३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

सयौं बर्ष पुराना गुम्बाका मूर्तिहरु हराउँदै



डोल्पा । डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ । यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन् ।

माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले बताएका छन् ।

त्यसका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन उनीहरूले सरकारसँग माग राखेका छन् । ‘उपल्लो डोल्पाका अधिकांश भागमा प्रहरी चौकी छैनन् । भएका पनि बर्खाका केही महिना मात्र हुन् ।

जाडोमा प्रहरी तलै झर्छन्’, शे फोक्सुण्डो गाउँपालिका-४ का अध्यक्ष पेमावाङछेन गुरुङले भने, ‘त्यही मौकामा गुम्बाका बहुमूल्य वस्तु चोरी हुने गर्छन् ।’ बौद्धधर्मअनुसार गाउँभन्दा टाढा एकान्तमा गुम्बा राखे चोखो हुने, फोहोरबाट टाढा रहने र पूजापाठ गर्दा रोगब्याध, खडेरी, भोकमरीजस्ता अनिष्ट नहुने विश्वास छ । त्यही आधारमा गुम्बा प्रायः टाढा-टाढा हुन्छन् ।

गुरुङका अनुसार हरेक वर्ष चीनको तिब्बतदेखि लुटेराहरू आउने र डर त्रास देखाएर बुद्धका मूर्ति लुटपाट गरेर लाने गर्छन् । स्थानीय सरकार आएपछि चोरीका घटना केही कम भए पनि रोकिएको छैन । सुरक्षाकर्मी नहुँदा स्थानीयको त्रास बाँकी नै छ ।

माथिल्लो डोल्पामा नौ सय वर्ष पुरानो बौद्धधर्मालम्बीको बसोवासको इतिहास पाइन्छ । त्यतिबेलादेखि स्थापना भएका बौद्ध गुम्बामा रहेका बहुमूल्य सम्पत्ति जगेर्ना अभावमा सकिँदै गएकाले धार्मिक गुरुहरू चिन्तित छन् ।

माथिल्लो डोल्पाका शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा सार्वजनिक गुम्बा ६० भन्दा धेरै रहेको पुजारी लामाहरू बताउँछन् ।

निजीसमेत जोड्दा सयभन्दा धेरै छन् । माथिल्लो डोल्पामा सबैभन्दा ठूला र प्रसिद्ध मानिएका शे, याङजेर, रिबोक, ढोलुङ, साम्लीङलगायत गुम्बा छन् । ‘गुम्बा अत्यन्त बहुमूल्य सम्पदा हुन् ।

तिनको सुरक्षामा राज्यको चासो छैन’, याङजेर गुम्बाका गुरु रानाग रिम्पोचे (डोल्पो बुद्ध) भन्छन्, ‘गुम्बाको संरक्षणमा स्थानीय तहले बजेट विनियोजन गर्नसमेत हिच्किचाउँछन् । जसले गर्दा यी प्राचीन सम्पदा जीर्ण र मूर्तिविहीन हुँदै गएका छन् ।’

ठूलो भूगोल भएको माथिल्लो डोल्पामा पुरातात्विक सम्पत्ति रहे पनि सरकारले त्यस्ता सम्पत्तिको सुरक्षामा कम चासो देखाएको भन्दै स्थानीय आङबहादुर लामाले दुःख व्यक्त गरे । बारम्बार गुम्बा तथा सर्वसाधारणको सुरक्षाको प्रत्याभूत गराउन माग गरे पनि सरकारले वास्ता नगरेको लामाको गुनासो छ ।

मौसम अनुकूलका भौतिक संरचना निर्माण नभएकै कारण प्रहरीहरू चिसोमा माथिल्लो डोल्पामा राख्न नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । ‘हामीलाई सदरमुकाममै प्रहरी चौकी राखिरहन रहर हैन । भौतिक संरचना नभएको कारण चिसोमा राख्न नसकिएको हो’, डीएसपी पाण्डेले भने । उनका अनुसार शे-फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र छार्का ताङसोङ गाउँपालिकाको कागकोटमा कष्ट सहेर भए पनि प्रहरी बसिरहेका छन् ।

दुबै ठाउँमा बसेका प्रहरी भने बैंकको सुरक्षाका लागि रहेको र खाने, बस्ने सबै व्यवस्था स्थानीय सरकारले गरेको वडाध्यक्ष पेमावाङछेन गुरुङले जानकारी दिए । उनले भने, ‘तत्काल सीमा सुरक्षा चौकी स्थापना गरिदिए माथिल्लो डोल्पा सुरक्षित हुने थियो ।’ तिब्बतसँग सीमा जोडिएको माथिल्लो डोल्पा सुरक्षाका हिसाबले निकै जोखिमयुक्त छ ।

जेठमा सुरक्षा दिन गएका प्रहरी असोज लाग्दै सदरमुकाम फर्किन्छन् । ४ महिना मात्रै माथिल्लो डोल्पा बस्ने प्रहरीहरू भौतिक संरचना अभावले आफैं असुरक्षित छन् । माथिल्लो डोल्पाको सुरक्षामा जाने-आउने क्रममा हालसम्म ३ प्रहरीले ज्यान गुमाएका छन् ।

सशस्त्र द्वन्द्वकालमै असुरक्षित रहेका माथिल्लो डोल्पाका बौद्ध गुम्बा देश शान्ति प्रक्रियामा गएयता पटक-पटक चोरी भइसकेका छन् । केही गुम्बाका मूर्ति चीनबाट समेत फिर्ता गरिए ।

केही गुम्बा चोर्ने व्यक्तिलाई स्थानीयको पहलमा थुना पुर्‍याइए । ‘सुरक्षाकर्मी नभएकै कारण सयौं वर्ष पुराना बौद्ध गुम्बा असुरक्षित भइरहेका छन्’, स्थानीय पेमा गोजेरले भने, ‘पुरातात्विक सम्पत्ति कति हराए यकिन छैन ।’ उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ३७ बजे

अल्फाबिटाले नेपालगन्जमा शाखा विस्तार गर्दै

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगन्जमा पनि

कार्तिक शुक्ल पूर्णिमा : चर्तुमास व्रत विधिवत् समापन

काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि विधिवत् सुरु भएको चतुर्मास व्रत

भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम