नेपालगन्ज । पत्रकारको आवरणमा नेपालगन्जमा प्रहरीसँग वार्गेनिङ गर्न पुगेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आफुलाई पत्रकार भएको बताउँदै परिचय पत्र देखाएर नेपालगन्ज भन्सारमा खटिएका नेपाल प्रहरीका जुनियर अफिसरसँग पैसा माग्न पुगेका मनोज तमोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
तमोलीले नेपालगन्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग १० हजार रकम मागे पछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तमोलीले १० हजार रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए । जानकी गाउँपालिका–६ गनापुर निवासी तमोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बाँके प्रहरीले जानकारी दिएको छ ।
जमुनाहा प्रहरीका इन्चार्ज मिनबहादुर विष्टका अनुसार अनावश्यकरुपमा प्रहरीलाई धम्काएर रकम मागेको पाइएपछि तमोलीलाई नियन्त्रणमा लिइएको हो ।
प्रतिक्रिया