रोल्पा । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीमगरले नेपालमा संघीयताको आवश्यकता मात्रै होइन अनिवार्यता नै भएको बताएका छन् । रोल्पाको लिवाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएकाले संघीयताको आवश्यकता मात्रै नभएर अनिवार्यता नै भएको बताए । उनले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेकोले त्यसका विरुद्धमा सबै राजनीतिक दलहरुको साझा ऐजेण्डा बनाएर संघीयतको रक्षा गर्नुपर्ने बताए ।
“संघीयता आम नेपाली आमाका सन्तानहरुको बलिदान, राजनीतिक दलहरुको साझा आन्दोलनबाट आएको हो, त्यसैले संघीयता नयाँ शासन पद्धतीका भएकाले आवश्यकता छ, संघीयता विरोधीहरुले नै खारेज गर्न खोजेका छन् तर ति शक्तिको विरुद्धमा सबैले सचेत हुनुपर्दछ । ” उनले भने ।
सभामूख घर्तीले नेपालमा संघीयताको खारेजी होइन कि यसमा देखिएको समस्या तथा गलत प्रवृत्तिलाई अन्त्य गर्दै राजनीतिक संस्कार अनुसार अगाडि बढाउनुपर्ने बताए । संघीयतालाई कतिपय शक्तिहरुबाट असफल बनाउनतिर लागि रहेको बताउँदै अधिकारको कुरा गर्दै गर्दा सचेत नागरिकले कर्तव्यको बोध गरी संघीयतालाई बलियो बनाउनुपर्ने औंल्याए ।
उनले जन आन्दोलनका कारणले गर्दा समावेशी, समानुपातिक, प्रणालीका माध्यमबाट सम्पूर्ण विभेदको अन्त्यका लागि मुलुक अगाडि बढेकोले प्रणाली खराव नभएको तर प्रणालीमा रहेका मानिसहरुको कारणले गर्दा नै असफल हुने खतरा बढेको बताए । “ यो प्रणालीलाई सुधार गर्दै जाने हो तर हामी सबै जिम्मेवारी भएनौ भने हाम्रै कारणले नै असफल हुन सक्छ, त्यसमा सबै जिम्मेवार बनौँ ।” उनले भने ।
उनले संघीय संरचनामा पहिलो पटक अभ्यास भएकाले गर्दा आफूहरुले आधारभूत रुपमा कार्य कानून निर्माण, अन्य कार्य सम्पादनमामा ध्यान केन्द्रीत गर्नु परेको बताए । उहाँले लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशनसम्म पुग्दा ८२ वटा विधेयकहरु दर्ता भएका र ७२ वटा विधेयक पारित भएको बताए । राजनीतिक रुपमा आएका असहजताहरुले लुम्बिनी प्रदेशका विषयगत समितिहरु लामो समय अपूर्णता भएपनि हाल सबै राजनीतिक दलहरुमा सहमतिमा आएर पूर्णता दिइएको बताए ।
उनले प्रदेश सरकारले प्रहरी ऐन, निजामति ऐन, लोकसेवा ऐन पारित भएर अगाडि बढेमा मात्रै प्रदेशको उपयोगिता देखिने दाबी गरे । एउटा प्रहरी भर्ना नगर्न सक्ने मन्त्री, एक जना कर्मचारी भर्ना नगर्न सक्ने प्रदेश, कर्मचारी सरुवा बढुवा गर्न पनि संघकै मुख ताक्नु पर्ने अवस्थाका कारण प्रदेशको के काम ? भन्ने आशंका उत्पन्न भएको बताउँदै उनले प्रदेशको उपयोगितालाई जनतामा स्थापित गर्नेुपर्ने बताए ।
उनले नेपालमा परिवर्तन शहीद, बन्दी, बेपत्ता लगायत आम जनताको योगदानले आएको बताउँदै आफूहरुले कुनै पनि राज्यसत्तामा पुगेर आफ्नो वर्ग, धरातल कसैले पनि भूल्नु नहुने बताए । सभामुख पूर्ण घर्तीमगरले द्वन्द्वपीडित, शहीद परिवार, बन्दी, बेपत्ताको सम्मान तथा राहतका लागि स्थानीयहरुले नै सम्वोधन गर्नुपर्ने समेत बताए ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता अचार्य, उपप्रमुख कर्मलाल परियार, मुख्यमन्त्रीका प्रेस संयोजक एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर लगायत सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया