२० पुस २०८१, शनिबार | January 4, 2025

वाग्मती किनारका अनधिकृत संरचना भत्काउन सुरु



काठमाडौं । वाग्मती किनारको दायाँबायाँ स्वीकृति नलिइ अनधिकृतरुपमा बनाइएका संरचना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भत्काउन सुरु गरेको छ ।

समितिसँग स्वीकृति नलिइ बनेका संरचनाका कारण वाग्मती नदीको सौन्दर्यकरणमा समस्या भएपछि भत्काउन सुरु गरिएको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । मङ्गलबार स्वीकृति नलिइ बनेका १८ वटा संरचना भत्काइएको उनले बताए । अनधिकृत संरचना भत्काउने अभियान आज पनि जारी रहने छ । पहिलो चरणमा गुह्येश्वरीमाथिका संरचना भत्काइएको छ ।

गुह्येश्वरीबाट गोकर्ण बाँधसम्म नदीको दायाँबायाँ स्वीकृति नलिइ बनेका ३९ संरचना निर्माण भएका छन् । अवैध रुपमा बनेका संरचनाको अध्ययन गर्न समितिले वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीको संयोजकत्वमा समिति नै गठन गरेर अध्ययन गरेको थियो । समितिमा इञ्जिनीयर मिहीरचन्द्र आचार्य, समाजशास्त्री पुरुषोत्तम कँडेल, सामाजिक विकास अधिकृत निरञ्जन पुडासैनी र वाग्मती सफाइ अभियानकर्मी गोविन्द काफ्ले सदस्य रहेका थिए ।

अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा अधिकार सम्पन्न वाग्मती समितिले संरचना भत्काएको हो । नदी किनारमा मन्दिर, किरियापुत्री भवन, प्रतीक्षालय, प्रहरी बिटलगायत संरचना निर्माण गरिएको छ । मन्दिर भने नभत्काइने समितिले जनाएको छ ।

जम्बोडाँडा र माकालबारी सानोपुलमा पनि प्रहरी बिट छ । प्रहरी बिट पनि नभत्काइने जनाइएको छ । स्वीकृति नलिइ बनेका किरियापुत्री भवन भने भत्काउने तयारी गरिएको छ । नदी किनारमा आवश्यक संरचना भने सौन्दर्यकरणकै क्रममा बनाइने छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका संरचना भने यथावत् राखिने छ ।

गुह्येश्वरीमाथिको नदी किनारमा भेटिएका तीन किरियापुत्री भवनमध्ये एउटाले मात्र स्वीकृति लिएको छ । ग्रिनहिलसिटी, नारायणटार पुल र माकालबारीमा ती किरियापुत्री भवन छन् । यीमध्ये माकालबारीको किरियापुत्री भवनले मात्र स्वीकृति लिएको छ ।

गुह्येश्वरी–बल्खु खण्डमा सुकुम्बासी समस्या

गुह्येश्वरीबाट बल्खुसम्मको नदी किनारका दायाँबायाँ रहेका संरचना पनि भत्काउने अधिकार सम्पन्न वाग्मती समितिको तयारी छ । यो क्षेत्रमा प्रमुखरुपमा सुकुम्बासी समस्या छ । सुकुम्बासीका बारेमा पनि समिति गठन गरेर अध्ययन गरिएको सूचना अधिकारी अर्यालले सुनाए । ।

सुकुम्बासी बस्तीमा अध्ययनका क्रममा ८९ प्रतिशतले जग्गा दिए सर्छौं भनेका छन् । एघार प्रतिशतले भने घर नै माग गरेका छन् । नदी किनारका सुकुम्बासीका बारेमा अध्ययन गर्न अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक समिति सदस्य वीरेन्द्र थपिलियाको संयोजकत्वमा समिति गठन गरिएको छ । अध्ययनका क्रममा समितिले नदी किनारमा बस्ने ४० प्रतिशत सुकुम्बासी र ६० प्रतिशत भने राजनीतिक कारणले बसेको तथ्य पत्ता लगाएको छ ।

सुकुम्बासी समस्या समाधानका लागि आयोग गठन भएकाले समस्या समाधानका लागि विभिन्न चरणमा छलफल भएको छ । भूमिसम्बन्धी ऐनमा नेपालभर कुनै पनि स्थानमा जग्गा हुनेले सुकुम्बासी भनी जग्गा लिएको पुष्टि भएमा सम्पत्ति जफत गरी एक वर्ष जेल र रु एक लाख जरिवानाको व्यवस्था छ ।

थापाथली क्षेत्रका सुकुम्बासीसँग यस विषयमा आगामी हप्ता छलफल गर्ने तयारी गरिएको छ । अधिकार सम्पन्न वाग्मती समितिले यसअघि काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका आयोग पदाधिकारीसँग छलफल सम्पन्न गरेको जनाइएको छ ।

गुह्येश्वरीबाट बल्खुसम्मको नदी किनारमा पनि अनधिकृत संरचना प्रशस्त बनेको वाग्मती सफाइ अभियानकर्मी गोविन्द काफ्ले बताउँछन् । यस क्षेत्रमा अधिकार सम्पन्न वाग्मती समितिले केही व्यक्ति र संस्थालाई संरचना बनाउन दिएको भन्दै सफाइ अभियानकर्मीको समूहले गत महिना ज्ञापनपत्र बुझाएको थियो ।

वाग्मती–मनोहरा दोभान, वाग्मती–रुद्रमती दोभान, वाग्मती किनारको शङ्खमूल क्षेत्र, थापाथली, टेकु र वाग्मती–विष्णुमती दोभान क्षेत्रमा पनि व्यक्ति तथा व्यावसायिक समूहलाई संरचना बनाउन दिएर वाग्मती नदी प्रदुषण बनाउन भूमिका खेलेको सफाइ अभियानकर्मी गोविन्द काफ्लेको आरोप छ । -रासस

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ५९ बजे

आँधीखोलामा तटबन्ध निर्माण

वालिङ । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको

राप्रपा नेपालको बैठकमा कमल थापाको प्रतिवेदनमाथी छलफल जारी

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको

मिनी म्याराथनको उपाधी विशाल र सामनालाई

बुटवल । रुपन्देहीमा सम्पन्न मिनी म्याराथन प्रतियोगिताको उपाधी बिशाल पाण्डे

शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई