२६ पुस २०८१, शुक्रबार | January 10, 2025

स्थानीय तह निर्वाचन : तालमेलले कांग्रेसमा चर्को असन्तुष्टि



काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ । तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ ।

विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ । महानगर समितिले भने यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो ।

यसअघिको निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेस मेयर र उपमेयर दुवै पदमा विजयी भएको थियो । विराटनगरका १९ वडामध्ये ७ वटामा कांग्रेसका उम्मेदवारले जितेका थिए । २०७४ सालमा जसपा ६, नेकपा (एमाले) ३, माओवादी केन्द्र १ वटा वडामा विजयी भए । स्वतन्त्र उम्मेदवारले २ वटा वडाध्यक्ष जिते ।

यसअघिको परिणाम र यसपटक संगठन झन् मजबुत भएको आँकलन गर्दै कांग्रेसले विराटनगरमा कोहीसँग पनि तालमेल आवश्यक नरहेको भनेर निर्णय गरेको थियो । विराटनगरको मेयरमा महानगर समितिले डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दीरा कार्की, दीपक चापागार्ईं र गोपाल रेग्मीको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेकामध्ये संग्रौला, अर्याल, कोइराला र पराजुली मुख्य दाबेदार हुन् ।

उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा। सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेकामध्ये अहिले भीम पराजुली मेयर र इन्दिरा कार्की उपमेयर छन् । तालमेलका क्रममा विराटनगरको उपमेयर पाएको जसपाले भने उम्मेदवार सिफारिस गरिसकेको छैन ।

कांग्रेस विराटनगरका सभापति दीपक चापागाईंले गठबन्धनको निर्णय अस्वीकार गरिने बताए । ‘हामीलाई गठबन्धन चाहिँदैन । निर्णय कुनै पनि हालमा स्वीकार गर्दैनौं,’ उनले भने, ‘सरकारमा रहेका गठबन्धनका नेताहरू बसेर भएको निर्णय हो । हामी कांग्रेसका कार्यकर्ता हौं ।’ पार्टी केन्द्रबाट महानगर समितिमा गठबन्धनको निर्णयका बारेमा कुनै पनि परिपत्र प्राप्त नभएको सभापति चापागाईंको भनाइ छ। ‘विधानअनुसार पार्टी चलाउनुपर्छ भन्ने हाम्रो अडान हो ।’

२०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि विराटनगरमा कांग्रेस एक्लै चुनावमा होमिएको थियो । एमाले र तत्कालीन फोरम लोकतान्त्रिक तथा माओवादी र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ६ : ४९ बजे

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका

हुम्लाको खार्पुनाथमा औषधि अभाव

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ ।

वडाध्यक्षको तरकारीखेती मोह

कञ्चनपुर । शुक्लाफाँटा-३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा

लुम्बिनी प्रादेशिक अस्पतालमा विपन्न तथा गरिबको सहारा : सामाजिक स्वास्थ्य इकाई

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक स्वास्थ्य ईकाइ’ गरिब