काठमाडौं । खानेपानी मन्त्री बिना मगरको नाममा हिजोआज एउटा ट्विटर ह्याण्डल सक्रिय छ । त्यो ट्विटर ह्याण्डल नक्कली भएको मन्त्री मगरको सचिवालयले भनिसकेको छ ।
त्यस ह्याण्डलबाट खानेपानी मन्त्रालय तथा समसामयिक राजनीतिका विभिन्न विषयमाथि टीकाटिप्पणी गरिएको छ । धेरै दिनसम्म ट्विटर प्रयोगकर्ताले उक्त एकाउन्ट मन्त्री मगरकै भन्ने ठानेका थिए ।
तर गत बुधबार मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठले उक्त एकाउन्ट मन्त्री मगरको नभएको र भ्रममा नपर्न अनुरोध गरे । साथै त्यस नक्कली एकाउन्ट बन्द गराइदिन पनि नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको थियो । तर त्यसपछि पनि त्यस एकाउन्ट भने सक्रिय नै छ ।
सामाजिक सञ्जालमा फेक एकाउन्टबाट गायिका रचना रिमाल पनि दिक्क छिन् । उनको नाममा पनि दर्जनौँ फेक एकाउन्ट सक्रिय छन् । गायिका रिमालले विभिन्न माध्यममा दिएको अन्तरवार्ताहरुमा फेसबुक र ट्विटरका फेक अकाउन्टहरुका कारण आफू बेलाबखत अप्ठेरो परेको बताइन् ।
सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गरी बनाइएका असङ्ख्य फेक एकाउन्ट विशेष गरी कलाकार, राजनीतिकर्मी तथा चर्चित व्यक्तित्वहरुको नाममा बनाइएका यस्ता फेक एकाउन्टहरुले समाजमा दिग्भ्रमित पारिरहेका छन् । नेता, कलाकारका मात्र हैन, सर्वसाधारणका फेक एकाउन्ट बनेका छन् ।
त्यस्ता नक्कली एकाउन्टबाट सम्प्रेषण हुने दूषित सामग्रीहरुका कारण सक्कली व्यक्तिलाई भने अप्ठेरोमा पार्ने गरेको छ । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिका नाममा खोलिएका फेक एकाउन्टहरु अश्लील सामग्रीहरु सम्प्रेषण भइरहेका हुन्छन् । कतिपय व्यक्तिको फोटो र नाम राखी खोलिएका सामाजिक सञ्जालका एकाउन्टबारे व्यक्ति स्वयम् अनभिज्ञ रहन्छन् ।
व्यक्तिले आफ्नो नाममा अरुले फेक एकाउन्ट खोलेको थाहा पाएमा भने तुरुन्त प्रहरीमा उजुरी गर्न नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्याल अनुरोध गर्दछन् । साइबर ब्युरोले हालसम्म बन्द गराउन उजुरी परेका एक हजारभन्दा बढी अनधिकृत एकाउन्टहरु बन्द गराइसकेको उनले जानकारी दिए ।
यस्ता फेक अकाउन्टहरु भ्रम फैलाउने मात्र नभई व्यक्तिलाई गालीबेइज्जती गर्ने, अश्लीलता फैलाउने, दुर्व्यवहार गर्ने, ठगी गर्ने, धम्काउने, ब्ल्याकमेल गर्नेजस्ता क्रियाकलापमा समेत प्रयोग भएको पाइएको एसएसपी अर्यालले बताए ।
सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर अपराध गर्नेलाई उनीहरुले गरेको अपराधको आधारमा कानुनअनुसार पक्राउ गरी कारबाही गरिने उनले बताए । ‘जसले जहाँबाट बनाए पनि फेक एकाउन्ट पत्ता लाग्छ । सामाजिक सञ्जालका आधिकारिक कार्यालयसँग समन्वय गरी त्यस्ता एकाउन्ट बन्द गराउँछौँ ।’ उनले भने । नेपालमा कुनै पनि सामाजिक सञ्जालका कर्पोरेट कार्यालय नभएकाले भने केही चुनौती थपिएको उनको भनाइ छ ।
चाइल्ड सेफनेटका अध्यक्ष तथा इन्टरनेट सुरक्षासम्बन्धी अभियन्ता अनिल रघुवंशी फेक एकाउन्ट पनि धेरै प्रकारका हुन्छन् ।
अरुको नाम र तस्बिर राखेर बनाइएको, आफैँले अर्को नाम राखेर बनाइएको, अर्काको एकाउन्ट ह्याक गरी वा पासवर्ड दुरुपयोग गरिएका, रमाइलोका लागि बनाइएका प्यारोडी एकाउन्ट र आफूले भन्न चाहेका कुरा भन्न लुकेर वा पहिचान लुकाएर बनाइएका जस्ता फेक एकाउन्टहरु हुन्छन् । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया