बुटवल । बुटवललाई औद्योगिक शहरकारुपमा ब्याख्या गरिएपनि बुटवललाई औद्योगिक बुटवल बनाउने पात्रहरुको भने खासै चर्चा हुने गर्दैनन् । व्यापारको केन्द्र बटौली, भट्टी पसलकारुपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ त्यति चर्चा बटौलीलाई आधुनिक बुटवल हुँदै औद्योगिक बुटवल बनाउने पात्रहरुको भने कमै चर्चा हुने गरेको छ ।
विशेषगरि पारी बुटवलबाट नगरपालिका साविक खस्यौली हालको आधुनिक बुटवलमा सरेपछि नै बुटवल औद्योगिक शहरकारुपमा चिनिन थालेको हो । बस्ती बस्दाको अवस्थामा भारतबाट लामपाते सुर्ति गाडामा ल्याउने, नुन मट्टीतेल, कपडाका हातबजारकारुपमा परिचय जमाइरहेको बटौली अहिले नेपालकै मध्यभागको औद्योगिक शहरका रुपमा परिचित छ । घ्यु खारेर बेच्ने उद्योगबाट सुरुभएको बुटवलको उद्योग यात्रा अहिले राष्ट्र र अन्तर्राष्ट्रसम्म फैलिन सफल भएको छ । बुटवललाई उद्योगीहरुको शहरकारुपमा चिनाउने उद्योगीहरु मध्य एउटा नाम हो निर्मल प्रसाद कसजु । कसजु आधुनिक बुटवल बन्दै गर्दा बुटवलको उद्योग जन्माउने उद्योगीमा पर्छन ।
कुनै बेला बुटवलमा सिजनल व्यापार गर्ने कसजु परिवार यतिबेला चर्चित उद्योगी परिवारका रुपमा चिनिन्छन् । रिडीबाट बुटवल होलसेल किराना पसल चलाउने उद्देश्यले बटौली झरेका निर्मल कसजु बिस्तारै उद्योगतर्फ आकर्षित भए । तत्कालिन बुटवलमा उनी निक्कै सफल व्यापारीमा गनिन थाले ।
उनले बुटवलमा नै पहिलो मुद्रण उद्योग संचालन गरेकाले उनी बुटवलका उद्योगका संस्थापक पनि हुन भन्न सकिन्छ । नेपालमा राणा बिरोधी आन्दोलन चलिरहँदा निर्मललले बटौलीमा प्रिन्टिङ प्रेस चलाए। बुटवल १ मा स्थापना गरेको निर्मल प्रिन्टिङ प्रेसले धेरै राजनीतिक आन्दोलनमा सहयोग गर्यो । बिसं. २००९ बाट २०३७ सालसम्म प्रेस संचालनमा आयो । मुद्रण उद्योगबाट हौसिएका निर्मलले बिस्तारै अर्को उद्योगकारुपमा घरेलु साडी कपडा उत्पादनमा लागे। उद्योगमा रस बसेका उनी त्यतीमा रोकिएनन् । लगातार उद्योगको बिस्तार गर्ने क्रममा उनले बुटवलमा पहिलो हवाई चप्पल यतिको पनि उत्पादन सुरु गरे । यती चप्पलले कुनै बेला नेपालमा हङ्गामा मच्चाएको थियो । चप्पल उद्योग शुरुशुुरुमा राम्रो बजार लिएपनि बिस्तारै चाईनिज बजारले चप्पलको बजारलाई सुकायो ।
बजार उद्योगमा वैदेशिक लगानी खुला भएपछि प्रतिस्पर्धा बढ्न थाल्यो र उद्योगीहरुलाई चुनौती पनि थपिँदै गयो । निर्मल र उनका परिवार जस्तो सुकै चुनौतीबाट पनि पछि हटेनन् । प्रतिस्पर्धाकै बीचमा कसजु परिवारले प्रेसर कुकुर उद्योग र ज्ञानी पानीको उद्योग पनि सञ्चालन गरे । तर देशमा चलेको अस्थिर राजनीतिका कारण एकपछि अर्को उद्योग बन्द हुँदै गए । निर्मलले सुरु गरेको उद्योग संचालनको रफ्तारलाई उनका सन्ततीहरुले पनि निरन्तरता दिँदै गइरहेका छन् । सरकारको उद्योगमैत्री नीति नहुदा धेरै कठिनाई भएको निर्मलका छोरा रञ्जन कसजुले दुखेसो गर्छन् । बुवाकै प्रेरणामा नेपालको पहिलो प्रेस कुकर समेत उत्पादन गरेका रञ्जन माओवादी द्वन्द्वकालको कठिन समयमा बन्द गर्नुपरेको बताउँछन् ।
पानी उद्योग सफल हुन विभिन्न अवरोध आएपनि कसजु परिवारले उद्योगको यात्रा बन्द गरेनन् । द्वन्द्वको चर्को प्रभावकाबीच कसजु परिवारले विकल्प खोज्ने क्रममा खानेपानी टंकी रोजे । नेपाली बजारमा एकलौटी रुपमा काठमाडौ उत्पादित पानी टंकीले बजार लिएरहेको बेला मोफसलबाट उनले पानी ट्याङ्की उद्योग खोले । ज्ञानी पोलिपाईप इण्डष्ट्रिज दर्ता गरे। २०५८ सालमा नेपालको पहिलो चम्किलो पानी टंकि भन्दै नारायणी वारी कसजु परिवारले पश्चिम नेपालमा टंकी उद्योगको सुरुवात गरेका थिए । चम्किलो पानी टंकीबाट सुरु भएको कसजु परिवारको टंकी यात्रा अहिले ज्ञानी पोलि टंकीकारुपमा निरन्तर जारी रहेको छ ।
‘उद्योगबाट छिटो नाफा कमाउन भन्दा रोजगारी सृजना गरेर आर्थिक विकास तर्फ हाम्रो ध्यान केन्द्रीत छ ।’ उद्यागी रञ्जन कसुजु बताउँछन् । सम्भवत रञ्जनले बुटवलमा उद्योग व्यापारमा प्रयोग नगरेको विषय कमै होलान् । रञ्जनले नै बुटवलमा कुनै बेला ज्ञानी सपिङ सेन्टर पनि संचालनमा ल्याएका थिए ।
बुवा निर्मलले थालेको अभियानलाई निरन्तरता दिँदै स्वदेशी उद्योगमार्फत आर्थिक समृद्धि र युवा रोजगार सृजना गराउन उद्योग सफल भएको रञ्जन दाबी गर्छन् । उद्योगसंगै निर्मल सामाजिक संस्थाहरुमा सक्रिय हुन थालेसँगै निर्मलको उद्योग व्यवसायको विरासत उनका छोरा नातीहरुले धानिरहेका छन् । विशेषत निर्मल कसजु पाल्पा उद्योग वाणिज्य संघमा अध्यक्षको पदमा रहेर व्यवसायीक राजनीतिमा सक्रिय भएपछि उनका अन्य छोराहरुले जस्तै रञ्जनले निर्मलको मुल विरासत धान्दै आएका छन् । निर्मलका ४ भाई छोरा मध्य जेठा छोरा ज्ञानेन्द्र कसजुले पनि उद्योग नै धानेका छन् भने माइला निरन्जन कसजु बाणिज्य क्षेत्रमै सक्रिय छन् । साँइला रञ्जन कसजु ज्ञानी ब्राण्डबाट आफुलाई नेपालमा चिनाउन सफल उद्योगी बनेका छन् । कान्छा अन्जन कसजु घर गृहस्थीमा व्यस्त छन् । निर्मलका साँहिला छोरा रञ्जन कसजुका २ भाई छोराले पनि बाजेको बिरासत धानेका छन् । अहिले दुबै नाती निर्मित कसजु र प्रतिक कसजु पनि टंकी र पाईप उत्पादन तथा वितरणमा व्यस्त छन् ।
संख्यामा भन्दा गुणको चिन्ता
बजारमा कतिपय एउटै उद्योगहरुले फरकफरक ब्राण्डमा उत्पादन गरेर उपभोक्तालाई गुणस्तर अनुसारको मुल्य फरक राख्ने गरेको भएपनि ज्ञानीका पोलि टंकीहरु उच्च र समान गुणस्तरको रहेको रञ्जनको दाबी छ । गुणस्तरमा सम्झौता नगरि एउटै ज्ञानी ब्राण्ड बनाएर उत्पादन गरिएको रञ्जन बताउँछन् । रञ्जनले टंकीसँगै एचडीपी पाईप, एचडी पाईप, गार्डेन पाईप र पोलिमर उत्पादन गर्दै आएकोमा उद्योगको स्तर उन्नती गर्दै सिपिभिसि पिभिसि पाईपहरुको पनि उत्पादन थालेका छन् । नारायणी पश्चिममा ज्ञानी ब्राण्डको लोकप्रियतालाई कायम राख्न सिपिभिसि पिभिसि पाईपहरुको उत्पादन थालिएको उनले बताए ।
जर्मन कोलाब्रेसनमा भारतमा उत्पादन भएको काभ्राको मेशिन प्रयोग भएको कसजु परिवारका तेस्रो पुस्ता निर्मित कसजुले बताए । बाजेले थालेको अभियानलाई निरन्तरता दिँदै पछिल्लो समय ज्ञानीको बजार निर्मितले सम्हाल्न थालेका छन् । कसजुका अनुसार बजार चलेका उद्योगहरुमा चलेका अन्य मेशिनका तुलनामा काभ्राको लगानी दोब्बर छ भने गुणस्तरमा पनि उच्च रहेको छ । दैनिक ७० हजार लिटर बराबरको टंकी उत्पादन हुँदै आएको छ। टंकीको कच्चा पदार्थ साउदी अरब र भारतबाट समेत आउँछ । यसैगरि पिभिसि सिपिभिसिको प्रतिघण्टा २ सय किलो पिभिसि र सिपिभिसि डेढ सय किलो उत्पादन हुँदै आएको छ। जसको कच्चा पदार्थ कोरिया, जापान, थाईलैण्डबाट आउँछ ।
३ सय नेपाली रोजगार
ज्ञानी उद्योगले प्रत्यक्ष अप्रत्यक्ष गरी ५० जना तथा प्रतिष्ठानमा रहेको अन्य उद्योगमा समेत गरि साढे ३ सय नेपालीलाई रोजगारी प्रदान गरेको छ । सामान्यतया नेपालका उद्योगहरुमा विदेशबाट दक्ष जनशक्ति मगाएर उद्योग चलाउने गरेपनि ज्ञानी प्रतिष्ठान भित्र विदेशी श्रमिक छैनन् । सबै नेपालीले नै रोजगारी पाएका छन् ।
उद्योग मैत्री नीति भएन
नेपालमा उद्योग संचालन गर्न र सफल हुन सरकारको उद्योग नीति नै बाधक रहेको उद्योगी रञ्जन कसजुको ठहर छ । उद्योगलाई पायक पर्ने स्थानहरुमा परिक्षणको ल्यावहरु सरकारले नै संचालन गरि बेलाबेलामा अनुगमन गर्नुपर्नेमा उद्योग आफैलाई ल्याव राख्न बाध्य पारेर उद्योगको लागत बढाउने काम सरकारले गरेको उनको आरोप छ । नेपालमा नेपाल गुणस्तर प्राप्त गर्न पनि त्यती सहज नभएको कसजु बताउँछन् । कच्चा पदार्थमा भन्दा तयारी माल वस्तुमा भन्सार दर कम गरेर सरकारले स्वदेशी उद्योगलाई धाररासायी बनाउने काम गरेको भन्दै कसजुले भारतसँग सीमा जोडिएका बजारमा भन्सार छलेर पाइपहरुको चोरी पैठारी हुने गरेका कारण उद्योगहरुलाई असर परेको बताउँछन् ।
ज्ञानी ब्राण्डको आफ्नै बाहेक साझेदारीमा अन्य उद्योगहरु पनि संचालनमा छन् ।
प्रतिक्रिया