१ मंसिर २०८१, शनिबार | November 16, 2024

दाना-खुर्कोट प्रसारण लाइन निर्माण सकियो



म्याग्दी । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना-खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ ।

म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ ।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइनको पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएको बताए । ‘टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकेर आन्तरिक परीक्षण शुरु गरेका छौँ’, उनले भने, ‘सबस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौँ ।’

करिब १५ दिनभित्र सबस्टेशन र प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी छ । एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको यो आयोजना लक्ष्यभन्दा दुई वर्ष ढिला सकिएको हो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजना निर्माणमा रु तीन अर्ब खर्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।

‘यो सबस्टेशन र प्रसारण लाइन कालीगण्डकी करिडोरको विद्युत् विकासको आधार हो’, उनले भने, ‘सबस्टेशन र प्रसारण लाइन कुरेर बसेका धेरै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउनेछन् ।’ जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ती, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लामो समयको प्रयासपछि पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको बताए ।

पोखरेबगरका जग्गाधनीसँगको विवादले त्यहाँ छ टावर बनाउन दुई वर्षसम्म प्रयास गर्नुपरेको थियो । आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुनसकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण शुरु गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : १६ बजे

जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो

गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ । निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण

काठमाडौंमा आजदेखि एपिएफ-एसएसबी आठौँ समन्वयात्मक बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय