काठमाडौं । धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी, सासूलाई चाबी, सालोलाई जाबी, सालीमाज्यूलाई झम्के बुलाकी । ’
गायिका हीरादेवी वाइबाले मारुनी भाकामा उहिल्यै गाएको यी गीतका गेडामा भनिए जस्तै धनकुटाको डाँडैडाँडा अचेल हुलाकी चल्दैनन् ।
न त अचेल सालीले नाकैमा झम्के बुलाकी झम्काउँछन् । विज्ञान र प्रविधिले दिनहुँजसो नयाँ फड्को मारिरहेको समयमा हुलाकीले बोक्ने चिठीपत्र इमेल, इमो, म्यासेन्जर लगायत आधुनिक विद्युतीय हुलाकीले बोकिरहेका छन् ।
सहरका विभिन्न ठाउँमा राखिएका पत्र मञ्जूषामा आजकल पत्र खस्दैनन् । अड्डा अदालत, सरकारी कार्यालयका चिठीपत्र र पत्रपत्रिका बाहेक हुलाकले व्यक्तिगत पत्र बोक्ने काम कमै पाउन थालेको छ ।
यद्यपि बदलिँदो परिस्थितिमा त्यो विगतको हुलाकले आधुनिक काँचुली फेर्ने प्रयत्न गरिरहेको छ । त्यसैले त यस वर्षको विश्व हुलाक दिवसमा नारा नै बनेको छ, ‘मोर देन मेल’ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । सोही दिनलाई विश्व हुलाक दिवसका रूपमा विश्वभर मनाइन्छ ।
नेपालले २०१३ सालमा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको हो । विक्रम संवत् १९३५ मा नेपाल हुलाक घर स्थापनासँगै नेपालमा हुलाक सेवा प्रारम्भ भएको हो । यसलाई नेपालमा पुरानो सरकारी अड्डाका रूपमा समेत लिइन्छ । किन हो कुन्नि ? कर्मचारीको अरुचिको क्षेत्र बनेको छ अचेल हुलाक । यद्यपि देशभरि तीन हजार ९९४ वटा हुलाक संरचना मार्फत जनताको सेवामा समर्पित हुलाकमा करिब ३० हजार जनशक्ति अझै कार्यरत छन् ।
हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हुलाकसँग रहेको त्यो सङ्गठन संरचना र जनशक्तिलाई सरकारको प्रथम सेवा प्रदायकका रूपमा विकास गर्न सकिने सम्भावना जीवितै रहेको बताए । उनले त्यसका लागि व्यावसायिक क्षमताको उपयोग र कर्मचारीमा उत्प्रेरणा आवश्यक छ भने ।
राणाकालमा हुलाकीले रात, बिहान, हिउँद, वर्षा, जङ्गल, खोला केही भन्न पाउँदैनथे । रातभर पनि हुलाक चालूू राख्नुपर्ने नियम थियो । रातमा पनि हिँड्नुपर्ने भएकाले हुलाकीले बोक्ने भाला जस्तो लट्ठीमा घन्टी झुन्ड्याइएको हुन्थ्यो ।
छिन्द्रिङ छिन्द्रिङ घन्टी बजाउँदै हुलाकी चलेपछि कसैले रोक्नु छेक्नु राजकाज अपराध नै मानिन्थ्यो । यसको अर्थ हो, द्रुुत सेवा । सूचनाको द्रुुत पहुँच स्थापित गर्ने मान्यता । जुन आज पनि उत्तिकै महìवपूर्ण र सान्दर्भिक छ ।
महानिर्देशक कर्णले हुलाक वस्तु पठाउने र प्राप्त गर्ने दुवै पक्षले छिटो, सुरक्षित र भरपर्दो रूपमा सम्बन्धित स्थानमा आफूले पठाएको वस्तु पुग्नेमा आश्वस्त हुन चाहने बताए ।
उनले हुलाक सेवा विभिन्न संस्थाको आपसी सहकार्यको चक्र भएको चर्चा गर्दै उपभोक्ताले चाहेको सुरक्षा र छिटो चाहना प्रत्याभूति गर्नु लोककल्याणकारी राज्यको दायित्वसमेत हो भने । नेपाल सरकारको १५औँ योजना तथा चालूू आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा हुलाक सेवालाई पुनर्संरचना र सुधार गर्ने उल्लेख गरेको छ ।
हुलाक सेवा विभागका अनुसार हुलाक सेवाले पुलिन्दा, हुलाक बचत बैङ्क, धनादेश सेवा, ईएमएस लगायत सेवा सञ्चालन गरेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया