बुटवल । निर्वाचनको मिति टाढा रहँदा खासै सम्झन आवश्यक नपर्ने राजनीतिकदलका नेताहरुलाई अचेल कार्यकर्ता फकाउन भ्याईनभ्याइ छ । झण्डै ५ वर्ष बेवास्ता गरिएका पार्टीका कार्यकर्ताहरु निर्वाचनको मिति नजिकिँदै जाँदा नेताहरुको अति आवश्यक साधन जस्तै बन्न पुगेका छन् । चुनावको तयारी स्वरुप हरेक पालिका र गाँउशहरमा दलहरुले प्रतिस्पर्धाका आधारमा भेला, प्रशिक्षण, अधिवेशन, संगठनको गठन र पुनर्गठन, साधारणसभा चलिरहेको छ ।
समान्यताया सानातिना काम परेर अन्यबेला नेता भेट्न खोज्दा घण्टौं कुर्नुपर्ने वा भेट नै नपाउने कार्यकताहरुलाई अहिले सामान्य ज्वरो आएपनि केन्द्रीय नेताहरु घरमै भेट्न पुग्न थालेका छन् । अन्यबेला अस्पताल भर्ना हुँदा पनि थाहा नपाउने र बेवास्ता गर्ने नेताहरु हात मर्केका र टाउको दुखेका कार्यकर्ताहरुलाई स्वास्थ्य अवस्था सोध्न घरघर मै पुग्न थालेका छन् ।
रुपन्देही यतिबेला नेताहरुको कार्यकर्ता फकाउने केन्द्र जस्तै बनेको छ । गृहमन्त्री बालकृष्ण खाँण डेरा जमाएर रुपन्देही मै बसेका छन् भने एमाले उपाध्यक्ष विष्णु पौडेल महिनौ देखि कार्यकर्ताको घरघरमा खाना खाने देखि स्वास्थ्य अवस्था सोध्ने काममा व्यस्त छन् । उता रुपन्देहीमा रहेको गुल्मेली मतदाता फकाउन कांग्रेस नेता पनि बुटवल र तिलोत्तमा पेरिफेरीमा दौडधुपमा छन् ।
दलहरुले पनि दिनका आधा दर्जन कार्यक्रमहरु गर्दै ५ वर्षसम्म बेवास्तामा परेका कार्यकर्ताहरुलाई बिभिन्न कार्यक्रमहरु दिएर फकाउने अभियान थालेका छन् । शनिबार मात्र गृहमन्त्री खाँणले भैरहवामा सुनचाँदी व्यवसायीको साधारणसभा देखि कम्तीमा ३ वटा शिलान्यस गर्न भ्याए भने एमाले उपाध्यक्ष पौडेल बिहानै देखि कार्यकर्ता भेटघाटमा व्यस्त देखिन्थे । पौडेलले बुटवल ११ मा नयाँ घरमा डेरा जमाएर कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन् । अन्यबेला पौडेल भेट्न पत्रकारहरुले कुर्नुपर्ने भएपनि शनिबार भने पौडेल आफु निकट पत्रकार संगठनको सदस्यको जन्मदिनको केक समेट काट्न भ्याए ।
उता कांग्रेस नेता चन्द्र भण्डारी बुटवलमा बसेर गुल्मीबाट रुपन्देहीमा आएर बोबास गरेका र मतदाता नामावली गुल्मीमै रहेका मतदाता फकाउन व्यस्त छन् । रुरुक्षेत्रबाट रुपन्देहीमा आएर बसेका कांग्रेस कार्यकर्ताहरु चुनावकै मुखमा संगठित बनाउन प्रथम अधिवेशन पनि आज सम्पन्न भएको छ । छत्रकोट, गुल्मीदरबार, रुरुक्षेत्रमा रुपन्देहीमा रहेका कांग्रेस समर्थकहरु भण्डारीका लागि यतिबेला अति आवश्यक आफन्त बन्न पुगेका छन् ।
५ वर्ष सम्म महत्वहिन भएका युवाका सवालहरु चुनाव आउन थालेपछि माओवादी केन्द्रका लागि आवश्यक विषय बन्न पुगेको छ । जनयुद्धमा ज्यानका बाजी थापेका वाईसीएलका कार्यकर्ताहरुलाई अभिभावक बिहिन जस्तै बनाएर ठेक्कामा, खोलाको गिट्टी बालुवामा, बनमा, सीमामा बागेर्निङ गर्न बाध्य बनाइएकोमा चुनाव नजिक आएपछि महान कमरेड बन्न पुगेका छन् । माओवादी नेताहरु युवाहरुको योगदानबाट जनयुद्ध सम्भव भएको भन्दै गाँउगाँउमा वाईसीएल गठन गर्नमा व्यस्त छन् , जवकी पार्टीको बेवास्ताकै कारण हत्केलामा जीवन राखेर प्राण त्याग्न तयार तत्कालिन माओवादीका युवाहरु हजारौको संख्यामा साउदी, मलेसिया र कतारमा कष्टकर श्रम गर्न बाध्य छन् ।
के नेता र दलहरुलाई चुनाव आएपछि मात्र कार्यकर्ता, समर्थक, सुभेच्छुक र आफन्त चाहिने हो ? जनताहरु चुनावका बेला नेताहरुलाई माथि उकाल्ने भ¥याङ मात्र हुन् ? चुनावमा मत माग्न आउँदा नेताहरुलाई कार्यकर्ता र समर्थकहरुले यो प्रश्न अवश्य सोध्ने छन् । चुनाव आउन थालेका बेलामा जस्तै कार्यकर्ता, समर्थक र सुभेच्छुकहरुलाई नेता ज्युहरुले सधैं माया गरिदिए कस्तो हुन्थ्यो होला ?
प्रतिक्रिया