प्राबिधिक बिसयमा भर्खर स्नातक तह सकेर जागिरको खोजीमा रहेकी ताराको जिमेल बक्समा, उसले यप्लाइ गरेका विभिन्न संस्था मध्ये एकबाट इमेल आयो । लेखिएको थियो ‘ यु ह्याब बिन सेलेक्टेड फर इन्टरभ्यू ।’ तारामा खुशीको सिमा रहेन । आमाबाबा, भाइबहिनी सबैलाई खुसी भएर सुनाउँदै थिई । तर उहीँ समयमा ताराको मनमा एक किसिमको डरले पनि डेरा जमाइरहेको थियो, ‘इन्भरभ्यू पास गर्न सकिन भने !’ यस्तै अन्यौलताबीच नै ताराले इन्टरभ्यू सहितको लिखित परीक्षा पास गरी आफुलाई अरुभन्दा अब्बल साबित गरेर मागिएको पदपुर्तीमा नियुक्ति पाउन सफल भई । सोही सस्ंथामा आफ्नो पहिलो जागिर सुरु गरी ।
जीवनको पहिलो जागिर, तारा आफूले सकेजति प्रयास गरी कामलाई न्यायपुर्ण रुपमा गरिरहेकी थिई । उसको लगनशीलता र मेहनतलाई मध्यनजर गर्दै संस्थाले पनि छ महिना भित्रमै प्रमोशन गराई उसलाई काम गर्ने उर्जा थपिदियो । प्राविधिक क्षेत्रको काम भएको कारण ग्रामीण भेगमा जानु र जीविकोपार्जन उत्थानका लागि कार्यक्रम संचालन गर्नु ताराको लागि सामान्य जस्तै भैसकेको थियो ।
सधैंजसो आफ्नै उमेर वा अलिकति तलमाथि उमेरका सहकर्मीहरुसँग आउजाउ गरिरहेकी तारा यसपालि अलिक उमेरले पाको भैसक्नुभएको, विभिन्न संघसंस्थामा काम गरी अब लगभग रिटायर लाइफको तयारी गरिरहनुभएका बुबा समानको सरसँग कुनै ग्रामीण भेगको कार्यकममा सहभागी हुँदै थिई। बुबा समानका सरबाट धेरै कुरा सिक्न पाउने आशामा निकै खुशी थिई तारा ।
तय गरिएअनुसार तारा र सर संस्थाकै गाडीमा सधैंझै ग्रामीण भेगतिर लाग्न बिहानै कार्यालय स्थानमै भेट भई जाने सल्लाह थियो । सोहीबमोजिम तारा बिहानै सबेरै अफिस पुगि । सिनियरिटिको हिसाबले सधैं अगाडि ड्राइभर नजिकको सिटमा बस्ने सर त्यो दिन भने पछाडि तारासँगै बस्नुभयो । यो देखेर तारा अचम्मित परि । उसलाई लाग्यो कार्यक्रमबारे केही छलफल गर्न छ होला । बाटोमा केही कार्यक्रमबारे सामान्य छलफल पनि भयो । छलफलबीच कुराकानी गर्ने क्रममा कहिले थाइमा त कहिले पाखुरामा सुस्त पिटेजस्तै गर्दै सरले छुन थालेपछि भने तारामा एक किसिमको डर पैदा भइसकेको थियो । तर कहिलेकाहीँ कुरा गर्दा झुक्किएर आफ्नै साथीभाइ बीच हुने क्रियाकलाप जस्तो सम्झि उसले । सामान्य रुपमा लिई । केही समयपछि खाजा खाने ठाउँ आइपुग्यो । तारा खाजा खाने ठाउँमा ओर्ली । सायद अब खाजा खान रोकेको ठाउँबाट चाहिँ अगाडि बस्नुहुन्छ होला सर भन्ने सोचेर तारा बेफिक्रीसँग हाँस्दै बोल्दै, ‘त्यो ठाउँमा त यस्तो मन्दिर छ रे सर भोलि बिहान जानुपर्छ हगि’ भन्दै पुनः गाडी चढी । तर सर फेरि पनि पछाडि उसै नेरको सिटमा आएर बस्नुभो । यो कुराले भने तारालाई अचम्मित र सशंकित तुल्याइसकेको थियो ।
साँझ गन्तव्यमा निश्चित होटलमा पुगिसकेपछि, होटलको रिसेप्सनबाट चापी लिएर तारा आफ्नो कोठातिर लागि । कोठामा पुगेर यसोे के थकाई बिसाउँदै थिई, ताराको मोवाइलको घण्टी बज्यो । अचम्म परि तारा । भर्खरै त कोठामा आएको किन फोन गर्नुभयो सरले भन्दै कुरा गरी, –‘हेलो हजुर सर, केही काम पर्यो कि?’ उताबाट आवाज आयो – ‘तेस्तो केही काम त हैन, फ्रेस भएर यता मेरो रुममा आउनु एउटा प्रिजेन्टेसन देखाउनु छ, भोलिको लागि तयार पारेको ।’
तारा हतारहतारमा हातमुख धोई लुगा फेरि । अनि के रहेछ भनि सरको रुममा पुगि । सर आनन्दले फलफूल काटेर खाँदै हुनुहुन्थ्यो । अनि उसले सोधी –‘ल्यापटप खै त सर, प्रिजेन्टेसन देखाउनु छ भन्नूहुन्थ्यो त !’ सरले खिस्स हाँस्दै ‘भोलि नै देखाउँला, अहिले थाकिहौली आउ बस स्याउ काट्दै छु खाएर जाउली’ भनेका शब्दले तारालाई बेकारमा किन दुःख दियाहोला अहिले बोलार भनी भित्र भित्रै रिस उठिसकेको थियो । तर बुबा समानका सरले भनिसकेपछि उ कुरा हार्न नसकी त्यहीँ कुर्चीमा बसी ।
फलफूल काट्ने खाने क्रम चलिनै रहेको थियो । सर एक्कासी उठि उसको टाउको सुम्सुम्याउँदै घरपरिवार बारे सोद्दा उ दङ्ग परी । उसले सरको हात झट्कारदै, सोधिएको प्रश्नको उत्तर दिँदै थिई । उहि समयमा झट्कारिएको हात टाउकोबाट थाइमा राख्दै किन झट्कारेको मेरो हात भन्दै फेरि हातमा समाई बिस्तरातिर तान्दै गर्दा, तारा आफुलाई सरको हातबाट छुट्याएर दौडिदै ढोकाको चुकुल खोल्न पुगी । तर पछाडिबाट आएर फेरि पाखुरा तान्दै गर्दा, तारा रुँदै प्लिज छोड्दिनु मलाई भन्दै सरको हातबाट आफ्नो हात छुटायर चुकुल खोल्न सफल भई । अनि रुँदै आफ्नो कोठामा पुगी । ढोकामा लाउन बनाएका र लाउन मिल्नेजति सबै चुकुल लगाई । बिस्तराको कुनामा बसि रोइरही ।
अत्तालियर के गर्ने के न गर्ने होस नपाएको बेला, आफ्ना अरु सहकर्मीहरुलाई मेसेज पनि गरी । तर रातको समय भएको हुनाले होला सायद कसैको मेसेजको रिप्लाई आएन । तारा थप अत्तालिँदै कसैलाई फोन त कसैलाई मेसेज गर्दै थिई । यतिकैमा फेरि ढोका ढकढक गरेको आवाजसँगै ‘तारा ढोका खोल !’ भनेको आवाज आयो । तारा अत्तालियर भएजति झ्यालका चुकुल पनि लगाएर रोइरही । तरपनि ढोका बाहिरबाट ढकढकाएको आवाज आउन छोडेन । निकै समयसम्म पनि ढोका नखुलेपछि, वरपर रुममा बस्नेले के भयो भनि सोधपुछ गर्दा, ‘यौटा सानो काम थियो मेरो स्टाफ हुन निदाइचन क्या हो भैगो भोलि बिहान कुरा गर्नुपर्ला’ भन्दै सर भनाउँदा आफ्नो कोठातिर लागेपछि सुस्केरा लिँदै गरेकी ताराको फोन फेरि बज्न थाल्यो । घरी कल त घरी मेसेज गर्दै उहीँ बाबू समान सरको घिनलाग्दो हरकतले तारा अतासिएर बिहानको प्रतीक्षामा रुँदै खाटको कुनामा बसिरही ।
कार्यलयको गाडीमा आउजाउ गर्ने गरेको हुँदा, तारा त्यो ठाउँको बसपार्कबारे अनभिग्य थिई । बिहान कार्यालयको कुनै एक सहकर्मीसँग फोन सम्पर्क भएपछि उसले सबैकुरा रुँदै बताई । उसका कुरा सुनीसकेपछि त्यहाँ एकछिन पनि नबसकीकन सिधै घरफर्कने सुझाब पाएपछि उ बिहानै प्याकिङ गरी तयार भैसकेकी थिई । फेरि बिहानपख ठोकामा ढकढक आवाज आयो – तारा तल हाम्रो संस्थाको सामाजिक परिचालिका आएर कुरिराख्नुभएको छ । तारा अकमक्क परी । जाउँ कसरी जाउँ, डरले हात खुटटथरथर कामीरहेका थिए । नजाउ के जवाफ दिने । यहि अन्यौलताका बीच नै तारा डराउँदै तल झरी । त्यहाँबाट कसैले थाहा नपाउने गरी होटलको आफ्नो कोठाको तिर्नपर्ने पैसा तिरी होटल कै स्टाफहरुको सहयोगमा बसपार्क पुगेर तारा रुँदै घर फर्किई ।
केहीदिनको अन्तरालपछि कार्यक्रम सकेर उमेरले नेटो काटिसके पनि घिनलाग्दो हर्कत गर्न नछोडने सर पनि लाज पचाएर घर फर्किए । कार्यलय प्रमुखमा आफ्नै नातेदारको छोरी रहेकी हुँदा, सर सबै लाज आफ्नो खल्तीमा राखेर, सिर ठाडोपारी हिँडिराखे । तर कार्यालयमा सबैलाई यो कुरा अपाच्य भएपछि, उनै छोरी समानकी कार्यलय प्रमुख र सबै कर्मचारीका अगाडि तारासामु माफी माग्न लगाई दुई महिनाका लागि कार्यालयबाट निलम्बन गरियो । तारा लगायत सबैलाई लाग्यो, अब त उमेरले बुढो भैसकेका सरले केही त पाठ सिकेहोलान ।
सर आफ्नो घिनौदो कामले कसैसँग आँखा मिलाउन लायक नरहेको हुँदा, निलम्बित समय सकिएपछि कार्यलयमा उपस्थिति जनाउन सकेनन् । उनको हस्ताक्षर चाहिने र सल्लाह चाहिने ठाउँमा कर्मचारीलाई आफ्नै घर डाक्न थाले । केही महिनाको अन्तरालपछि सरल सहज रुपमा चलिरहेको र दिनरात मिहिनेत गरी दातृ संस्थाबाट आएको रकमलाई सहि सदुपयोग गरी राम्रो आउटपुट आउने आशा गरी काम गरिरहेका सम्पुर्ण कर्मचारीलाई फन्ड सकिएको भन्दै जागिर सकिएको पत्र पठाइयो ।
तारालगायत ताराका समर्थनमा उभिएका सम्पुर्ण कर्मचारीहरु एकैदिनबाट बेरोजगार भए । सबैजना आआफ्नो ठाउँबाट अनलाइन जागिर खोजी एप्लाई गर्ने क्रममा, सोही संस्था सोही पदहरुमा कर्मचारीको माग भएको देखियो । एक कर्मचारीको घिनलाग्दो व्यवहार लुकाई, कार्यालय संचालन गर्न विना कारण ७ भन्दा बढि कर्माचारीलाई बेरोजगार बनाइयो ।
तारा त एक उदाहरण कि पात्र मात्र हुन । यहाँ हरेक कार्यलयमा हरेक ताराको पीडा लुकेको हुनसक्छ । आखिर कहिलेसम्म शिकार हुने हामी यौन दुर्व्यवहार र पावरवालाहरुको ???? लाज र घिन भन्ने शब्दको अर्थ नजान्नेहरु त्यो कागजी खोस्टामा रहेको डिग्रीको फुईं कहिलेसम्म र केका लागि ? संस्था नै किनि, आखिर कहिलेसम्म लुट्छौ छोरी समानका कर्मचारीको अस्तित्व ???
प्रतिक्रिया