३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

आठ महिनादेखी बन्द रहेको सदर चिडियाखाना आजबाट खुल्दै



काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा आज (बिहिबार) देखि खुल्ने भएको छ ।

नेपाल सरकारको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी आज (बिहीबार) देखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ ।

चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत पनि लिन सकिने जानकारी दिए ।

चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै सङ्ख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको उनले बताए ।

यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् ।

अवलोकनका गर्न विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।

वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।

अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिना बढी समयदेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो । रासस

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ६ : १३ बजे

दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

पोखरा । माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९

टिआरसी बिधेयकमा द्वन्द्व पीडितको चाहना : पहिला कारबाही त्यसपछि मात्र परिपुरण

नेपालगन्ज । बाँके बुच्चापुरका डम्बर शाहीका दुई छोरालाई तीन महिनाको

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक

कोप-२९ मा सहभागी भई स्वेदश फर्किए राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु