बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी ताक्ने बिषयमा औपचारीकरुपमा प्रदेशसभामा प्रस्ताव गरेको छ ।
सरकारका तर्फबाट प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका छन् ।
मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्रलाई समेटेर स्थायी राजधानी राख्न प्रदेशसभामा प्रस्ताव गरेका छन्।
उनले प्रदेशको नाम लुम्बिनी राख्न समेत प्रस्ताव प्रस्ताव गरेका छन् । ‘यो प्रस्तावमाथि प्रदेश सभामा सोमबारदेखि छलफल हुनेछ,’ ।
शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रदेशको नाम र राजधानीबारे सहमति भएको थियो ।
महासचिव विष्णु पौडेल समेत उपस्थित बैठकमा नेतृत्वबीच सहमति भएलगत्तै प्रदेश ५ को पार्टी कमिटीलाई पत्राचार भएको थियो । पार्टी केन्द्रको ग्रिन सिग्नल कुरेर बसेको प्रदेश ५ पार्टी, प्रदेश सरकार र प्रदेश सभा लगत्तै सक्रिय भएपछि शुक्रबार नै प्रदेशसभामा प्रस्ताव दर्ता भएको हो ।
गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए । पोखरेलकै आग्रहमा अध्यक्ष द्वय प्रचण्ड र ओली प्रदेश ५ को राजधानी दाङ देउखुरी तोक्न सहमत भएको बताईएको छ ।
बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।
प्रतिक्रिया