई जोडेपछि गुलाबको औचित्य सकिन्छ । मानिस मतलबी छ । ‘खोलो तर्यो, लौरो बिस्र्यो’ न हो ।

जीवनको उकाली गर्दैगर्दा एकदिन संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क शहरमा पुगेको थिएँ । नेपाली अधिकारीले एकाथरीलाई फूलमालाले स्वागत गर्दै होटलतिर डोर्याए । एकजनाले मलाई केहीदिनदेखि खाली रहेको नेपाली कर्मचारीको कोठमा छिराएर र आफ्नो बाटो लागे । अस्तव्यस्त कोठामा छिर्दा नछिर्दै गुटको गन्ध यहाँसम्म पुगेछ भन्दै झोला बिसाएँ । लामो यात्राबाट थकित शरीरलाई सोफामा थचक्क थेचारेँ । कोठाको चारैतिर नियालेँ । कतिदिनदेखि सफा नगरेको कोठाबाट एकप्रकारको गन्ध फैलिएको थियो ।

झ्यालतिर दुई कुनामा स्टुलमाथि फूलदानीमा ओइलाईरहेको फूलमा आँखा पर्यो । फूलले मलाई कतै उपहास गरेको हो कि भन्ने लाग्यो । तैपनि कतै सम्वाद गर्दै त छैन भनेर ध्यान मग्नभएर निकैबरे हेरेँ । हेर्दाहेर्दै टोलाएँ । फूलको जीवनकहानी सुन्न थालेँ । हाम्रोबीच मौनसम्वाद् सुरु भयो । ओइलाएको फूलले आफ्नै आत्मकथा भन्न थालेको अनुभूति भयो ।

फूलले आत्मकथा भन्दै गयो, मैले सुन्दै गएँ : “न्यूयोर्क शहरबाहिरको एक सुन्दर पुष्पबाटिका एक कुशल पुष्पजीविले जतनपूर्वक मलजल, स्याहारसुसार र गोडमेल गरेर हामीहरुलाई हुर्काए । खुला आकाशमुनि प्रकृतिसित हाँसखेल गर्दै हामी ढकमक्क फक्रियौं । रातिमा निलो आकाशमा चम्किएका कोटीकोटी ताराहरु हाम्रो रुप देखेर लोभिन्थे । भँवरा र पुतलीहरु एकाबिहानै आएर चुम्मन गरेर भाग्थे । हामी उन्मत्त थियौं बैंशले । एकदिन पुष्पव्यापारी त्यहाँ पुगे । हामी बेचियौं । बजारमा पुर्याएर हाम्रो व्यापार हुनथाल्यो ।

एकदिन यो कोठमा ठूलै पाहुना बस्न आउने भएछन् । उनका स्वागतका लागि मिशनका कर्मचारीले हामीलाई यहाँ ल्याएर फूलदानीमा सजाए । हामी यहाँ छिर्दैगर्दा कोठा भव्य रुपमा सजाइएको थियो । सरसफाइ उस्तै राम्रो । अत्तर छरेर बास्नादार बनाइएको थियो कोठा । ती उच्च अधिकारीको चाकरीमा तल्लिन थिए नेपाली कर्मचारी । हामी अमेरिकी हावापानी र माटोमा हुर्केका फूलहरुले नेपालीहरुको चर्तिकला देखेर रमाउँदै थियौं । खानाका विभिन्न परिकार पस्किएको थियो र मूल्यवान सिसी खाली गरिएको थियो । दुईचार दिनपछि ती अधिकारी गए । उनको पछि लागेका पछुवा यतिका दिनसम्म पनि फर्केका छैनन् । हामी यो फोहारी कोठामा हप्तौंदेखि थुनिएका छौं । बिसर्जन गर्न कोही छिरेको छैन । यो चाकरीको दुनियाँ यस्तै हुन्छ भन्ने थाहा छ । आज ती सबै उतै होटलतिर मन्त्रीको सेवामा व्यस्त छन् होला ।”

‘यो फोहोरी कोठाबाट हामीलाई उद्दार गर्ने कोही भएनन’ भन्ने पीडा पोखेको आवाज कानभित्र छिर्यो । गुञ्जियो । अनि मैले फूलको आत्मा छामेँ । मेरो मनलाई पनि फूलको जस्तै कोमल र सहनशील पारेँ । दुई दिनजति हाम्रो मित्रता बस्यो । दिनको एकपटक दानापानीको सोधनीपुछनीका लागि आउनेले ढोका खोलेर १०/१५ मिनट बिताए पनि फूलदानीको फूसित मेरो एकान्त सम्वाद खुलेरै भयो । केही दिनपछि म फर्केँ । बिदा हुने बेला ओइलाएरहेको फूलदानीको फूलको छायाँ पनि मेरै पछिपछि लाग्यो । मेरो देशका उत्पीडित पुष्पीसित छायाँको साक्षात्कार भयो । उनीहरुले सम्वाद सुरु गरे आपसमा ।

“बगैंचामा हाँसेको जीवन कोठाको फूलदानीमा ओइलाउनु पर्दाको मर्म बुझिदिने कोही छैन । मलाई रहर थिएन कसैको गला सजाइदिने । शलामा सुतेका मानिसमाथि चढ्ने मन पनि पटक्कै थिए । मैले फुर्सद पाइन आर्यघाटमा आफन्त गुमाएकाहरुको पीडामा पीडा मिसाएर समवेदना प्रकट गर्न । चिताको अग्नीमा आत्मदाह गरेर खरानी हुने अवसर पनि मिलेन । मलाई मिल्काइयो बागमतीको मिहिनोमा । म बग्दै तल किनारतिर पुग्दा नपुग्दै एकहुल केटाहरु आए, च्याप्प समाएर धोइपखाली गरे र जनतकासाथ लगे । म फेरि बेचिएर पुष्पव्यापारीको गोदाममा पुगेँ । चिसो फ्रिजमा बन्द गरे केही समय । म फेरि बेचिएँ कर्मचारीको हातमा । कहिले राजनीतिक कार्यकर्ताको हातमा पुगेँ त कहिले हरियो नोटको खेती गर्नेको चंगुलमा परेँ । मलाई लोभीपापी भ्रष्टाचारीको गलामा झुण्डिने पटक्कै रहर थिएन । मेरो विवशता र बाध्यता कसैले बुझिदिएन । हाकिमको टेबुलको फूलदानीमा बसेर टेबुलमुनिबाट गरेको कारोबारको साक्षी हुनुपर्दाको आत्मा जलेर आउँछ । मन्त्रीहरुको टेबुलको फूलदानीमा बसेर उचित अनुचित कर्म नियकाल्ने नियती बनेको छ मेरो । अर्को बिहान रक्षानमा फालिँदाको पीडा बुझिदिने कोही छैन ।

मानिसले भन्ने गर्छ । फूल ईश्वरको बरदान हो । ईश्वरको बरदानको घाँटी थिच्ने, फोहोरमा मिल्काउने दुष्ट पनि मानिस नै हो । मण्डप सजाउन, देवतालाई चढाउन, कसैको स्वागतसत्कार गरेर निहित स्वार्थपूर्ति गर्न दुलाहादुलहीको गलामा सजाउन, नवयौवनले आपसमा प्रेम साट्ने स्वार्थसित गाँसिएको छ फूल ईश्वरको बरदान हो भन्ने भनाई । मान्छे स्वार्थी छ । सबैप्रकारका स्वार्थमा मेरो हुर्मत लिएको छ ।

बोटबाट चुँडिएपछि मेरो दुखका दिन सुरु हुन्छ । मेरो मुटु सियोले रोपेर माला गाथिन पुग्छु । तिहारमा गाईको काँधमा सजाउँछन् कतिले । कुकुरको काँधमा चढेर हल्लिन पनि म नै बाध्य छु । मण्डपमा ढकमक्क सजाइन्छु हजारौं व्यक्तिलाई शोभा दिन । कुशल कारिगरले सीप र जुक्ति खर्चिन्छन् चिटिक्क पारेर सम्मेलन सभाहल सिँगार्न । यो सबै ठूलाबढाको सोखका लागि गरिन्छ । म तिनिीहरुबाटै सबैभन्दा बढी पीडित छु । मानिसलाई डस्नेहरुले प्रकृतिका सुन्दर उपहारलाई पनि छोडेका छैनन ।

मेरो साथी काँढा हो । म काँढाकै बीचमा फुलेको हुन्छु । प्रकृतिले मेरो सुरक्षाका लागि काँढा पठाइदिएको छ चौकीदारीका लागि । तर निर्दयी मासिन काँढाको बीचबाट मेरो बैंश चुँडेर लैजान्छ आफनो स्वार्थका लागि । काँढाले पनि जोगाईदिएन मेरो कलकलाउँदो बैंशलाई । मलाई मन नपराउने सायदै होलान संसारमा । केवल सुकिला मासिनले मात्रै होइन देवताले पनि मन पराउँछन् मलाई । विष्णु भगवान कमलको फूलमा बिराजमान भएको देखिन्छ चित्रमा । पारिजातको फूलको बासनाले इन्द्र देवतालाई आकर्षण गरेको छ । देवता खुशी पार्न मानिसले साँझबिहान मठमन्दिरमा चढाउन, धार्मिक कार्य वा यज्ञयज्ञादिमा फूल नै चढाउँदै आएको छ ।

आखिर मानिस मेरो दुश्मन बनेको छ । केवल स्वार्थी मानिस मात्र । अदृश्य देवताबाट बरदान पाउन मेरो जीवनको हत्या हुन्छ । मठमन्दिर, मण्डप र यज्ञयज्ञादिमा सबैले मेरो हुर्मत लिएका छन् । तिनीहरुप्रति मलाई दया लाग्छ । मलाई ढुंगाको देवताले केही दिन्छ भन्ने मानिसप्रति पनि टिठ लाग्छ । मालिकलाई रिझाएर पञ्चखत माफी गराउँदै आएका ठूलाबढाको नजिक पर्न मलाई पटक्कै रहर छैन । भेदभाव, पक्षपात, शोषण र दमनको कुरा बोेकेर हिँड्नेहरुको दुर्गन्धी गला मेरालागि बिछट्टै घृणा र तिरस्कारका पात्र हुन् । मेरा दुश्मन पनि ।

प्रकृतिले मलाई रुप दियो, रंग दियो , बासना भरिदियो शरीरमा, लचकता र सहनसक्ने गुण पनि दियो । प्रकृतिले रुपासे बनाएर गुन लगायो । त्यही गुनले मेरोलागि श्राप भयो । प्रकति पनि मेरो दुश्मन नै हो भनेर कसरी भन्नु?

‘बसन्तको बहारसँगै प्रकृतिले मलाई सबैको सामु पस्किदिन्छिन् कोरीबाटी चिटिक्क पारे । मलाई बैंशले उन्मत्त बनाउँछ कोयलीको सुमधुर गीत र भँवराहरुको झङ्कारले । मेरो छेउछाउ आएर माहुरी पुतली र चरीहरु प्रेमप्रणयमा बाँधिन्छन् मलाई प्रकृतिको रंगिन क्रिडाले उन्मत्त बनाउँछ । भँवराहरुले मेरो रस चुसेर भागेको पत्तै हुँदैन । हाम्रो आफ्नै संसार छ रसरंग भर्न र रमाउनका लागि । हाम्रो बीचमा हाम्रो खुबी लुट्न निर्दयी मानिस आइपुग्छ । हाम्रो घाँटी निमोठिन्छ निर्दयी मानिका हातले । हाम्रो रुप विकाउ माल बन्छ बजारमा र उपभोग गरिन्छ । सुहागरातको बिच्छौनामा थिचिँदाको पीडा सहन बाध्य पारिएको छ हामीलाई ।’

हुरी बतास र असिना पानीले मेरो रुप र सौन्दर्य छिया छिया पार्छ । युगयुगदेखिका हाम्रा पीडा देखिदिने यो संसारमा कोही छ भने यौटै भावना छ कवि कलाकारको । मेरो सौन्दर्यबिम्बको परिचर्चा गर्न पछि परेको छैन कविको लेखनी । रुपको वर्णन हुन्छ । सौन्दर्यभित्रको पीडा बोलिदिने पाउन गाह्रो हुन थालेको छ । बाटिकामा मलजल गरेर मेरो रातदिन रखबारी गर्ने माली मेरा अनन्य मित्र हुन् । श्रमिक हातले साँझ बिहान दिएको सिंचाई मेरो अंगप्रत्यंगसम्म पुगको हुन्छ । मालीको पसिनाको बासनाले प्रसुन पल्लवित हुन सघाउ पुर्याउँछ । मेरो सेवा टहलमा जीवन यापन गर्ने श्रमिकवर्गप्रति म युगयुगसम्म ऋणी रहनेछु । नानीहरुलाई फूल चुँडाल्नु हुन्न भनेर सिकाइन्छ । पाका मान्छेका ती अपराधी हातले भने मेरो हत्या गरिदिन्छन् । अर्काको कुभलो सोच्नेको लोभीपापी अपराधीको शीरमा चढ्नुपर्दाको पीडा आफ्नै छ । मलाई अबोध बालबालिकासित खेल्न औधी मन हुन्छ । बालबालिकाको मन चोखो छ र ती पनि फूल जस्तै सुन्दर छन् । तर दुष्ट पापी मानिसले हामीलाई नजिक हुन कहिल्यै दिँदैनन् ।”

मैले फूलको अन्तरकुन्तर छाम्न प्रयत्न गरेँ । कुनै भेउ पाउन सकिन । सायद म पनि फूलप्रति अनुदार भएर होला । बसन्तको आगमनसँगै आँगनभरि छरिएकार पुष्पत्रमाथि निर्दयी मानिसले कुल्चँदै हिँड्दा मन चसक्क हुन्छ । शरदको आगमनसँगै मखमली, गर्दौली र सयपत्रीको बहार आउँछ । दशैं तिहारको अवसरमा फूलमाथि भएको बलात्कार देखेर दुख लाग्छ । दुख प्रकट गर्न कठिन हुन्छ फूलको खातमाथि चढेर । फूलको अन्तरमनको बेदनासित साक्षात्कार गर्ने रहर भने छँदैछ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ११ : १० बजे

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान