१५ मंसिर २०८१, शनिबार | November 30, 2024

लघुवित्तको जालमा ग्रामीण महिला



गुल्मी । गुल्मीदरबार गाउँपालिका-४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त वित्तीय संस्थाबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइन् । तर, कोरोना कहरका कारण लकडाउन भएपछि उनी आर्थिक समस्यामा परिन् । फलतः उनले नियमित किस्ता बुझाउन सकिनन् । पछिल्लो पाँच महिनामा उनले २७ हजार रुपैयाँ बुझाएकी थिइन् । तर, आफ्नो हिसाब-किताब भने थाहा पाइनन् ।

पेमीले उन्नत्ति लघुवित्तबाट पनि डेढ वर्षअघि ३ लाख रुपैयाँ ऋण लिएकी थिइन् । १८ महिनामा साँवा र ब्याजसहित तिरेर सक्नुपर्ने भए पनि विगत पाँच महिनादेखि उनले किस्ता बुझाएकी छैनन् । भैंसीपालनका लागि लिएको ऋणको किस्ता तिर्न छोडेपछि अहिले कुनै हिसाब उनीसँग छैन ।

त्यस्तै, उनले चार वर्ष वर्षअघि तीन वर्षको समय राखेर स्पर्श लघुवित्तबाट डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋण लिएबापत उनले किस्तास्वरूप मासिक ५ हजार ५ सय बुझाउँथिन् । तर, लकडाउन भएदेखि उनले त्यसको पनि किस्ता बुझाउन सकेकी छैनन् । स्पर्शमा अझै १ लाख ३० हजार रुपैयाँ बुझाउन बाँकी रहेको पेमी बताउँछिन् ।

पेमीले झन्डै एक दर्जन संस्थाबाट ऋण लिएकी छन् । उनले देउराली लघुवित्तबाट ८० हजार, नेपाल एग्रोबाट १ लाख, जनसेवीबाट डेढ लाख, बलेटक्सारको नाडेकबाट ८० हजार र ग्लोबल लघुवित्तबाट ८० हजार रुपैयाँ ऋण लिएकी छन् । जसमध्ये नेपाल एग्रोमा ५५ हजार बुझाउन बाँकी छ भने नाडेकमा २८ हजार रुपैयाँ मात्रै बुझाएकी छन् । अन्यमा ऋण तिर्न नै बाँकी छ ।

यसरी हेर्दा पनि उनले विभिन्न आठ लघुवित्त संस्थाबाट १२ लाख ४० हजार रुपैयाँ ऋण लिएकी छन् । हिसाबकिताब नमिलेपछि ११ वर्षअघि आबद्ध भएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाबाट भने उनी अलग भएकी छन् । सबै संस्थाबाट भैंसी एवं बाख्रा पालनका लागि ऋण लिएकी उनीसँग हाल घरमा एउटा पनि भैंसी छैन । चारवटा बाख्रा भने छन् ।

पेमी मात्र होइन, अहिले जिल्लाका गाउँका धेरै महिला लघुवित्तको जालमा फसेका छन् । लघुवित्तले हचुवाका भरमा ऋण दिने तर महिलाहरूलाई उद्यमी नबनाउँदा समस्या बल्झिँदो छ । एउटा संस्थाको किस्ता बुझाउन अर्को संस्थाबाट ऋण लिँदा र लघुवित्तले बिनाअध्ययन ऋण वितरण गर्दा समस्या थपिएको छ ।

अहिले एक जना महिलाको १ लाखदेखि १५ लाख रुपैयाँसम्म ऋण छ । ऋण तिर्न नसक्दा संस्थाका कर्मचारीले गाउँमा आतंक मच्चाउन थालेका छन् । ‘सूर्योदय, ग्लोबल र उन्नत्तिका कर्मचारीले बढी नै थर्काए, रातिराति घरमा आएर धम्की दिन्छन्,’ पेमीले भनिन्, ‘लघुवित्तको ऋणले रातमा निद्रा र दिनमा भोक छैन ।’

छत्रकोट गाउँपालिका-५ खज्र्याङ मैनडाँडाकी सीता गोतामेले पनि लघुवित्तका कर्मचारी घरमै आएर धम्की दिने गरेको बताइन् । ‘लकडाउनले समयमै ऋण तिर्न नसके पनि तिर्ने कुरा गरेकी थिएँ,’ उनले भनिन्, ‘कर्मचारी घरमै आएर थर्काउँदा संस्थाप्रति वितृष्णा भएको छ ।’ संस्थाले कानुनी उपचार खोज्न सक्ने तर धम्याउन नपाउने उनको भनाइ छ ।

कर्मचारीद्वारा ज्यान मार्ने धम्की

गुल्मीदरबार गाउँपालिका-३ की वसन्ती खासुले पनि लघुवित्तका कर्मचारीले घरमै आएर गाली गरेको गुनासो गरिन् । ‘ऋण तिर्न नसके झुन्डिएर मर, नभए गाडीमा हालेर मार्छौं भन्नेजस्ता ज्यान मार्ने धम्की दिन्छन्,’ उनले भनिन्, ‘कर्मचारीको धम्कीपूर्ण व्यवहारले गर्दा मानसिक तनाव थपिएको छ ।’ उनले विभिन्न संस्थाबाट ६ लाख रुपैयाँ ऋण लिएकी छन् ।

सहारा खोज्दै ऋणी प्रहरीचौकीसम्म

कर्मचारीले बढी नै धम्काउन थालेपछि ऋणी न्याय माग्दै प्रहरी चौकी जान थालेका छन् । कर्मचारीहरूले घरमै पुगेर ऋणीमाथि हातपात गर्ने अवस्था सिर्जना भएपछि उनीहरू न्याय माग्दै प्रहरीचौकी पुगेका हुन् । ‘लघुवित्तका कर्मचारी रातको समयमा घरमै आएर ऋण तिर्न नसक्ने भए भिरबाट हाम फालेर मर भन्न थाले,’ गुल्मीदरबार गाउँपालिका-१ की लीला रेश्मीले रुँदै भनिन्, ‘त्यसपछि लगत्तै प्रहरीचौकीमा ज्यान जोगाउन पुग्यौं ।’

रेश्मीले आफ्नो घरमा पुरुष कोही नभएकाले झन् त्रास भएको बताइन् । उनले स्पर्श लघुवित्तबाट छिमेकीका लागि १ लाख २० हजार रुपैयाँ ऋण झिकिदिएकी थिइन् । उनले हालसम्म उन्नत्ति सूर्योदय, चारतारे, ग्लोबललगायतका लघुवित्तबाट ऋण लिएकी छन् ।

लघुवित्तविरुद्ध संघर्ष समिति

गाउँमा लघुवित्तका कर्मचारीले गरेको व्यवहारविरुद्ध ऋणीहरूले संघर्ष समिति नै गठन गरेर विरोध गरेका छन् । उनीहरूले कार्यालयअगाडि नाराजुलुस गर्नेदेखि प्रशासनको समेत ध्यानाकर्षण गराएका छन् । संघर्ष समितिका संयोजक मणिराम ज्ञवालीले लघुवित्तीय संस्थाहरूले ऋण दिए पनि उद्यमी बनाउन नसिकाउँदा समस्या आएको बताए । उनले ऋणीहरूको सबै ऋण मिनाहा गर्नेगरी संघर्षका कार्यक्रम अगाडि बढाएको उल्लेख गरे ।

ऋण छुट हुन सक्दैन: प्रमुख कार्यकारी अधिकृत

उन्नत्ति लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठकले ऋणीको ऋण छुट गर्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिए । ‘ऋण नै छुट गर्ने राज्यले छुट्टै नीति ल्याए एउटा कुरा हो,’ उनले भने, ‘हाम्रो तर्फबाट त्यस्तो कुनै योजना छैन ।’

कर्मचारी पुगेर धम्काउनु गलत भएको उनको भनाइ छ । उनले ऋणीको केही समस्या भए छलफलबाट समाधान गर्न सकिने तर संघर्ष समितिबाट ऋण छुट हुन नसक्ने बताए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले घटना’ प्रशासनले गम्भीर तरिकाले अध्ययन गरिरहेको बताए । आजको राजधानी दैनिकमा हुमाकान्त पोखरेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : २८ बजे

मार्ग शीर्ष कृष्ण चतुर्दशी : शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै

काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मार्गशीर्ष कृष्ण त्रयोदशी : पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो

काठमाडौं । मार्गशीर्षकृष्ण त्रयोदशीका अवसरमा आज बेलुकीदेखि पशुपति क्षेत्रमा दिवंगत

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् ।