मेलम्ची (सिन्धुपाल्चोक) । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् ।
मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिन्छन् । उनीहरूलाई न त दिनमा भोक छ न त रातमा निद्रा । असार १ गते मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची नगरपालिकाको ३ हजार ५०० रोपनी धान खेतलाई बगरमा परिणत गरेपछि यहाँका किसानलाई असारको चटारो छैन ।
‘चैतमा रोपेको धान भित्र्याएर हिजोआज रोपाइँमा व्यस्त हुने बेला हो यो । अहिले खेतसँगै घर बाढीले पुर्यो, लहलह हुन थालेको धान खेत ढुंगा र बालुवाले पुरेको छ,’ आँगनको डिलमा बसेर मेलम्चीको बाढीले पुरेको खेत हेर्दै ८६ वर्षीय टंकप्रसाद दुलालले सुस्केरा हाल्दै भने ।
उनले २०२४ सालमा मेलम्चीमा बाढी आए पनि यस्तो विनाश र दुःख भने नदिएको स्मरण गरे । आफ्नो जीवनमा पहिलो पटक असार महिनामा समेत चौतारामा बसेर गफ गर्ने समय पाएको र वर्षभरि पालेका गोरु असार साउनमा समेत फुर्सदिला भएको विरह उनले सुनाए । असार १ गते आएको बाढीले पसाइसकेको धानसहित उनको १२ रोपनी खेत बगरमा परिणत गरेको थियो ।
‘एक बालीमै ५० मुरी फल्ने खेत बालुवा र ढुंगामुनि होला भनेर कसले पो सोचेको थियो हो र ?’ दुलालले भने ।
मेलम्चीकै ठाकुरप्रसाद रिजालको अवस्था पनि यस्तै छ । मध्य असारमा समेत रोपाइँ गर्नु नपर्ला भनेर आफूले सपनामा समेत नसोचेको उनले बताए । ‘यो बेला रोपार, बाउसे, गोरु र हली खोज्न व्यस्त रहने हामी यो वर्ष बाढीले पुरेको खेत हेरेर बसिरहेका छौं,’ रिजालले भने ।
व्यावसायिक रूपमा भैंसीपालनसमेत गर्ने रिजाललाई यस वर्ष भैंसीलाई खुवाउने परालको जोहो कसरी गर्ने होला भनेर चिन्ता समेत थपिएको छ । घर पुरिएपछि सामुदायिक भवन र विद्यालय भवनबाट भाडामा कोठा खोजेर बिस्तारै दैनिक व्यवस्थित बनाउने प्रयासमा रहेका मेलम्चीका बाढीपीडितलाई जीविकोपार्जनमा भने समस्या परेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताइन् ।
उनले असार महिनामा पनि किसान फुर्सदिला हुनु भनेको दीर्घकालीन रूपमा खाद्यान्नलगायतको समस्या देखिन सक्नेतर्फ आफूहरू गम्भीर बनेको बताइन् । ‘मेलम्चीलाई पुरानै लयमा फर्काउन र अर्को वर्षासम्म लहलह धान फलाउने खेत बनाउन प्रयास गरिरहेका छौं,’ उनले भनिन् । उपप्रमुख नेपालले नदीलाई पुरानै धारमा फर्काउन १० वटा डोजर र दर्जनौं टिप्पर प्रयोग गरिरहेको बताइन् । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन ।
प्रतिक्रिया