देश संघियतामा गईसकेपछि साविकका पश्चिमाञ्चल विकास क्षेत्रका केही र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका केही जिल्ला गरि जम्मा १२ वटा जिल्लाहरूलाई मिलाएर लुम्बिनी प्रदेशको गठन गरिएको छ ।
प्रदेशको समानुपातिक विकासको अवधारणालाई आत्मसाथ गर्दै बाँके र वर्दियाकै शानको रूपमा बाँकेको खजुरामा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालय (LUMBINI TECHNICAL UNIVERSITY) स्थापना गर्ने निर्णय पनि गरेको छ ।
विश्वविद्यालयलाई व्यवस्थित रूपमा संचालन गर्न २०७८ साल असार ०८ गतेको प्रदेश राजपत्र मार्फत प्रदेश विश्वविद्यालयको स्थापना, संचालन, नियमन र व्यस्थापन गर्न ऐन प्रकाशित गर्दै ‘विश्वविद्यालय ऐन, २०७८’ जारी गरेको हो । विश्वविद्यालय ऐन, २०७८ को दफा ४७ ले दिएको अधिकारको प्रयोग गर्दै विश्वविद्यालय नियमावली २०७८ पनि जारी गरिसकेको छ । प्रदेश प्राविधिक विश्वविद्यालयको गठनको लागि यस विश्वविद्यालयको विधान समेत तयार गरि उपकुलपति र रजिष्ट्रार पनि नियुक्त गरिसकेको छ ।
प्रदेश प्राविधिक विश्वविद्यालयको विधान २०७८ को परिच्छेद -२ को दफा ३ मा विश्वविद्यालय को स्थापना सम्वन्धमा यस्तो लेखिएको छ । ‘प्रदेश भित्र विज्ञान, इन्जिनियरिंग, कृषि, वन, सूचना संचार र चिकित्साशास्त्र जस्ता प्राविधिक विषयहरूमा उच्च तहको अध्ययन अध्यापनका लागि यो विश्वविद्यालय स्थापना गरिएको छ ।’
सोही विधानले विश्वविद्यालयको संगठनको प्रारूप पनि यस्तो दिएको छ ।
क) वोर्ड अफ ट्रष्टि (विश्वविद्यालय सभा) सभा
ख) कार्यकारी परिषद्
ग) प्राज्ञिक परिषद्
घ) विद्यापरिषद्
ङ) सेवा आयोग
च) स्कुलहरूर संकाय
छ) विभाग
ज) आंगिक क्याम्पस
झ) अनुसन्धान केन्द्र
ञ) अन्य निकायहरू ।
त्यसैगरी पदाधिकारीहरूमा निम्नानुसार रहने व्यवस्था गरेको छ ।
क) कुलपति
ख) सहकुलपति
ग) उप कुलपति
घ) अध्यक्ष, सेवा आयोग
ङ) रजिष्ट्रार
च) डीन
छ) कार्यकारी निर्देशक
ज) सहायक डीन
झ) क्याम्पस प्रमुख
ञ) विभागिय प्रमुख
ट) पाठ्यक्रम विकास प्रमुख
ठ) परीक्षा नियन्त्रक
२०७९ साल साउनमा उप कुलपति र रजिष्ट्रारको नियुक्ति भए पनि अन्य पदाधिकारीहरूको नियुक्ति हुन नसक्दा विश्वविद्यालयले पूर्णता पाउन सकेको छैन् । यस विश्वविद्यालयले अझै पूर्णता नपाए पनि यहि भाद्र १९ गते आईतवारका दिन विश्वविद्यालयका कुलपति तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रि माननीय कुल प्रसाद के. सी. ले एक भव्य समारोहकाबीच विश्वविद्यालयको समुद्घाटन गरेका छन् । बाँकेको नेपालगन्जमा रहेको डिभिजन वन कार्यालय भित्र रहेको अत्याधुनिक तिनतले भवनलाई हालको लागि अस्थायी रूपमा विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने गरि सोही भवनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय समुद्घाटन गरिएको हो ।
प्रदेश सरकारद्वारा निर्मित सो भवनमा विश्वविद्यालय सहज रूपमा संचालन गर्न सकिने विश्वविद्यालयका उप कुलपति प्रा. डा. विनोद ढकालको भनाई छ । तत्काल यसै भवनमा कक्षा संचालन गरेर खजुरामा व्यवस्थित भवन र पूर्वाधार निर्माण पछि त्यहाँ सार्न सकिने धारणा उनको रहेको छ । यो तिन तले भवन विश्वविद्यालयको लागि उपयुक्त रहेको कुरा रजिष्ट्रार श्री रेगबहादुर भण्डारीपनि बताउँछन् ।
बाँके र वर्दिया लगायत प्रदेशका १२ वटै जिल्लामा विज्ञान संकायमा १२ कक्षासम्म अध्ययन अध्यापन हुने धेरै विद्यालयहरू रहेका छन् । त्यहाँबाट हजारौं विद्यार्थीहरू उत्पादन भएका छन् । उनिहरूको उच्च शिक्षाको मागलाई सहज रूपमा पुरा गर्न यो विश्वविद्यालय उत्तम विकल्प हुन सक्छ । यसको उद्देश्यमा रहेका सबैजसो संकायहरू एकै पटक संचालन गर्न सकिने कुरा हैन् । ती संकाय र विषयहरू क्रमगत रूपमा लैजानु पर्दछ । प्रथम चरणमा राखिएका सुचना र संचार प्रविधि, वन विज्ञान संगै विज्ञान प्रविधि पनि हुन सक्छ । यी विषयहरू सहज रूपमा संचालन गर्न सकिन्छ । सुचना तथा संचार प्रविधिका लागि ठुलो र वाह्य प्रयोगशाला तत्काल आवश्यक नपर्ने हुँदा कम खर्चमा र सजिलो परिवेशमा यो विषय पहिलो चरणका लागि छानिएको हो ।
बाँके र वर्दियाको जैविक विविधतालाई पूर्ण प्रयोगशालाको रूपमा प्रयोग गर्दै वन विज्ञानलाई पुरानो पाराबाट टाढा राख्दै वन ईन्जिनियरिंग ( Engineering in forestry or Forest Engineering) को नयाँ प्रकारको पाठ्यक्रम राखेर व्यवस्थित र उत्पादनमूलक वनको अवधारणाको विकास गरि शिक्षालाई उत्पादनसँग जोडेर राज्यलाई टेवा पेर्याउने खालको शिक्षा प्रदान गर्न सकिन्छ । जसले प्रदेश र समग्र देशकै जिडिपी बढाउने छ ।
पुराना ज्ञानका सिध्दान्तहरूको अध्यापन गराउने साधारण विज्ञानको सट्टा विज्ञान प्रविधि संकायमा औद्योगिक विज्ञान (Industrial Science) जस्ता नयाँ र वहु उपयोगिक विषयहरू पनि पहिलो चरणमा नै शुरू गर्न सकिन्छ । देशका लागि आवश्यक औद्योगिक विज्ञहरू विदेशबाट आयातित गर्नु पर्ने हालको अवस्थालाई एक दशक भित्रै परिपूर्ति गर्न सकिने गरि नविनतम विषयहरू समावेश गर्दै विज्ञान प्रविधि संकाय पनि शुरू गर्न सकिने कुरामा कुनै द्विविधा छैन् ।
बाँके मै धेरै सामुदायिक विद्यालयहरूमा १२ कक्षामा विज्ञान संचालन भईरहेकोले तिनीहरूका प्रयोगशालाहरूलाई सहयोग लिई पूर्णरूपमा प्रयोग गर्न सकिन्छ । यसले तत्कालको संचालन खर्च समेत कम हुन जान्छ ।
भरखर उम्रदै गरेको यो विरूवालाई सबैले मलजल गरी हुर्कन सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिक्रिया