काठमाडौं । सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जयराम श्रेष्ठले जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको खेलमा नेपालका नम्बर एक भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै जयरामले उपाधि जितेका हुन् ।
अन्तिम दिन ४ अन्डर ६४ अंक जोडेका जयरामले कुल ९ अन्डर २ सय ६३ अंक जोड्न सके। आफ्नो करियरमै पहिलो उपाधिसँगै जयरामले १ लाख १० हजार नगद प्राप्त गरेका छन्।
भुवनले २ अन्डर ६६ अंकसहित कुल २ सय ६५ अंक जोडेर ७४ हजार प्राप्त गरेका छन् । यस्तै ५ अन्डर २ सय ६७ स्कोरसहित तेस्रो भएका दिनेश प्रजापतिले ६० हजार प्राप्त गरे ।
कुमार कामी, भुवन कुमार रोक्का र रबि खड्का संयुक्त चौंथो हुँदै ४२ हजार नगद प्राप्त गरे ।
शुक्रबहादुर राई सातौं हुँदै ३२ हजार प्राप्त गरे भने धनबहादुर प्रजापति र संजय लामा आठौं भए । उनीहरुले २६ हजार ५ सय पाए । अन्तिममा रहेका विनोद तामाङले २३ हजार प्राप्त गरेका छन्।
सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फमा ४० पेशेवर र १५ एमेच्योर गल्फर गरी जम्मा ५५ खेलाडीको सहभागिता रहेको छ ।
प्रतिक्रिया